|

काठमाडौं : सरकारका प्रवक्तासमेत रहेका संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको पत्रकारिता क्षेत्र 'राम राम भन्न सकिने तर काँध भने थाप्न नसकिने' अवस्थामा पुगेको बताएका छन्।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक कार्यक्रममा पूर्वपत्रकारसमेत रहेका मन्त्री बाँस्कोटाले नेपाली पत्रकारिता धराशायीको बाटोमा लागेको बताएका हुन्। उनले आफूबारे र सरकारबारे 'अनावश्यक आलोचनाका समाचार र सम्पादकीय' आएको प्रति रोष प्रकट गर्दै कसरी समाचार लेख्ने भन्ने 'क्लास' दिएका छन्।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त, सरकारविरुद्ध पटकपटक अनशनमा बस्दै आएका चिकित्सक डा. गोविन्द केसीका बारेमा समाचार संकलन नगर्न मन्त्री बाँस्कोटाले सरकारी संचारमाध्यमलाई निर्देशन दिएको र अनावश्यक सेन्सर गर्न खोजेको, प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो राखेर अनावश्यक खर्च बढाउने प्रचार गरिएको, धर्म परिवर्तनमा लागेको एसिया प्यासिफिक सम्मेलनमा सरकार सह-आयोजक बनेको, सुरक्षाका नाममा काठमाडौंका यात्रुलाई अनावश्यक दुःख दिएको, सरकारले सुरक्षा व्यवस्थामा उल्लेख्य काम गर्न असफल भएको लगायतका समाचार समाजिक संजाल र संचारमाध्यममा आएकोबारे मन्त्री बाँस्कोटाले रोष प्रकटसहित आपत्ति जनाएका हुन्।

'हाम्रो पत्रकारितामा 'रेस्लिङ'मा जस्तो भएको छ। त्यहाँ साच्चै कुस्ती खेलेको जस्तो हुँदैन तर मार मुंग्री गरेर ज्यानै जालाजस्तो गर्छन्। त्यसलाई 'क्याफे' भन्छ।' त्यसरी नै के-के न हुन लाग्यो झैँ गरी हाल 'नेपालमा क्याफेकारिता चलिरहेको' मन्त्री बाँस्कोटाको भनाइ थियो।

मिडिया हाउसहरूले 'फेक न्यूज प्रोडक्सन हाउस' चलाइरहेको आरोप लगाउँदै मन्त्री बाँस्कोटाले भने, 'सधैँ फेक भयो भने एकदिन आफैँ धराशायी हुन्छ। यसरी भीरबाट लड्नेलाई के भन्ने! राम राम मात्रै भन्न सकिन्छ, काँध थाप्न सकिन्न।'

मन्त्री बाँस्कोटाले 'पैसा तिरेर पढ्ने पब्लिकको ख्याल गर्न र जिम्मेवार बन्न' भने। उनले पत्रकारले 'पूर्वाग्रहको सीमा नाघेको र तथ्यपरकतालाई नांगोरूपमा उलंघन गरेको' आरोप लगाए। उनले 'स्रोत पनि उल्लेख नगरेर समाचार लेखेको' समेत बताए। यसरी समाचार लेख्दा 'फ्रिडम अफ एक्सप्रेसन खतरामा पर्ने' उनको तर्क थियो।

पत्रकार सम्मेलनमा उनले केही पत्रिका र पत्रकारको नामै किटेर र केहीलाई संकेत गरेर आलोचना गरेका थिए। उनले 'सरकार समाचार र विज्ञापनको स्रोत' भएकाले 'ख्याल गर्न' पनि पत्रकारहरूलाई चेतावनी दिएका थिए। उनले प्रश्न गरे, 'सरकारबाहेक के स्थापना गर्न खोजेको हो?' साथै मन्त्री बाँस्कोटाले पत्रकारहरूले पाठक, लगानीकर्ता र पत्रकारिता क्षेत्रको ख्याल गरेर समाचार लेख्नुपर्ने बताए।

प्रधानमन्त्रीको फोटोवाला प्रचारलाई कोक र फुटबलको विज्ञापनसँग तुलना!

मन्त्री बाँस्कोटाले सामाजिक सुरक्षा योजना कार्यक्रमको प्रचारमा सरकारले अनावश्यक रूपमा राज्यको आर्थिक स्रोत खर्च गरेको भन्नेबारे आएका समाचार र सामाजिक संजालका टिप्पणीप्रति पनि असन्तुष्टि जनाए। उनले भने, 'सामाजिक सुरक्षाको प्रचारमा ६७ लाख रुपैयाँ (६७ लाख २३ हजार ७५० रुपैयाँ) खर्च भएको छ।' उनले यस्तो ठूलो कार्यक्रमको सुरुवात गर्दा प्रचारप्रसार हुनु स्वभाविक भएको बताए। साथै, मन्त्री बाँस्कोटाले सामाजिक सुरक्षा योजना लागू गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश भएकाले पनि प्रचारप्रसार गर्नुपरेको बताए।

संचारमाध्यम र सामाजिक संजालमा प्रधानमन्त्रीको तस्वीर भएको 'नयाँ युगको सुरुवात' नारा लेखिएका पम्पलेट काठमाडौंका भित्ता र बिजुलीका पोलमा टाँस्नुका साथै विभिन्न पत्रिकामा 'ज्याकेट' विज्ञपान र अनलाइनहरूमा 'रोडब्लक' विज्ञपान दिएर राज्य आर्थिक स्रोतको अनावश्यक खर्च गरिएको भन्दै आलोचना भएको थियो। जसको बचाउमा मन्त्री बाँस्कोटाले 'फागुन आएपछि कोकाकोलाको पनि प्रचार हुने र फुटबल विश्वकप हुँदा त्यसको पनि प्रचार हुने' उदाहरण दिएर प्रस्ट्याउन प्रयास गरेका थिए। उनले कोककोलाले गर्मी लाग्दा ज्याकेट विज्ञापन दिने गरेको भन्दै सरकारले त यति ठूलो योजना लागू गर्दा विज्ञापन गर्नु जायज भएको तर्क गरे।

सम्बन्धित समाचारः 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.