|

कैलाली : २०७२ बैशाख १४ गतेको भूकम्पले काठमाडौँको धरहरा भत्काएपछि कैलालीका दLपक लामिछानेले अर्काे धरहरा बनाए। उनलाई धरहरा बनाउन १४ दिन लाग्यो। नौ तले धरहरा बनाउन नसके पनि लामिछानले छ फिट छ इञ्च अग्लो धरहरा निर्माण गरे। भूकम्पअघिको काठमाडौंको जस्तै हुबहु देखिने धरहरा हेर्न उनको घरमा घुइँचो लाग्न थाल्यो। यतिकैमा उनीसँग व्यावसायिक ढंगले धरहरा बनाउन माग बढ्यो। 

मूर्तिका उस्ताद 

भूकम्पले धरहरा भत्काएपछि पहिलो पटक धरहराको मूर्ति बनाएर चर्चामा आएका दीपक लामिछानेको धनगढी हसनपुरस्थित घरमा पुग्दा मंगलबार उनी मूर्ति सफा गर्दै थिए। घरबाहिर पृथ्वीनाराण शाह, पूर्वराजा वीरेन्द्र र रानी ऐश्वर्य, भगवान गणेशलगायतका मूर्तिहरू राखिएका थिए। 

अनुभवी र प्रशिक्षित शैलीमा निर्माण गरिएका मूर्तिहरू हेर्न आउनेहरूको चहलपहल बढिरहेको थियो। सडकमा हिँडडुल गर्ने जो कोहीलाई पनि त्यो मूर्ति कलाले आकर्षित नहुने कुरै भएन। बाटोमा हिँड्नेहरू टक्क रोकिएर एक नजर उनको मूर्तिमा लगाइरहेका थिए। त्यतिकैमा एक जना अपरिचित व्यक्तिले प्रश्न गरे, ‘दाजु त्यो धरहरालाई कति पर्छ?’ दीपकले मुस्कुराउँदै भने, ‘बेच्ने गरी त बनाएको छैन, यो अर्डरको माल हो।’ दीपकको उत्तरपछि ती व्यक्ति टाउको हल्लाउँदै बाटो लागे।

दीपकले हालसम्म पाँचवटा बढी छ फिट हाराहारीका धरहराको मूर्ति निर्माण गरेका छन्। पृथ्वीनाराण शाह, पूर्वराजा वीरेन्द्र र रानी ऐश्वर्य, स्वयम्भू, ताजमहल, कर्णाली र दोधारा पुल, राधा कृष्ण, गणेश, शिव-पार्वतीलगायतका मूर्ति पनि बनाइसेका छन्। उनी भन्छन्, ‘मलाई मूर्ति बनाउँदा बेग्लै आनन्द महसुस हुन्छ।’ घरमा भण्डारणका लागि पर्याप्त क्षेत्र नहुँदा धेरै बनाएर राख्न नसकेको दीपकले बताए। ‘दुई-चार दिन नयाँनयाँ मूर्ति बनाउने जाँगर चल्छ तर बनाएर कहाँ राख्ने भन्ने हुन्छ। त्यसैले कसैको माग आएपछि बनाउँछु’, उनले सुनाए।

मासिक ५० हजार बढी कमाइ 

केही दिनअघि दीपकले भगवानको एक सेट मूर्ति तयार गरेर ३० हजार रुपैयाँमा बिक्री गरे। त्यसलगत्तै धरहराका दुईवटा मूर्ति बेचे। ‘कहिले ८० हजारसम्म हुन्छ, कहिले ३०-४० हजार’, दीपकले भने, ‘अौसत ५० हजारको हाराहारीमा कमाइ भइरहेको छ।’

मूर्तिको आकार हेरेर एउटा मूर्ति बनाउन तीनदेखी पाँच हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको उनले सुनाए। एक सातादेखि १० दिनसम्ममा मूर्ति तयार हुने गरेको उनी बताउँछन्। ‘दिनदिनै नयाँ मूर्तिका लागि माग आएको छ। मैले पुर्‍याउन सकिरहेको छैन। रहरै रहरमा सुरु गरेको काम अहिले मेरो पेसा बनिरहेको छ’, मुस्कुराउँदै उनले भने। 

कैलाली बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरिरहेका २७ वर्षीय लामिछानेले यसअघि खानाको जोहो गर्नका लागि माटोको चुह्लो बनाएर छरछिमेकमा बेच्ने गर्थे। ‘माटोको चुह्लो बनाउँदै गर्दा धरहरा बनाउन मन लाग्यो, प्रयास गरेँ, धरहरा जस्तै भयो’, लामिछानेले भने, 'तालिम लिएर सिकेको होइन तर अब तालिम लिएर अझै कुशल मूर्तिकार बन्ने रहर छ।’ यसअघि आर्थिक जोहोकै लागि माटोका चुह्ला बनाउँदै आएको उनको भनाइ छ।

‘सामान्य गुजारा होला भन्ने सोचेको थिएँ, राम्रै हुँदोरहेछ, अब यसैलाई विस्तार गर्ने रहर छ’, उनले आफ्ना रहर पोखे। आफूले बनाएका मूर्तिहरू मिहिनेत लागेअनुसार पाँच हजारदेखि ५० हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनी बताउँछन्। उनीसँग अहिले दैनिक दुई-तीनवटासम्म मूर्तिका मागहरू आउने गरेका छन्।

फेरिँदै जीवनस्तर 

सामान्य परिवारमा जन्मिएका दीपकले कैलाली बहुमुखी क्याम्पसबाट स्नातकोत्तर गरे। दुई भाइमध्ये कान्छा रहेका उनले भने, ‘मैले मूर्ति बनाउन सुरु नगरेको भए मलाई अध्ययनमा शुल्क जुटाउनै कठिन पर्ने थियो। दीपकले भने, ‘अहिले मासिक ५० हजारको हाराहारीमा आम्दानी भइरहेको छ, त्यसैले घर खर्च र पढाइ खर्च जुटाएको छु।’

दीपकका दाजु पनि धनगढीमै व्यापार गर्छन्। ‘कहिले चल्छ, कहिले चल्दैन। त्यसैमाथि पनि उधारो माग्नेले हैरान् गर्छन', दीपकले भने, ‘दाजुको व्यापारले घर चलाउन र मलाई पढाउन कठिन हुन्थ्यो। मैले सीप सिकेपछि सबै राम्रै भइरहेको छ।’ 

आफ्नै बलबुताले मूर्ति बनाइरहेका दीपकले अब भने यसै विषयमा अध्यगन गरेर अझै कुशल मूर्तिकार बन्ने चाहाना रहेको बताए। ‘ललित कला केन्द्रमा सीप सिकेर व्यावसायिक ढंगले मूर्तिकार बन्ने ठूलो धोको छ', दीपकले भने, ‘त्यही सपना पूरा गर्न अहिले थोरैथोरै गरेर बचत गरिरहेको छु।’

बेरोजगार युवाका लागि प्रेरणा

उनीसँगैकाहरू कोही भारत छन्, कोही खाँडी। ‘अधिकांश मलेसियामा छन्’, दीपकले भने। आफू भने माटोमा खेलेर माटोमै भविष्य बनाउने योजनामा छन् उनी। ‘पढेलेखेको युवा माटोमा खेल्ने हो, काम गर्नुपर्छ, अरूले यस्तै भन्थे', दीपकले सुनाए।

काम ठूलो र सानो हुँदैन भन्ने कुरा दीपकले राम्ररी बुझेका छन्। आफूसँगैका साथीहरू अरबको बालुवामा खेलिरहेका बेला उनी आफ्नै भूमिमा रमाइरहेका छन्। ‘मलाई अरबको बालुवामा भन्दा आफ्नै भूमिको माटोमा रम्न मन छ’, दीपकले भने, ‘गरे सबै सम्भव छ भन्ने कुरा आफ्ना साथीभाइहरूलाई पनि सिकाउनु छ मैले।’

’सुरुसुरुमा मूर्ति बनाउने काम गर्दा परिवार र साथीभाइले नाक पनि खुम्च्याए’, अतीतको स्मरण गर्दै उनले भने, ‘तर सफल मूर्तिकार बन्ने चाह बोकेकाले मलाई त्यसले खासै फरक पारेन।’ उनले कुँदेका आकर्षक मूर्तिहरू हेर्नलाई सुन्दर मात्रै छैनन्, आन्तरिक पर्यटन प्रवर्द्धनको गतिलो माध्यम पनि बन्दै गएका छन्। उनले बनाएका मूर्तिहरू हिन्दूहरूको पवित्र धाम गोदावरी, विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी क्षेत्रमा समेत राखिएका छन्

सुदूरपश्चिम क्षेत्रमा हुने अधिकांश महोत्सवमा आयोजकहरूले उनलाई आफ्नो मूर्तिसहित उपस्थित हुन निम्तो दिने गरेका छन्। महोत्सवहरूमा उनले बनाएको धरहरा, कर्णाली, दोधारा चाँदनीको पुल हेर्न घुइँचो लाग्ने गरेको छ।

‘धेरैले धरहरा देख्न पाएनन्। मैले बनाएको मूर्तिलाई हेरेर चित्त बुझाउँछन्’, दीपकले भने, 'त्यसैले पनि हुनसक्छ धरहरा हेर्न पुगेकाहरू हेरेको हेर्‍यै हुन्छन्।’

मुलुकभित्र उचित रोजगारीको अभावमा वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरू बढिरहेका बेला मिहिनेत गरे स्वदेशमै आम्दानी गर्न सकिने ज्वलन्त उदाहरण बनेका छन् उनी। हातमा सीप र दृढ इच्छाशक्ति भए दुई पैसाका लागि विदेशिनु नपर्ने उनको तर्क छ। 

यसअघि आर्थिक अवस्था कमजोर भएकाले मूर्तिकलाका लागि कतै तालिम वा अध्ययन गर्न नसकेको बताउने लामिछानेले अब ललितकला प्रतिष्ठानमा अध्ययन गर्नका लागि मूर्ति बेचेरै आर्थिक जोहो गरिरहेको बताउँछन्। 

‘मलाई जनकपुर धाम र लुम्बिनीको उत्कृष्ट मूर्ती बनाउने चाहना छ, जसले विश्वको ध्यान केन्द्रित गरोस्। ती दुई मूर्ति अध्ययनपछि मात्रै बनाउँछु’, दीपकले भने, 'ती दुई मूर्ती मेरो जीवनकै सुन्दर कृति हुनेछन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.