|

बागलुङ : जिल्लाको जैमिनी नगरपालिकाका यदुनाथ पौडेल बागलुङ बजारमा आएर होटल व्यवसाय गर्न थालेको एक दशक भयो। बागलुङ बजारको ट्राफिक चोकमा होटल व्यवसाय गर्ने पौडेलको होटलमा दैनिक २० देखि ४० जनासम्म ग्राहक आउँछन्। 

चारैतिर झ्याल ढोका रहेको घरमा होटल व्यवसाय गनेका पौडेलको होटलमा आउने प्राय ग्रहकले झ्यालबाहिर देखिने विद्युतको नांगाे तार र विद्युतको पोलमा टाँगिएका केवल तथा नेपाल टेलिकमका तारले देखाएको कुरुप दृष्यको बारेमा कुरा गर्ने गरेका छन्। ‘कति नराम्रो देखिएको भनेर नाक खुम्च्याउँछन्’ पौडेलले भने, ‘आबै त्यो तारमा परियो भने के होला भनेर डराएको आवाज कतिको सुनेको छु।’

घुम्नका लागि बागलुङ आउने पर्यटकको आँखामा पर्ने गरेको छ बागलुङ बजारमा रहेको नांगाे तार र सोही तारसँगै रहेका विभिन्न सरकारी तथा निजी कम्पनीहरूका तार। बजारमा रहेको नांगाे तार विस्थापित गर्ने भनेर झण्डै एकवर्ष पहिलेदेखि बजारका चोक चोकमा नयाँ पोल जडान गरेको देखेका पौडेलले बजारको सुन्दरता फर्किने आसा लागेको बताए। तर पोल गाडेर तार टाँगेको छ महिना बितिसक्दा समेत उनको आशा पूरा भएन। 

चौतर्फी दबाब र नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यक्रमअन्तर्गत अभियान सुरु भएपछि बागलुङ बजारमा नांगाे तार विस्थापनको काम थालिएको थियो। तर सदरमुकाम बागलुङ बजारलाई नांगाे तारमुक्त बनाउने योजना सुस्ताएको छ। प्राधिकारणले कामलाई तीव्रता दिनुको साटो विभिन्न बहाना बनाएर अझै केहीसमय लाग्ने जनाएको छ। काम सुरु भएको देखेका स्थानीय नांगाे तारको जोखिम कम हुनेमा आशावादी थिए तर काम सुरुभएको लामो समय बित्दा समेत तार नहटेको उनीहरूको गुनासो छ। 

बजार क्षेत्रमा विद्युतीय दुर्घटना काम गर्नका लागि विद्युत् प्राधिकरणले एकवर्ष पहिलेदेखि सुरु गरेको अभियानले पूर्णता पाउन समय लाग्ने भनेको छ। बागलुङ नगरपालिकाका १ देखि ४ वडासम्म नांगाे तार हटाउने गरी अभियान सुरु भएको भए पनि हालसम्म ७ किलोमिटर तार बिस्तारको काम मात्रै सकिएको छ। बजार क्षेत्रमा मात्रै १७ किलोमिटर तार परिवर्तन गर्नुपर्छ। प्राधिकरणले नांगाे तारको सट्टा कालो प्लाष्टिकले बेरिएको एबिसी तारको प्रयोग गरेर बजारलाई नांगाे तारमुक्त बनाउन लागेको हो।

बजारका केही क्षेत्रमा तत्कालीन योजनाअनुसार तार तथा पोल अपुग भएको र नयाँ योजना बनाएर काम अगाडि बढाइएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ। नयाँ योजनाअनुसार अपुग भएको १० किलोमिटर क्षेत्रका लागि आवश्यक पोल तथा तारको मागसहितको फाइल बिद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा पठाइएको छ। प्राधिकरणले बाँकी पोल र तार माग गरी पठाइएको फाइल स्वीकृत गर्न बाँकी रहेकाले काम रोकिएको वितरण केन्द्र प्रमुख कपिलराज पाण्डेले बताए।

काम सकिएका क्षेत्रमा नयाँ तारमार्फत विद्युत आपूर्ति गर्ने र पुरानो नांगाे तार हटाउन सकिने अवस्थामा छ। तर प्राधिकरणले तार परिवर्तनको समयमा उपभोक्ताको लाइन काट्नु पर्ने र पटक-पटक लाइन काट्दा उपभोक्तालाई असर पर्ने भएकाले तत्काल सो क्षेत्रमा तार नहटाइएको पाण्डेले बताए। ‘काम सकिएको क्षेत्रमा तार हटाउनका लागि समस्या छैन’ पाण्डेले भने, ‘सबै क्षेत्रमा नयाँ पोल र तारको काम सकेर एकै पटक परिवर्तन गर्ने सोच बनाएका छौं।’

तार परिवर्तनको समयमा केही दिन विद्युत आपूर्ति बन्द गर्नुपर्ने भएकाले उपभोक्तामा असर पर्ने पाण्डेको भनाई छ। ‘पटक-पटक लामो समय बिद्युत अवरुद्ध हुँदा उपभोक्तामा स्वfभाविक रूपमा आक्रोश आउन सक्छ’ उनले भने, ‘सबै काम नसकिने बेलासम्म किन उपभोक्तालाई असर पार्नु भनेर काम सकिएको क्षेत्रको पनि तार नहटाइएको हो।’ 

बानपाका चार वडामा पूर्व योजना भन्दा केही भागमा थप नांगाे तार हटाउनको लागि स्थानीयले आग्रह गरेपछि प्राधिकरणले सोही अनुसारको योजना अगाडि बढाएको छ। १० किलोमिटर तार र १०० पोलका लागि एक करोड रुपैयाँको योजना बनाएर केन्द्रमा पठाएको पाण्डेले जानकारी दिए। यो भन्दा पहिला बागलुङ बजारमा २५१ नयाँ पोल जडान भइसकेका छन्। प्राधिकरणको योजनाअनुसार यो आर्थिक वर्षभित्र सदरमुकामको १७ किलोमिटर तार विस्थापन गर्ने भनिए पनि आगामी चार महिना भित्रमा सबै काम सकिने वितरण केन्द्रले जनाएको छ।

बागलुङ बजारसँगै जिल्लाको गल्कोट नगरपालिकामा रहेको हटिया बजारलाई पनि नांगाे तारमुक्त बनाइने भएको छ। हटिया बजारमा रहेको ४ किलोमिटर नांगाे  तार विस्थापनका लागि प्रक्रिया अगाडि बढेको हो। घनाबस्ती रहेको गल्कोट बजारमा नांगाे तार हटाउनका लागि विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयबाट स्वीकृत प्राप्त भई काम अघि बढेको वितरण केन्द्र प्रमुख पाण्डेले बताए। आगामी चार महिनाभित्र हटिया बजारलाई नांगाे तारमुक्त बजार घोषणा गरिने छ।

नयाँ तार जडानको लागि प्रयोग गरिएको प्लाष्टिकयुक्त तार र अग्ला पोलका कारण विद्युतीय जोखिम कम भएर जाने छ भने विद्युत चुहावट समेत घटेर जाने प्राधिकरणको विश्वास छ। अहिले बागलुङमा विद्युतको चुहावट हुने गरेको भए पनि खुल्ला तारका कारण कहाँ कति परिणाममा विद्युतको चुहावट हुन्छ भन्ने तथ्यांक छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.