|

बिर्तामोड : मंसिर १० गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र 'पुरानो डुङ्गा'को टोलीले पूर्वी नेपाल झापाबाट प्रचारप्रसार सुरु गरेको छ।

चलचित्रको प्रचारकै लागि पुरानो डुङ्गाको टोली बिहीबार झापाको बिर्तामोड आइपुगेको हो। बिर्तामोडबाट प्रचारप्रसारको थालनी गरिएको चलचित्रका निर्देशक रामबाबु गुरुङले बताए।

चलचित्रमा पोखराको तालको किनारमा बसेर डुङ्गा चलाउने दाजुभाइको कथा रहेको नायक दयाहाङ राई बताउँछन्। माओत्से गुरुङ र आफू दाजुभाइको भूमिकामा रहेको दयाहाङले सुनाए।

चलचित्रकी नायिका प्रियङ्का कार्कीले चलचित्र हेर्नलायक बनेको बताइन्। ‘हतारमा फिल्म बनायो भने राम्रो हुँदैन भन्ने कुरा दर्शकले पनि बुझ्न थालिसक्नुभयो,’ उनले भनिन्, ‘हतार नगरी बनेको पुरानो डुङ्गा मन पराइदिनुहुन्छ भन्ने विश्वास छ।’पहिलो पटक आफू बिर्तामोड आएको बताएकी प्रियङ्काले झापा आफ्नै घरजस्तै लागेको प्रतिक्रिया दिइन्।

निर्देशक गिरीका अनुसार पुरानो डुङ्गा ११० मिनेटको छ। ‘फिल्मले ११० मिनेटभर दर्शकलाई इन्टरटेन दियो भने त्यो नै मेरो सफलता हो,’ उनले भने, ‘फिल्म नराम्रो लाग्यो भने दर्शकले मलाई गाली पनि गर्न सक्नुहुन्छ, त्यसको लागि म तयार भएर बसेको छु।’

चलचित्र कमेडी बनाउँछु भन्ने आफूले नसोचेको तर, दयाहाङले अभिनय गरेपछि कमेडीजस्तै बनेको निर्देशकको कथन छ । नायक दयाहाङले आफू कमेडी गर्छु भनेर कलाकारितामा नआएको प्रतिक्रिया दिए। उनले भने, ‘पछिल्लो समय दर्शकले कमेडी रुचाउने गरेको मैले महसुस गरेको छु।’

१ करोड १० लाख रुपैयाँको लागतमा तयार पारिएको चलचित्र पोखराको बेगनास ताल वरपर छायाङ्कन गरिएको हो। चलचित्रमा दयाहाङ, प्रियङ्का, माओत्सेका अलावा मेनुका प्रधान, बुद्धी प्रधान, पुष्कर गुरुङ, धनबहादुर गुरुङ, सजन थापा, नौजङ गुरुङ, विश्वास गुरुङ, पूर्णिमा गुरुङ लगायतको अभिनय छ । रामबाबु गुरुङ र उपेन्द्र सुब्बा चलचित्रका लेखक हुन्।

रौनकविक्रम कँडेल, ओमचन्द्र रौनियार, धनबहादुर गुरुङ र प्रकाश गुरुङले चलचित्रमा लगानी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.