|

बिर्तामोड : यातायात व्यवस्था कार्यालय मेचीमा भ्रष्टाचार हुने गरेको समाचार बारम्बार आइरहन्छ। बुधबार भने यातायातका कर्मचारीले झापाका एकजना पत्रकारबाटै जबरजस्ती रकम लिएको पाइएको छ। कार्यालयका लेखा सहायक मुक्तिध्वज कार्कीले पत्रकार पुष्प बरालले पाउनुपर्ने २६० रुपैयाँ फिर्ता दिएनन्। 

पत्रकार बराल मोटरसाइकलको कर तिर्नका लागि यातायात गएका थिए । ‘तीन वर्षको कर १५ हजार ७४० रुपैयाँ हुँदो रहेछ, मैले १६ हजार रुपैयाँ दिएँ,’ रसिद देखाउँदै बरालले भने, ‘तर, ती कर्मचारीले मलाई २६० रुपैयाँ फिर्ता दिनुका सट्टा ५० रुपैयाँ मात्र दिए, २१० रुपैयाँ गोजीमा हाले।’

बरालले त्यति नै बेला बाँकी पैसा किन फिर्ता नदिएको भनी ती कर्मचारीसँग प्रश्न गरेँ। कर्मचारी कार्कीले सिधै ‘मैले राखेँ’ भनिदिए। कर्मचारी कार्कीले पत्रकार बराललाई जवाफ दिए, ‘तपाईंले बैंक दाखिला गर्नुपर्ने रकम यहाँ कार्यालयमै तिर्नुभयो, ठीकै छ म आफैँ मिलाइदिन्छु ।’ तर, पैसा फिर्ता भने दिएनन्। पत्रकार बराल कडा रुपमा प्रस्तुत भए र सोधे, ‘तपाईं मलाई पूरै पैसा फिर्ता दिने कि नदिने?’ लेखा सहायक पैसा फिर्ता नदिएपछि बराल त्यहाँबाट बाहिरिए।

त्यसैबेला कसैले ती कर्मचारीलाई बराल पत्रकार रहेको कुरा सुनाइदिए। त्यसपछि भने कार्कीले डराउँदै पत्रकार बराललाई बोलाएर पैसा फिर्ता दिन खोजे। बरालले प्रष्ट भनिदिए, ‘मैले पाउनुपर्ने पैसा अघि तपाईंले किन गोजीमा हाल्नुभयो, म हाकिम सा’बसँग यो कुरा बुझेर मात्र पैसा फिर्ता लिन्छु।’

रन्थनिएका कर्मचारी कार्की कार्यालयबाट बाहिर निस्किए र, १५ मिनेटमा ३ वटा चुरोट खाए (हेर्नुहोस् तस्वीर)। उनले चुरोट खाँदै पत्रकार बरालसँग झगडा गरे। चुरोट खाइसकेर उनी कार्यालयभित्र प्रवेश गरे। उनीसँगै पत्रकारहरुको एउटा टोली पनि कार्यालयमा प्रवेश गर्‍यो र सोधपुछ गर्न थाल्यो। त्यहाँ ती कर्मचारीले पत्रकारसँग उल्टै झगडा गरे। त्यहाँ रहेका अन्य कर्मचारीले पनि कार्कीको बचाउ गरे। 

यातायात कार्यालय मेचीका प्रमुख जनार्दन भट्टराई कार्यालयमा भेटिएनन्। यसबारेमा शाखा अधिकृत टङ्क कार्कीसँग बुझ्दा उनले ‘यसबारेमा म बुझ्छु’ भने। कारबाहीको विषयमा भने कार्यालय प्रमुखसँगै कुरा गर्न उनले आग्रह गरे। 

पत्रकार बराल भन्छन्, ‘यातायातमा व्यापक भ्रष्टाचार हुन्छ भन्ने मलाई थाहा थियो तर, आज म आफैँ परेँ।’ बरालले ती कर्मचारीलाई कारवाही गर्न माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • अब पत्रकार भएर चाहिँ तीन वर्षसम्म मोटरसाइकलको कर नतिर्नु ?