|

काठमाडौं : चिसो मौसम। सर्वनामको सभाहलमा देखिए कवि बाबु त्रिपाठी। सभाहलमा भरिभराउ दर्शकका माझ उनले दुईवटा गीत प्रस्तुत गरे। माहोल शान्त देखियो। लगत्तै मंचमा संगीतकार दीपक जंगम, स‌ंविधानविद् तथा गायक डा. भीमार्जुन आचार्य, चलचित्र निर्देशक तथा गीतकार यादव खरेल, गायक किरण खरेल, गायिका कुन्ती मोक्तान र कवि तथा गीतकार दिनेश अधिकारी देखापरे। कार्यक्रम थियो, अधिकारीको चौथो गीतसंग्रह 'म बिर्सूं कसोरि'को विमोचन।

नेपाली गीत र कविता लेखनमा स्थापित नाम हो- दिनेश अधिकारी। उनले आफ्ना नयाँ पुराना गीतलाई संगृहीत गरेर यो कृति बजारमा ल्याएका हुन्। विमोचनपश्चात कृतिमाथि बोल्दै निर्देशक तथा पत्रकार खरेलले गीत लेख्नु कविता लेख्नु भन्दा गाह्रो रहेको बताए। एउटा सर्जकले आफ्ना जीवन भोगाइ र समाजको चित्र नै आफ्ना गीतमा समावेश गर्नु ठूलो कुरा नरहेको बताए। सर्जकले लेखेको गीत सुन्ने श्रोताले आफ्नो भनेर स्वीकार गर्न सक्नु नै एउटा सर्जकको ठूलो उपलब्धि हुने उनको तर्क थियो।

कार्यक्रममा संगीतकार दीपक जंगमले अधिकारी र आफ्नो चिनजान भएको पाँच दशक भइसकेको सम्झना गरे। उनले नेपाली सांगीतिक क्षेत्रमा अधिकारीको भूमिका ठूलो रहेको बताए। प्रकाशनगृहहरूले गीतलाई प्रकाशन गर्न कन्जुस्याइँ गर्ने गरेको उनले दुखेसो व्यक्त गरे। सांग्रिला पब्लिकेशनले गीतलाई माया गरेर प्रकाशन गरेको कुराले आफू खुसी भएको पनि उनले भन्न छुटाएनन्। डा. आचार्यले अधिकारीका व्यवहार जस्तै गीत पनि सदैव उत्कृष्ट रहेको धारणा व्यक्त गरे। उनले अधिकारीका गीत अर्थपूर्ण र युगचेतको राम्रो संयोजन रहेको बताए।

आफ्नै कृतिमाथि आफैँले बोल्न अप्ठ्यारो हुने अधिकारीले बताए। आफूले प्रकाशन गरे पनि बजारमा दुईवटा कृति आउन नसकेको पनि उनले बताए। आफूलाई मनपराउने श्रोताहरूले नयाँ गीतसंग्रह कहिले आउँछ भनेर पटक पटक मायारूपी प्रश्न गरेका कारण नै यो कृति बजारमा ल्याउन मन लागेको उनले स्पष्ट पारे।

अन्तिम वक्ताको रूपमा बोल्दै गायिका कुन्ती मोक्तानले आफूले अधिकारीका धेरै गीतमा स्वर भर्न पाएको बताइन्। उनले अधिकारीका तीनवटा गीत पनि गाएर माहोल रमाइलो बनाइन्। सांग्रिला पब्लिकेशनले बजारमा ल्याएको यस कृतिको मूल्य ३५० रुपैयाँ रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.