|

पोखरा : पाँच वर्ष पूरा भएर छ वर्ष लाग्नेवित्तिकै मानबहादुर जिसीलाई आमाबाले विद्यालयमा भर्ना गरिदिए। ‘२०२३ सालमा मचाहिँ स्कुल भर्ना भएको थिएँ। गाउँ पंचायतको ओख्ले भन्ने ठाउँमा जनक प्रावि थियो’, पुराना दिनको याद गर्दै उनले भने, ‘त्यति बेला पढ्न खुब गाह्रो थियो। एउटा स्कुलमा तीन-चार पढ्यो, अरू कक्षा पढ्न अरू स्कुलमा जानुपर्थ्यो।’

जिसी कक्षा ४ पढ्नका लागि गाउँपंचायतको ठूलो स्वरा भन्ने ठाउँमा हिमालय प्राविमा गए।  कक्षा ५ मा पढ्न फेरि जनज्योति माध्यमिक विद्यालयमा भर्ना भए। निरन्तर त्यहीँ पढे। २०३५ सालमा सोही विद्यालयबाट एसएलसी दिए। 

उच्चशिक्षाका लागि उनी व्यवस्थापन संकायका लागि भर्ना भए। सँगैका साथीहरूलाई गल्लाले लाहुरे बनाउन लगेको देखेर उनलाई पनि ब्रिटिस लाहुरे हुने भुतले समात्यो। लाहुरे हुने भुतले उनलाई १९ दिनपछि च्याट्टै छोड्यो। उनले त्यहाँ गर्नुपर्ने सबै काम गर्न सकेनन्। ‘म्यानेजमेन्टमा भर्ना भएको मलाई लाहुरे हुने साह्रै रहर लागेको थियो। ब्रिटिसमा लाहुरे हुने भुत चढ्यो’, उनले भने, ‘म १९ दिनसम्म त्यतातिर भुलेँ। त्यसपछिका दिनहरूमा मलाई पहिलाको जसरी पढ्ने मुड नै आएन र क्याम्पस छाडेँ।’

‘स्कुल पढ्दा सबैभन्दा याद भएको माध्यमिक विद्यालयमा पढाउने एक जना इंग्लिस मास्टरले सोधेको उत्तर जानेन भने औँलाको बीचमा कलम राखेर चेप्दाको दुखाइ हो', जिसी भन्छन्, 'यसको पीडा यति साह्रो हुन्थ्यो कि उस्तै परे पिसाब नै निस्कने थियो।

त्यसपछि फेरि उनी गाउँ फर्किए। त्यस बेलामा एसएलसी पास भएको मानिसलाई ठूलो मान्छे सोच्ने चलन थियो। त्यसैले पनि मास्टर (शिक्षक)को काम पाउन सजिलो थियो। लाहुरेको भुतले १९ दिनसम्म हराएपछि पढाइमा मन लागेन। पढाइ पनि छुटेकाले घरमा अभिभावकहरूले कराउन थालेपछि मास्टरको काम गर्न थाले।। डेढ वर्षजति रत्न माविमा पढाए पनि उनले। 

फेरि २०३७ सालमा पृथ्वीनारायण क्याम्पसमा भर्ना भएका थिए। त्यस समयमा लामो हडताल भएको थियो। क्याम्पस बन्द नै भएकाले दुई वर्षमा पूरा हुनुपर्ने कोर्स चार वर्षमा पूरा भएर २०४१ सालमा मात्रै सकियो। २०४१ सालमा फेरि घर गएपछि ०४५ सालसम्म पुन: शिक्षक भएर काम गरे। क्याम्पसमा विद्यार्थी राजनीति पनि गरे उनले।  

राजनीति गरेको भनेपछि ०४५ सालमा पंचायतको निर्णयअनुसार उनलाई जागिरबाट निष्काशन गरियो। त्यसपछि डिप्लोमा पढ्न फेरि क्याम्पस भर्ना भए। २०४९ मा डिप्लोमा सकिएपछि बहुदल आयो। बहुदल आएपछि कालिका गाविसको अध्यक्षमा चुनाव लडे। गाविस अध्यक्ष पनि जिते। 

उनले विद्यार्थी जीवनमा उटपट्याङ कामहरू पनि थुप्रै गरेका छन्, जुन उनले अहिले पनि सम्झिरहन्छन्। ‘जीवनमा यहाँसम्म आउँदा धेरै उटपट्याङ कामहरू पनि गरियो। पहिला पहिला कतै जान पनि साथीहरू सँगसँगै भएर हिँडिन्थ्यो, अहिलेको जस्तो वृक्षरोपण भएको ठाउँ हुन्थेन’, उनले सम्झँदै मुस्कुराउँदै भने, ‘त्यस समयमा साथीहरूसँग मिलेर माथिबाट ढुंगा लडाउन साह्रै रमाइलो हुन्थ्यो।सबै साथीहरूको ग्रुप मिलेर माथिबाट ढुंगा फालेर कसको छिटो तल पुग्ने भन्ने प्रतिस्पर्धा हुने गर्थ्यो।’

उनीहरूले गुल्ट्याएको ढुंगाले जनज्योतिमा पढाउने बाँस्तोला सरलाई एक दिन झन्डै लागेको। त्यसपछि साह्रै गाली पनि खाएको एउटा घटना सम्झिँदै उनी हाँसे।

त्यस समयमा लौराले पिट्ने समय थियो। सबैको सोच लौरीको पिटाइबाट जोगिने भन्ने हुन्थ्यो। ‘स्कुल पढ्दा सबैभन्दा याद भएको माध्यमिक विद्यालयमा पढाउने एक जना इंग्लिस मास्टरले सोधेको उत्तर जानेन भने औँलाको बीचमा कलम राखेर चेप्दाको दुखाइ हो', जिसी भन्छन्, 'यसको पीडा यति साह्रो हुन्थ्यो कि उस्तै परे पिसाब नै निस्कने थियो। अर्काे एक जना गणित पढाउने मास्टर हुनुहुन्थ्यो, बदमासी गर्‍यो कि कन्चटका रौँ उखेल्नुहुन्थ्यो। त्योभन्दा पीडादायी सजाय अरू के हुन सक्थ्यो र?’

बाल्य अवस्थालाई फर्किएर हेर्दा स्कुलमा तथा घर वरपर छिमेकमा राम्रो बच्चामा नै चिनिन्थे रे उनी। सबैको नजरमा 'बाबुहरू राम्रा छन्' भन्ने सन्देश नै जाने गरेको उनले सम्झिए। अर्काे रमाइलो कुरालाई पनि जोड्न खोजे। ‘त्यो समयमा अरूको खेतबारीको फलफूल चोरेर साह्रै खाने गरिन्थ्यो। अरूको घरमा फलेको काँक्रो चोरेर खाने तर जसको घरबाट चोरेको हो, उसकै घरमा गएर पीरो बनाएर उनीहरूसँगै बसेर खाने गर्थ्यौं’, उनले सम्झँदै भने, ‘पछि थाहा पाएपछि तिमीहरू त साह्रै बाठा, हिजो मेरै घरको काँक्रा चोरेर मलाई नै पीरो पिन्न दुःख दियौ भनी गाली खान्थ्यौँ। मागेर दिनुहुन्नथ्यो भन्दै हाँसेर टार्दिन्थ्यौँ।’

त्यस समयमा जति नै बदमास भएर हिँडे पनि पैसा भने कहिल्यै चोरेनन् उनले। ‘बरु लोकल भाले चोरेर भैँसीको घीउमा फ्राई गरेर साथीभाइसँग बसेर खाँदाको त्यो पल साह्रै रमाइलो हुन्थ्यो’, उनले भने। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.