५८ अर्बको फलाम किनेर दुई अर्बको फलामका सामग्री बिक्री

|

काठमाडौं : व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जारी गरेको तथ्यांकले नेपालको अर्थतन्त्र व्यापारमा मात्रै केन्द्रित देखाएको छ। उत्पादनमूलक उद्योगहरूले क्षमता अनुसारको उत्पादन गर्न नसकेको अवस्था र नयाँ उद्योगसमेत स्थापना हुन नसकेपछि प्रत्येक महिना व्यापार असन्तुलनको खाडल बढेको छ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको व्यापार घाटा चार खर्ब ५४ अर्ब रुपैयाँ पुगको छ।

यो तथ्यांकअनुसार नेपालबाट उत्पादित एक रुपैयाँको सामान विदेशी बजारमा पुग्दा विदेशी बजारबाट १७ रुपैयाँ बराबरको सामान आयात भएका छन्। गत वर्षको सोही अवधिमा नेपालले एक रुपैयाँको सामान विदेशी बजारमा पुग्दा नेपालले १३ रुपैयाँ बराबरको सामान आयात गर्ने गरेको थियो।

चार महिनामा अवधिमा नेपालले चार खर्ब ८३ अर्ब रुपैयाँ बराबरको सामान आयात गरेको छ भने नेपालबाट २९ अर्ब रुपैयाँ बराबरको सामान विदेशी बजारमा पुगेको छ। गत वर्षको सोही अवधिमा नेपालले २६ अर्ब बराबरको सामान निर्यात गरेको थियो भने तीन खर्ब ५० अर्ब रुपैयाँ बराबरको सामान आयात गरेको थियो। अघिल्लो वर्षको चार महिनाको तुलनामा तीन अर्बको मात्रै निर्यात बढ्दा आयात भने डेढ खर्ब रुपैयाँ बराबरको भएको छ।

प्रमुख आयात

चार महिनाको अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ। गत वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थ आयतमा ६८ प्रतिशतले वृद्धि भएको छ भने फलाम तथा फलाका उत्पादनहरू ६२ प्रतिशतले वृद्धि भएको छ। यो अवधिमा ६९ अर्बको पेट्रोलियम पदार्थ आयात भएको छ भने फलाम ५८ अर्ब रुपैयाँको आयात भएको छ। गत वर्षको सोही अवधिमा पेट्रोलियम र फलाम क्रमशः ४१ अर्ब र ३५ अर्बको आयात भएको थियो।

चार महिनाको आयात व्यापार

आयात भएका सामान मूल्य

रकम हजारमा

पेट्रोलियम पदार्थ

६९,०७५, ८४२

फलाम तथा फलामका उत्पादन

५८,२०४,१४१

मशिनरी तथा पार्ट्स

३७,१०१,१६९

यातायातका साधन तथा पार्ट्स

३७,०८५,३६८

इलेक्ट्रिक सामान

१८,३४८,३७३

हवाई जहाज तथा पार्टस्

१७,५३८,२०१

अन्न

१४,९०१,९१४

तयारी पोशाक

१३,८८५,६८१

सुन

११,२६६,१६५

औषधि

१०,२८०,०१३

अन्य

१२६,२७९,७४२

जम्मा

४८३,७५३,८२२

प्रमुख निर्यात

प्रमुख निर्यातामा भने यार्नजन्य सामाग्री रहेका छन्। ऊनी तथा गलैँचा, तायारी पोशाकफलामका उत्पादनहरू सबैभन्दा बढी निर्यात भएको छ। यो अवधिमा क्रमशः दुई अर्ब ९३ करोड, दुई अर्ब ७६ करोड, दुई अर्ब ४० करोड रुपैयाँका सामग्री निर्यात भएका छन्।

गत वर्षको सोही अवधिको तुलनामा अलैँचीको निर्यात भने निकै घटेको छ। गत वर्षको चार महिनामा एक अर्ब २० करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएकोमा यो वर्षको चार महिनामा ९६ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ।

चार महिनाको निर्यात व्यापार

निर्यात भएका सामान

रकम हजारमा

यार्न

२,९३३,१३३

ऊनी गलैँचा

२,७६४,९४५

तयारी पोशाक

२,४०७,४५०

फलाम तथा फलामका उत्पादन

२,२१८,२०८

जुस

१,५६४,२९३

चिया

१,५५३,०२७

कपडा

१,०३४,६४२

पश्मिना सल

९२९,६४६

अलैँची

९६७,३९७

जुटका झोला तथा बोरा

८१२,३२२

अन्य

१२,०९६,५१६

जम्मा

२९,२८१,५७९

 

कुनै वस्तु आयात सकारात्मक

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले समग्रमा व्यापार घाटा मुलुकका लागि हानिकारक रहे पनि कुनै वस्तुको आयात भने सकारातमक भएको बताएको छ। फलाम तथा फलामजन्य सामग्रीको आयातले सकारात्मक प्रभाव पार्ने केन्द्रले जनाएको छ। 'फलामको आयत बढ्नुले विकास हुँदैछ र निर्माण कार्य भएको छ भन्ने अर्थ लाग्ने हो। यसको सकारात्मक प्रभाव पर्छ' केन्द्रका नायव निर्देशक सुदेश खनालले भने।

आयात व्यापार अत्याधिक बढ्नुको कारण सामानको परिणाम बढ्नुसहित मूल्य बढ्नुलाई पनि लिइएको छ। साथै डलरको मूल्य बढ्नुले पनि व्यापार घाटा बढेको सरोकारवालाहरूले बताएका छन्। 'पेट्रोलियम पदार्थको आयातसँगै मूल्य पनि धेरै बढेको कारण आयात रकममका ६८ प्रतिशतले वृद्धि भएको देखिएको हो' नेपाल आयल निगमका निर्देशक वीरेन्द्र गोइतले भने 'विगतमा अन्तर्राष्ट्रियस्तरमा पेट्रोलियम पदार्थको मूल्य र डलरको मूल्य एकैपटक बढ्दा आयात रकम पनि धेरै बढ्न गएको हो।'

कतिपय वस्तुहरू विदेशबाट कच्चा पदार्थ आयात गरी  सामानको रूपमा विदेशी बजारमै निर्यात गरिएको पनि छ। चार महिनाको अवधिमा ५८ अर्बको फलाम तथा त्यसका उत्पादन आयात भएकोमा दुई अर्बको भने निर्यात भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.