|

अफगानिस्तानको काबुलमा बुधबार भएको कारबम विष्फोटमा परी ११ नेपाली नागरिक घाइते भएका छन्। अफगानिस्तानका अधिकारहरूका अनुसार उक्त घटनामा चारजना विदेशीसहित १० जनाको ज्यान गएको छ।

उक्त घटनामा २७ जना घाइते भएको पुष्टि भएको छ। घाइते हुनेमध्ये पाँचजना ब्रिटिश नागरिक र ११ जना नेपाली नागरिक रहेको अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। अन्यको विवरण खुलाइएको छैन। घटना हुँदा उक्त ठाउँमा ३३० जना रहेकाले मृतकको संख्या बढ्न सक्ने मन्त्रालयको भनाइ उद्धृत् गर्दै बिबिसीले उल्लेख गरेको छ।

ती नेपालीहरू ब्रिटिश सुरक्षासम्बन्धी कम्पनी जीफोरएससँग आवद्ध रहेर काम गर्दै आएका थिए। सो कम्पनीले घटनामा परेर घाइते भएका व्यक्तिहरूका परिवारलाई सूचना दिइसकिएको जनाएको छ। जीफोरएसको कार्यालय परिसरमा भएको आक्रमणको जिम्मा तालिबानले लिएको छ।जीफोरएस विश्वकै सबभन्दा ठूलो सुरक्षा कम्पनीमध्ये एक हो जसले ब्रिटिश दूतावास वरपरको क्षेत्रमा सुरक्षा प्रदान गर्दै आएको छ।

अफगान अधिकारीहरूका अनुसार कारबम विस्फोट गराएपछि पाँचजना सशस्त्र आक्रमणकारीहरू जीफोरएसको परिसरमा प्रवेश गरेपछि दुई पक्षबीच गोली हानाहान भएको थियो। घटना हुँदा सो स्थानमा ३३० व्यक्ति रहेका र तीमध्ये अधिकांश विदेशी नागरिक रहेको बिबिसीले जनाएको छ।

द्वन्द्वग्रस्त अफगानिस्तानमा उल्लेख्य संख्यामा नेपालीहरू पनि कार्यरत छन्। तीमध्ये धेरै सुरक्षा क्षेत्रमा संलग्न छन्। यसअघि सन् २०१६ को जुनमा राजधानी काबुलमा गरिएको एउटा आक्रमणमा १२ जना नेपाली मारिएका थिए। सो आक्रमणलाई आतंकवादी घटना भन्दै नेपाल सरकारले त्यसको घोरभर्त्सना समेत गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.