|

पर्वत : आयोजनामा कार्यरत मजदुरको आन्दोलनका कारण पर्वतमा निर्माणाधीन मध्यमोदी जलविद्युत् आयोजनाको निर्माणकार्य रोकिएको छ। आयोजनाको सुरुङमा विष्फोटनका लागि माटोको लोला भर्ने काममा संलग्न ६ जना मजदुरलाई निष्कासन गरेकोमा विरोध जनाउँदै मजदुरले काम ठप्प पारेका हुन्।

औधोगिक घरना चौधरी ग्रुपले निर्माण गरिरहेको १५.०१ मेगावाट क्षमताको उक्त आयोजनाको काम बुधबारदेखि रोकिएको हो। आन्दोलनरत मजदुर युनियनले निष्कासन गरिएका ६ जना महिला कामदारलाई  पुनर्बहाली गर्नुपर्ने र उनीहरूको पुनर्बहाली नभएसम्म काम हुन नदिने बताएको छ। मजदुरको आन्दोलनका कारण सुरुङ, पावर हाउस, इन्टेकलगायतका संरचना निर्माण कार्य प्रभावित भएको छ।

आयोजनाले भने सुरुङमा विष्फोटनको काम सकिएको र निर्माण कार्य अन्तिम चरणमा पुगेका कारण माटोको लोला भर्नु नपर्ने हुँदा कर्मचारी निष्कासन गरिएको बताएको छ। आयोजना प्रमुख निरञ्जनकुमार राउतले काम नभएका कारण असारदेखि नै तलब निकासा नभएका कारण दशैँपछि निष्कासन गरिए पनि छलफल गरी समस्या समाधानको प्रयास भइरहेको बताए। ‘काम नभएका कारण मजदुर निष्कासन गरिएको हो।’ आयोजना प्रमुख राउतले भने, ‘हामीले छलफल र संवादबाट मजदुरलाई वैकल्पिक ढंगले व्यवस्थापन गर्ने योजनामा छौँ।’

जिल्लाको मोदीगाउँपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भइरहेको आयोजनाको दुई हजार ७०० मिटर सुरुङमध्ये दुईहजार ४०० मिटर सुरुङ निर्माण कार्य सकिएको छ। बाँकी भागमा विष्फोटन नगरी निर्माण कार्यअघि बढेको आयोजना प्रमुख राउतले बताए। आयोजनाको  निर्माण कार्य २०७१ मंसिरबाट शुरु भएको हो।

आयोजनामा कास्कीको वीरेठाँटी र पर्वतको भुकताङ्लेको सिमानामा पर्ने सिमखेतमा बाँध निर्माण गरी पर्वतको देउपुर २ बेतेनीसम्म द्ई हजार ६९३ मिटरको सुरुङमार्फत् ल्याएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत् मोदीखोलामा मिसाउने योजना छ। यो आयोजनबाट उत्पादित विद्युत् चार किलोमिटर लामो प्रसारण लाइनमार्फत् देउपुर–पोखरा १३२ केभी सबस्टेशन देउपुरमा जडान गरिनेछ। उक्त प्रसारण लाइन र सबस्टेशन निर्माणको प्रकृया भने भर्खर शुरु भएको छ। आयोजनामा प्राइम बैंकको नेतृत्वमा सातवटा बैंकले लगानी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.