|

काठमाडौं : अहिले नेपाली भाषाको विवाद उत्कर्षमा छ। भाषा बिगारिएको, भाषामाथि अन्याय गरिएको, 'प्रविधिमैत्री' बनाउने नाममा मानक नेपाली भाषामाथि अस्वाभाविक चलखेल गरिएको आरोप लागिरहेको छ। 

भाषाका विद्वानहरू आआफ्नै तरिकाले भाषालाई प्रयोग गर्ने र गर्न प्रेरित गर्ने काम गरिरहेका छन्। भाषामा शुद्धाशुद्धिको विषय नै द्वन्द्वको मुख्य विषय बनिरहेको छ। नेपालमा पनि शुद्धाशुद्धिलाई लिएर धेरै चर्चा परिचर्चा भइरहेको छ। भाषाविज्ञहरूले यस विषयमा आआफ्ना तर्कहरू दिइरहेका छन्।

भाषा र शुद्धाशुद्धि एकदमै संवेदनशील विषय हुन्। भाषा कुनै समाज र सभ्यताका अमूल्य स‌म्पत्ति हो। यसर्थ भाषाप्रति मानिस ज्यादै सचेत हुने गर्छन्।

यहाँ भाषासँग सम्बन्धित रहेर फिल्मको नाम लेखनमा नै भएको गल्ती तथा अशुद्धिको विषयमा चर्चा गरिएको छ।

अहिले चर्चामा रहेको फिल्म 'साँइली'बाट प्रसंग सुरु गरौँ। साइँलीले आफ्नो अफिसियल पोस्टर सार्वजनिक गरिसकेको छ, जहाँ लेखिएको नाम नै अशुद्ध छ। पोस्टरमा फिल्मको नाम 'साँइली' लेखिएको छ। यो 'साँइली' अशुद्ध मानिन्छ। नेपाली भाषालाई आधार मान्दा 'साइँली' लेख्दा 'सा'मा चन्द्रविन्दु हुन्न। 'इ'मा चन्द्रविन्दु हुन्छ वा साहिँली हुन्छ। फिल्म युनिटले 'साँइली' लेखेको छ तर यसको शुद्ध रूप 'साहिँली' वा 'साइँली' हुन्छ।

यसै वर्षको सफल फिल्म 'नाईं नभन्नू ल ५'ले पनि नाममा अशुद्ध लेखेको छ। फिल्मले 'नाईं नभन्नू ल ५' लेखेको छ। यहाँ दुई अशुद्धता देखिन्छ। पहिलो शब्द 'नाईं' नै गल्ती देखिन्छ। यो 'नाईं' गलत हुन्छ। यसको शुद्ध रूप 'नाइँ' हुन्छ। 

निर्माण युनिटले 'नाईं नभन्नू ल ५' लेखेको छ तर यसको शुद्ध रूप 'नाइँ नभन्नू ल ५' हुन्छ। 'नाइँ नभन्नू ल'को पहिलो सिरिजमा भने फिल्मको नाम 'नाइ नभन्नु ल' लेखिएको छ, जहाँ 'नाइ'मा चन्द्रविन्दु दिइएको छैन भने 'नभन्नू' हुनुपर्नेमा नभन्नु लेखिएको छ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'कोइला'ले पनि नाम गल्ती लेखेको छ। कोइला टिमले फिल्मको नाम 'कोईला' लेखेको छ। तर, 'कोइला'मा बीचको 'इ' दीर्घ हुँदैन। 'कोईला'को शुद्ध रूप 'कोइला' हुन्छ।

त्यस्तै, यसै वर्षको भदौमा प्रदर्शनमा आएको फिल्म 'ब्ल्याक'ले पनि आफ्नो केही पोस्टरमा गल्ती गरेको छ। धेरै पोस्टरमा र फिल्ममा नाम अंग्रेजीबाट लेखिएको थियो तर प्रदर्शनको केही दिनअघि प्रचार स्वरूप भित्तामा टाँसिएको पोस्टरमा भने गल्ती देखिएको थियो। उक्त पोस्टरमा फिल्मको नाम 'बल्याक' लेखिएको थियो। उक्त नाम अशुद्ध थियो। यसको शुद्ध रूप 'ब्ल्याक' हुन्छ।

यसै वर्षको साउनमा प्रदर्शनमा आएको फिल्म 'कहिँ कतै'ले पनि नाम लेखनमा गल्ती गरेको छ। फिल्मले आफ्नो नाम 'कहिँ कतै' लेखेको छ, जहाँ 'कहिँ' अशुद्ध छ। 'कहीँ' लेख्दा 'ही' दीर्घ हुन्छ तर निर्माण युनिटले ह्वस्व लेखेको छ। 'कहिँ कतै'को शुद्ध रूप 'कहीँ कतै' हुन्छ।

यस वर्षको सुरुवात गर्ने फिल्म 'स्वर्ग मेरो गाउँ'ले पनि आफ्नो नाम लेखनमा अशुद्ध देखिएको छ। यस फिल्मले आफ्नो नाममा 'गाऊँ' लेखेको छ तर यसको शुद्ध रूप 'गाऊँ' नभएर 'गाउँ' हुन्छ।

यस वर्ष प्रदर्शनमा आएका फिल्महरूमध्येका यी पनि केही प्रतिनिधि फिल्महरू मात्र हुन्। यस्तो अशुद्धता त फिल्ममा धेरै पाइन्छ। फिल्मको नाम तथा कलाकारको नाममा पनि धेरै गल्तीहरू देखिन्छ। यसले फिल्म र फिल्मप्रतिको धारणालाई नै गलत बनाइदिन्छ। यस्तो अशुद्धताले भाषा, कला र साहित्य अनि संगीतको महत्त्वपूर्ण पक्ष फिल्म क्षेत्रप्रति नै नकारात्मक असर पर्न सक्छ।

निर्देशक विकासराज आचार्य आफूले 'नाइँ नभन्नू ल'मा गल्ती गरेको स्वीकार्छन्। उनी भन्छन्, 'भाषालाई वेवास्ता गर्दा नाइँ नभन्नु ल मा त्यस्तो गल्ती भएको हो। पछि 'नाइँ नभन्नू ल २' मा प्रा.डा. कृष्णहरि बरालसँग सल्लाह गरेर सच्यायौँ।' विकास नाम लेखन तथा अन्य भाषिक कामका लागि भाषाविदहरूसँग सल्लाह लिन एकदमै महत्त्वपूर्ण भएको बताउँछन्। 'फिल्ममा त्यत्रो लगानी हुन्छ, भाषिक कुराहरू हेराउन त खासै खर्च पनि हुन्न। त्यसैले यसमा हामी सचेत हुनुपर्छ।'

यसै त फिल्म क्षेत्रमा नपढेका कलाकार र फिल्मकर्मीको जमात बढी छ भन्ने मानसिकता आमदर्शकमा छ। तर पछिल्लो समय उक्त कुरालाई गलत सावित गर्दै राम्रो पढेका कलाकार्मीहरूको उपस्थिति पनि फिल्म क्षेत्रमा राम्रो पाइन्छ। यो फिल्म क्षेत्रकै लागि राम्रो कुरा भएको तर फिल्मको नाम नै अशुद्ध लेख्नाले राम्रो कुरालाई छायामा पारिदिने मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल बताउँछन्।

फिल्मको प्रभाव सिधा समाजमा परिरहेको हुन्छ। त्यसैले पनि यस विषयमा थप सचेत हुनुपर्ने लुइँटेलको भनाई छ। यसरी फिल्ममा गलत लेखाइ कम गर्न भाषाका विज्ञसँग सल्लाह गर्दा राम्रो हुने डा. लुइँटेल बताउँछन्। 'यसले नेपाली भाषाको पनि सम्मान हुन्छ भने फिल्मको उचाइलाई पनि थप सहयोग पुग्छ', प्रा.डा. लुइँटेलले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.