|

संसारमै पहिलोपटक जिन सम्पादन गरेको दाबी गर्ने चिनियाँ वैज्ञानिकलाई सरकारले बर्खास्त गरेको छ। अनुसन्धानकर्ता तथा वैज्ञानिक ही जेउनक्युले संसारमै पहिलोपटक आफूले जिन सम्पादन गरेर बच्चा जन्माउन सहयोग गरेको दाबी गरेका थिए।

गत सोमबार उनले यसै महिना जन्मिएका जुम्ल्याहा बालिकाको जिन सम्पादन गरेको बताएका थिए। उनले एचआइभी संक्रमित बाबुआमाको जिन सम्पादन स्वस्थ जुम्ल्यहा बालिकालाई जन्माउन सहयोग गरेको दाबी गरेका थिए। उनको यो दाबीले विश्वभर तरंग ल्याएको थियो भने वैज्ञानिकहरू पक्ष विपक्षमा बाँडिएका थिए।

उक्त दाबीपछि चिनियाँ अधिकारीहरूले ही बर्खास्त गर्नका साथै उनले गरेको अनुसन्धानलाई प्रकृतिविरुद्धको करार दिएका छन्। त्यस्तै चीनले उक्त अनुसन्धान चिनियाँ कानुनविपरीत भएको पनि बताएको छ।

'मिडियामा आएका जिन सम्पादित जुम्ल्याहा बालिकाको जन्म भन्ने समाचारले चीनमा हिंसा भड्काउन सक्छ। साथै यो अनुसन्धान चिनियाँ नियम, कानुनविरुद्ध छ र यो विषय वैज्ञानिक संहिताविरुद्ध उच्चतम विन्दुको विषय हो। जुन अचम्म लाग्दो र अविश्वनीय छ' चिनियाँ विज्ञान तथा प्रविधि राज्यमन्त्री छु नाङपिङले भने।

ही र उनको टिमले सेन्जानस्थित साउथन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा सिआरआइपिआर-क्यास नाइन नामक उपकरण प्रयोग गरेर जिन सम्पादन गरेको दाबी गरेका छन्। सिआरएसपिआर विज्ञानको एक चमत्कारी उपकरण हो जसले जिनहरूलाई सम्पादन गर्न सहयोग गर्छ। तर, वैज्ञानिकहरूले यो अहिले नै प्रयोगमा ल्याउन नसकिने बताएका छन्। उनीहरूका अनुसार यो उपकरण अहिले परीक्षणकै अवस्थामा छ।

यो प्रविधि कति सुरक्षित छ भन्ने अहिले अनुसन्धानकै विषय भएको उनीहरूको भनाइ छ। वैज्ञानिकहरूको अनुसार यो उपकरणको माध्यमबाट गर्भावस्थामा आमाकै पेटमै शिशु रहँदा जिन सम्पादन गर्दा त्यसले शिशु जन्मेपछि उसको जीवन र भविष्य नै समस्यामा पर्न सक्ने विचार व्यक्त गरेका छन्। उनीहरूले यो प्रविधिको प्रयोग गरिएमा आउँदो पुस्तामा पनि प्रभाव पर्ने मत राखेका छन्।

आमाको पेटमै रहँदा गरिने जिन सम्पादन संयुक्त राज्य अमेरिकालगायत कैयौँ देशमा निषेध छ। युकेमा भने कडा निगरानीका बीच अनुसन्धानका लागि प्रयोग गर्न सकिने प्रावधान छ। चीनमा यसका लागि युरोपियन देशमा जस्ता कडा खालका नियमहरू छैन तर यहाँ यसलाई अत्यधिक महँगो अनुसन्धान योजना मानिन्छ।

हालै भएको यो घटनाले जिनको सम्पादनका विषयको पारदर्शिताका बारेमा एउटा गम्भीर प्रकृतिको नैतिक प्रश्न उब्जाएको छ। तर, चिनियाँ वैज्ञानिकको यो अनुसन्धान स्वतन्त्र रूपमा प्रमाणित गर्न नसकिने खालको र पुनः निरीक्षण गर्न पनि नसकिने बताइन्छ। 'ही'ले भने आफ्नो अनुसन्धानको प्रतिवेदन नामबिना नै निरीक्षणका लागि साइन्टिफिक जर्नलमा पठाएको बताएका छन्।

गत बुधबार भएको एक कार्यक्रममा उनले सार्वजनिक रूपमा आफ्नो अनुसन्धानको बचाउ गरेका छन्। उनले हङकङमा भएको एउटा समिटमा आफूलाई उक्त अनुसन्धानको उपलब्धिबाट आफूले गर्वानुभूति गरेको बताएका छन्। उनले तेस्रो शिशु पनि जिन सम्पादनबाट जन्मिन लागेको दाबीसमेत गरेका छन्।

उनको प्रस्तुतिपछि कन्फेरेन्सका अध्यक्ष डेभिड बाल्टिमोरले उनको अनुसन्धान चिकित्सकीय रूपमा आवश्यक नरहेको बताएका छन्। कन्फेरेन्स आयोजना गरेको संस्थाले यसका बारेमा स्वतन्त्र छानबिन गर्ने बताएको छ। चिनियाँ सरकारले पनि सो विषयमा तत्कालै छानबिन सुरु गर्ने निर्देशन दिएको अमेरिकी सञ्चार माध्यम सिएनएनले उल्लेख गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.