|

काठमाडौं : 'पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, आँधी आए तराईमा पहाडले छेक्नुपर्छ।' यो गीत २०४७ सालमा रचना गरिएको हो। तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले १० वटा राष्ट्रिय भावनामा आधारित गीतको क्यासेट निकाल्ने भएको थियो। प्रतिष्ठानले १० जना गीतकारहरू छनोट गर्‍यो। छानिएका १० जनामध्ये एक थिए कवि तथा गीतकार दिनेश अधिकारी। उनले राष्ट्रिय भावमा आधारित एउटा गीत प्रज्ञालाई दिनुपर्ने भयो।

२०३६ सालदेखि सामाजिक सद्भाव खलबलिरहेको अवस्थाबाट देश गुज्रिरहेको अनुभूति उनलाई भइरहेको थियो। उनी त्यसबेला उनको गाउँ सर्लाहीमा विद्यार्थी जीवन बिताइरहेका थिए। २०३६ सालमा जब जनमतसंग्रहको घोषणा भयो, पहाडतिर कस्तो हाल थियो, उनलाई थाहा छैन। तर देशका प्रमुख शहर र तराईमा घरैपिच्छे झण्डाहरू गाडिएका थिए। बहुदलवादीहरूले नीलो झण्डा गाडेका थिए भने पंचायत पक्षले पहेँलो झण्डा गाडेका थिए। घर हेरेर थाहा हुन्थ्यो- यो घरका जनता कसका पक्षमा छन् भन्ने कुरा।

नीलो झण्डा भएका घरका मान्छेको मृत्यु हुँदा पहेँलो घरका मान्छे मलामी नजाने र पहेँलो घरमा विवाह भोज हुँदा नीलो घरका मान्छे नजाने अवस्था सिर्जना भएको थियो। त्यो दृश्य उनले देखेका थिए। उनी भन्छन्, 'साह्रै नै विरक्तलाग्दो अवस्था थियो। अहिले पनि त्यो कहालीलाग्दो अवस्था सम्झँदा निराश हुन्छु म।'

जनमतसंग्रहमा पंचायती व्यवस्थाले जितिसकेपछि पंचहरूमा उद्दण्डता छाउन थाल्यो। हिजो जनमतसंग्रहमा लागेका नीलो पक्षहरूमाथि थिचोमिचोको अवस्था हुँदै गएपछि मिलेर बसेको समाजमा खलबली सुरु भयो। वैचारिक मतभेदका आधारमा परस्पर सद्भाव गुमाउँदै गइरहेको महसुस उनलाई भयो। यो खलबली २०४६ सालसम्म निरन्तर भइरह्यो। यद्यपि, मलामी नजाने जुन किसिमको असहिष्णुता थियो, त्यो भने त्यति लामो समय चलेन।

उनको दिमागमा यो पृष्ठभूमि घुमिरहेको थियो। दिमागमा उकुसमुकुस भएको उक्त कहालीलाग्दो सामाजिक अस्तव्यस्ततालाई शब्दको माध्यमले लेखिदिए उनले। यो गीत लेखेर प्रज्ञाप्रतिष्ठानमा दिन नपाउँदै प्रज्ञाको उक्त प्रोजेक्ट क्यान्सिल भएको बताउँछन् उनी। त्यसपछि अधिकारीको उक्त गीत सुरुमा गोपाल योञ्जनले संगीत गरेका थिए। योञ्जनले भनेका थिए रे, 'दिनेश भाइ, यो गीतलाई संगीत मैले गरेको छु। छिट्टै बजारमा जान्छ।' अफसोच! उक्त रेकर्डेड गीत आज उनीसँग छैन, न त बजारमा नै छ।

समयक्रमसँगै कान्तिपुर टेलिभिजन २०६० सालमा खुल्ने भयो। जीवा लामिछाने, कैलाश सिरोहिया, विनोद ज्ञवाली र भूषण दाहाल बसेर उक्त टेलिभिजनका लागि 'शुभारम्भ गीत' बनाउने कुरा अधिकारीसँग गरेका थिए। उनीहरूले यही गीतलाई शुभारम्भ गीत बनाउने निर्णय गरे। पछि टेलिभिजनको उद्घाटन जुनबेलामा हुन्छ भनेर सोचिएको थियो, त्योभन्दा पहिल्यै खुल्यो। गीत रेकर्डेड भयो तर सुटिङ हुन पाएन। यस गीतलाई बनाउने भन्दाभन्दै चाँडै टेलिभिजन संचालन गर्ने भएपछि यो गीत स्थगित भयो। कान्तिपुर टेलिभिजनका सदस्यले गरेको सम्झौता लागू नभएको अधिकारी बताउँछन्। यद्यपि, स्थगित भएको उक्त गीतलाई कान्तिपुरमा बजाउनुहोस् भनेर उनले आग्रह भने गरेका थिए रे!

उनले पछि 'देशको गीत' सिडीमा समावेश गरे यस गीतलाई। उनको यो गीत आलोक श्रीले पुन: संगीत गरे। स्वर भने स्वरूपराज आचार्यले दिए। 'अहिले हामीले जुन गीत सुन्छौँ, यो गीत तेस्रो पटक रेकर्ड गरिएको गीत हो', अधिकारीले भने। योञ्जनले गरेको संगीत पनि उनले सुनेका छन्। कान्तिपुरले रेकर्ड गरेको गीत पनि उनले सुनेका छन्। अहिले स्वरूपराज आचार्यले गाएको त्यो गीत पनि उनले सुनेका छन्। उनी भन्छन्, 'एउटा गीत तीनवटै संगीतमा मैले सुनेको छु। सबैको आआफ्नै मिहिनेत छ।'

उनका अनुसार यो गीत २०६५ सालमा रेकर्ड भएको हो। यो गीत पहिलोचोटि सुन्दा कस्तो लाग्यो? भन्ने प्रश्नमा उनी भन्छन्, 'यो गीत वास्तवमा समाजका लागि थियो। सामाजिक सद्भाव भएन भने देशको प्रगतिका सबै ढोका बन्द हुन्छन्। यही सन्देशलाई अत्यन्तै मिहिनेत गरेर गायक र संगीतकारले बनाउनुभएको छ।'

गीत बजारमा आइसकेपछि कोसीमा बाढी आएको थियो। त्यसबेला यो गीत एकदमै धेरै बजेको सम्झना गर्छन् उनी। पोखराको अन्नपूर्ण एफएमकी एक उद्घोषिकाले भनिछन्, 'दाइ यो गीत हामीले आधा-आधा घण्टामा बजाउने गरेका छौँ। राहतका लागि जब पैसा आउन छाड्छ, हामी यही गीत बजाउँछौँ अनि पुन: पैसा दिन्छन् मान्छेहरू।' यति भन्दा उनको अनुहारमा चमक देखियो।

भूकम्प आउँदा पनि राहत उठाउने काममा यो गीत उस्तै प्रभावकारी भएको उनी बताउँछन्। उनी भन्छन्, 'जुन उद्देश्यले मैले यो गीत लेखेँ, त्यो उद्देश्यअनुसार व्यवहार र नेतृत्वको आचरणमा लागू नभए पनि भाषणमा भने खुबै प्रयोग गरिँदै आएको छ। यद्यपि, एउटा गीतकारको उच्चतम खुसी भनेको नै आममान्छेले आफ्ना गीत मनपराउनु हो।' भूकम्पपछि जब संसद चलेको थियो, संसदमा बोल्ने ४० प्रतिशतभन्दा धेरै सांसदले आफ्नो मन्तव्यमा कहीँ न कहीँ यो गीत उद्धृत गरेर राहत कार्यक्रमका लागि आह्वान गरेको सम्झन्छन् उनी। उनी भन्छन्, 'मैले धेरै माननीयज्यूहरूले भाषणका लागि यो गीतको शब्द चाहियो भन्नुहुन्थ्यो। मैले आफैँले कति पटक त टिपाएको पनि थिएँ।' यो हिसाबले उनी यस गीतबाट एकदमै धेरै सन्तुष्ट रहेको बताउँछन्।

नेपालको संविधान जारी हुँदै गर्दा सांसदहरूले संविधान जारी गर्दाको दिन सही गर्दा दिनभर लागेको थियो। उनी आफू संसद नपुगे पनि समाचारमा पढेको आधारमा बोले, 'संघीय लोकतान्त्रिक संविधान जारी भएको उक्त दिन दुईवटा गीत दिनभर निरन्तर बजेका थिए। एक- राष्ट्रकवि माधवप्रसाद घिमिरेको शब्द तथा नातिकाजीको संगीत र स्वरमा रहेको 'नेपाली हामी रहुँला कहाँ नेपालै नरहे' र 'पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ।' 'सांसदले देशको संविधानमा सही गर्दा पृष्ठभूमिमा यो गीत बज्नु भनेको मेरा लागि एेतिहासिक क्षण हो', उनको खुसी यसरी पोखियो।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.