|

नबाल्ला केशव राव उर्फ बसवराजु भारतमा युद्धरत माओवादीका सर्वोच्च नेता बनेका छन्। भारतीय कम्युनिस्ट पार्टी (माओवादी)को नयाँ महासचिवमा बसवराजु नियुक्त भएका हुन्।

बसवराजु माओवादीको नेतृत्वमा पुगेसँगै उसले सरकारी फौजमाथी हमला बढाउनसक्ने भारतीय माओवादी निकट व्यक्तिरहरूको धारणा छ। जसको संकेत देखिइसकेका छन्। पछिल्लो समय भारतका माओवादी प्रभावित इलाकामा सरकारी सुरक्षा फौजमाथि हमला वृद्धि भएका छन्।

२५ वर्ष नेतृत्वमा रहेका मुपल्ला लक्ष्मण राव उर्फ गणपतिलाई स्वास्थ्यमा आएको समस्याका कारण विदाइ गरेर बसवराजुलाई नयाँ नेता बनाइएको माओवादीहरूले दाबी गरेका छन्। निवर्तमान महासचिव गणपतिले नै बसवराजुलाई नयाँ महासचिवको जिम्मेवारी दिने प्रास्ताव ल्याएका थिए।

केही वर्षयता बसवराजुलाई भारतीय माओवादीको महासचिवका रूपमा हेरिएको थियो। भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का केन्द्रीय कमिटी प्रवक्ता अभयले एक विज्ञप्ति जारी गर्दै बसवराजु नयाँ महासचिव भएको पुष्टी गरेका छन्। उनले नेतृत्वमा भएको परिवर्तनले पार्टीलाई पुनर्ताजगी र शक्ति दिने उल्लेख गरेका छन्।

बसवराजुलाई महासचिव नियुक्त गरिएकोबारे माओवादीको वक्तव्यः

बसवराजु आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लाको जियन्नपेटा गाउँमा जन्मिएका थिए। उनी २७ वर्षयता माओवादीको केन्द्रीय कमिटी छन्। उनी १८ वर्षयता पोलिटब्यूरो सदस्यका रूपमा सक्रिय रहेको प्रवक्ता अभयले बताएका छन्। उनका अनुसार नयाँ महासचिवले पार्टीको केन्द्रीय सैन्य आयोगमा काम गरिसकेका छन्। उनले इन्जिनियरिङमा स्नातक गरेका उनी सन् १९८० मा पक्राउसमेत परेको बताइएको छ। त्यसयता उनी भूमिगत राजनीतिमा सक्रिय रहेका छन्। उनको उमेर ६३ वर्षको रहेको छ भने भारतीय प्रहरी र सुरक्षा एवं जासुसी संगठनहरूसँग उनको फोटो छैन।

भारतको राष्ट्रिय अनुसन्धान ब्यूरोसँग भएको बसवराजुको फोटो र जानकारीः

भारतीय माओवादीका नयाँ महासचिव बसवराजुलाई पक्राउ गरेर ल्याउने वा मारेर ल्याउनेलाई भारतका विभिन्न राज्यले १ करोड ५७ लाख भारू (२ करोड ५१ लाख २० हजार नेपाली रुपैयाँ)को इनाम राखेका छन्।

छत्तीसगढमा माओवादी विरुद्ध परिचालित सुरक्षा अधिकारी डिआइजी सुन्दरराज पी ले आफूलाई माओवादीमा नेतृत्व परिवर्तनको जानकारी रहेको बताएका छन्। उनले कमजोर बन्दै गरेको माओवादीलाई फेरि बलियो बनाउने असफल प्रयास भएको पनि बताएका छन्। पछिल्लो समय सरकारी फौजले माओवादीविरुद्ध सफलता पाइरहेको र नयाँ नेतृत्व परिवर्तनले कुनै प्रभाव नपर्ने दाबी गरेका छन्।

माओवादीलाई नजिकबाट हेर्ने पीवी रमनाका अनुसार नयाँ नेता बसवराजु उमेर र सिद्धान्तमा निवर्तमान महासचिव गणपतिभन्दा धेरै अगाडि रहेको बताएका छन्। उनी सैन्य रणनीति बनाउनमा पनि धेरै आक्रामक रहेको बताएका छन्। उनले नयाँ नेता आएपछि माओवादीले हमला बढाउने आशंका गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.