|

संखुवासभा : जिल्लाको दुर्गम भेगको रूपमा परिचित भोटखोला गाउँपालिकाका बृद्ध बृद्धाले गाउँमै  नागरिकता पाउँदा दंग परेका छन्। शिविरमा भोटखोला गाउँपालिका २ की दिचिक भोटेले ७३ वर्षको उमेरमा नागरिकता प्राप्त गर्दा खुसीले दंग परेकी हुन्।

उमेरमा नागरिकताको आवश्यकता थाहा नभएपछि शारीरिक रुपमा अशक्त भएर नागरिकता बनाउन जाने नसकेको ७३ वर्षीया बृद्धा दिचिक भोटेको भनाइ छ। भोटखोलाका नागरिकलाई सदरमुकाम आउने पैदल ५ दिनको यात्रा गर्नुपर्ने हुन्छ।  दिचिकले भनिन्, 'मर्ने बेलामा नागरिकता पायुम्। नागरिकताको प्रमाणपत्रमा हस्ताकक्षर गर्ने सरलाई पनि नमस्कार। गाम्मै आएर नागरिकता दिनुभयो।' त्यस्तै सोही शिविरमा थिजुङ भोटे पनि ७१ वर्षको उमेरमा नागरिकता प्राप्त गर्दा हर्षित भएकी थिइन्। उनले भनिन् 'हामी दुर्गमका नागरिकलाई पनि सरकारले केही भए पनि राहत अनुभूति दियाे।'

भोटखोलाका बृद्धबृद्धाले गाउँमै नागरिकता पाउँदा खुशीले सबै दंग भएका थिए। ग्रामीण भेगका जनतालाई गाउँबाटै सेवा प्रदान गर्ने लक्ष्यका साथ आयोजना गरिएको घुम्ती शिविरमा स्थानीयले नागरिकता पाएका हुन्।

भोटखोला गाउँपालिका १, २, ३ को हटियामा सञ्चालन गरिएको शिविरमा ६७ जनाले नागरिकता पाएका छन्। जसमा ४२ जना महिला र २५ जना पुरुषले वंशजको आधारमा नेपाली नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए।  जसमध्ये २ जनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरिएको छ।

भौगोलिक हिसावले निकै कठिन भोटखोलाका नागरिकलाई जिल्ला प्रशासन कार्यालयले शिविरमार्फत् नागरिकता वितरण गरेको हो। हटियामा सञ्चालित शिविरमा अधिकांश बृद्धबृद्धा नागरिकले नागरिकता प्राप्त गरेका छन्। नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यालय खाँदबारी आउन बाध्य स्थानीय गाउँबाटै सेवा प्राप्त हुँदा हर्षित भएका थिए।

गाउँगाउँबाटै सेवा दिँदा नागरिकले गाउँमै सरकार आएको अनुभूति भएको स्थानीयको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.