|

काठमाडौं : दिनभर नयाँ ज्ञान लिएर घर फर्केको विद्यार्थीको मुहारमा किन थकान भेटिन्छ? किन अँध्यारो हटाउन ज्ञानको दीप बाल्ने शिक्षक घर फर्कंदा उसको अनुहार निभेको बत्ती जस्तो हुन्छ? किन एउटा गरिव अभिभावक आफ्नो सन्तानका लागि पढाइ खर्च धान्न सक्दैन र सन्तानलाई पढाइबाट निकाल्छ? को हो त्यो, जसले देशको संविधानमा हरेक नेपालीलाई  शिक्षा आधारभूत आवश्यकता हो भनेर लेख्छ र शिक्षाबाट विमुख गराउँछ? यी हरेक प्रश्नको जवाफ रूपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकसँग छ।

नेपाल सरकारबाट पाँच पटक राष्ट्रिय ध्वजा पुरस्कारबाट पुरस्कृत यो विद्यालय वि.सं. २०१८ सालमा स्थापना भएको हो। कालिका विद्यालय २०३२ सालमा माध्यमिक भएको हो। २०६५ सालमा जब उनी प्रधानध्यापक भएर उक्त विद्यालयमा पुगे, तब मात्र उच्चमाध्यमिक भएको थियो। यस विद्यालयको इतिहास त्यति प्रचार गर्न लायकको थिएन। पाँच पटकसम्म नेपाल सरकारले कारवाही गरेको विद्यालय हो यो। सरकारले अनुदान रोकिदिएको थियो। राष्ट्रिय रिजल्टमा १५ प्रतिशत पनि उत्तीर्ण गराउन नसकेको यो विद्यालय आजको मितिमा नेपालको अब्बल सरकारी विद्यालको रूपमा परिचित छ।

यो कसरी संभव भयो त? उनी भन्छन्, 'टिमका साथीहरू शिक्षक, विद्यालय व्यवस्थापन समिति, स्थानीय जनसमुदायको अनेक मन एकता, सामूहिक प्रयास र विद्यालयप्रति समर्पित भएकाले मात्र यो विद्यालय अब्बल भएको हो।' सामूहिक एेक्यबद्धता र नेतृत्वले मात्र एउटा विद्यालय उत्कृष्ट बन्न संभव हुने उनी बताउँछन्। उनी यो श्रेय तिनीहरूलाई दिन्छन्, जसले उनको यो अभियानमा साथ दिएका छन्।

राष्ट्र निर्माण गर्न आवश्यक जनशक्ति उत्पादन गर्ने विद्यालय जस्तो ठाउँमा जब गैरजिम्मेवार रूपमा काम गरिन्छ भने राष्ट्रलाई ठूलो घाटा पुग्ने गर्छ। जिम्मेवारी प्राप्त गरेका व्यक्तिले केही सुधारको काम गम्भीरतापूर्वक गरेको उनी बताउँछन्।

वि.सं. २०५० मा माध्यमिक शिक्षणका लागि स्थायी भएका उनी २०५५ सालमा साविक कालिका माध्यमिक विद्यालयमा पुग्दा भौतिक रूपमा शक्तिशाली थिएन। शैक्षिक वातावरण अहिले उनी सम्झिन चाहँदैनन्। अहिले हरेक विद्यार्थीहरू यो विद्यालयमा पढ्न पाउने अवसरको खोजीमा हुन्छन्। अहिले उक्त विद्यालय हरेक कुरामा शक्तिशाली रहेको उनी बताउँछन्। कुनै बेला उक्त विद्यालय देख्दा नाक खुम्च्याउने स्थानीय अहिले यस विद्यालयमा आफ्ना छोराछोरी पढाउँदा गर्व महसुस गर्छन्। नेपालका सीमित सरकारी विद्यालयबाहेक अन्य विद्यालयमा पढाउँदा तिनका अभिभावकले गर्व गर्न पाउने अवसर कहिले पाउलान्, त्यो सोचनीय विषय रहेको उनी बताउँछन्।

उनी वि.सं. २०६५ मा विद्यालयको प्रधानध्यापक बनेका हुन्। हाल कालिका विद्यालय र रामनगरस्थित मानवज्ञान माध्यमिक विद्यालय एकीकरण भएर कालिका मानवज्ञान माध्यमिक विद्यालय भएको छ। अहिले यस विद्यालयमा पाँच हजार ८९१ विद्यार्थीहरू रहेका छन्। त्यहाँबाट पास भएर बजारमा गएका विद्यार्थीहरू अहिले कस्तो अवस्थामा छन् भनेर विद्यालयले तथ्यांक पनि राख्ने गरेको छ। २०६५ पछि त्यहाँ उत्पादन भएका विद्यार्थीहरूले देशमा चाहिने जनशक्तिको अवश्यकता परिपूर्ति गरेको उनको दाबी छ। पाठकले काम विशेष राजधानी आएकाले अहिले आफूसँग तथ्यांक नरहेको बताए। अहिले मात्र पुलचोक इन्जिनियरिङ क्याम्पसबाट छात्रवृत्तिमा नौ जनाले नाम निकालेको उनी बताउँछन्।

अहिले यस विद्यालयमा कम्युटर इन्जिनियरिङ, कानुन, विज्ञान, मानविकी, व्यवस्थापन पढाइ भइरहेको उनले बताए। नेपालमा पहिलो पटक कानुन पढेर १२ कक्षा पास गरेको व्यक्ति नै कालिका विद्यालयमा पढेका व्यक्ति रहेको उनले बताए। मानवज्ञानमा हाल शिक्षक शिक्षिकाको संख्या १९१ छ भने सम्पूर्ण स्टाफ जोड्दा २१३ जना रहेका छन्।

यहाँ सरकारको तर्फबाट ६२ जना सरकारी शिक्षक छन् बाँकी सबै जना स्थानीय स्रोतबाट जुटाउने गरेको उनले बताए। यदि शिक्षकलाई शिक्षण कार्यमा उत्प्रेरित गर्ने हो भने उसको कामअनुसार तलब पनि दिनुपर्ने उनको भनाइ छ। मासिक रूपमा उक्त स्कुलले शिक्षकहरूलाई ६३ लाख रुपैयाँ तलब खुवाउनुपर्ने उनले बताए। स्थानीय स्रोतको तात्पर्य विद्यार्थीको शुल्क नै हो। उनी भन्छन्, 'हामीले कुनै पनि विद्यार्थीहरूलाई उनीहरूको बिल थमाउँदैनौँ। उनीहरूको अभिभावकको नाममा पेस गर्छौं। किनकि विद्यार्थीको काम पढ्ने हो।' 

सरकारी विद्यालयमा पनि सधैँ अब्बल दर्जाको यस विद्यालयमा एउटा गरिव विद्यार्थीले कहिले पढ्न पाउला त? भन्ने प्रश्नमा उनी भन्छन्, 'हामीले शिक्षाको ग्यारेन्टी गरेका छौँ। आर्थिक हैसियत कमजोर भएका विद्यार्थीहरूले पनि पढ्न पाउनुपर्छ तर पहिलो चरणबाट पढ्नुपर्ने सर्तचाहिँ रहेको छ।' नर्सरीबाट आएका विद्यार्थीहरूलाई ५ कक्षासम्म विद्यालयले शैक्षिक सामग्री, पोसाक, खाजाको व्यवस्था गरेको छ। गरिबलाई शिक्षाको पहुँचमा ल्याउनु नै कालिकाको पहिलो सर्त रहेको उनले बताए। कक्षा ६ बाट भने पूर्वाधार विकासका लागि भनेर केही शुल्क भने लाग्ने उनले बताए। यद्यपि, गरिब परिवारलाई राहत दिने कुरामा प्रतिवद्ध रहेको उनी बताउँछन्। यस विद्यालयमा पढ्ने विद्यार्थीहरूले प्रयोगात्मक शिक्षा पाउने अवसर पाउँछन्, जसले गर्दा विद्यार्थीमा ज्ञान आर्जन गर्दा थकानभन्दा बढी रमाइलो हुने र ऊर्जाशील बन्ने गरेको पनि उनले बताए।

आजका मितिसम्म विद्यालयले उठाउने शुल्कबाट कुनै अभिभावकले गुनासो नगरेको दाबीसमेत उनले गरेका छन्। विद्यालयलाई कुनै पनि विद्यार्थीका अभिभावकहरूबाट शुल्क उठाउने रहर नभएको पनि उनले बताए। यदि सरकारले आधारभूत आवश्यकता शिक्षालाई मान्छ भने हरेक सरकारी विद्यालयलाई आवश्यकताअनुसार अनुदान दिन जरुरी रहेको तर संविधानमै भएको कुरा पनि सरकारले पूरा गर्न सक्दैन भने संविधान मिच्ने काम कसले गरेको छ? यो बुझ्न जरुरी रहेको उनले बताए। नेपालका सरकारी विद्यालयहरू धरासायी भइरहेका, विद्यार्थी तथा अभिभावकहरूको सरकारी विद्यालयमा आकर्षण घट्नुको मुख्य कारण सरकारको आचरण रहेको उनको बुझाइ छ। उनी भन्छन्, 'सामुदायिक विद्यालयलाई हेर्ने सरकारको नीति, विधि र प्रक्रिया नै ठीक छैन। यस कारण सबैभन्दा आकर्षण हुनुपर्ने विद्यालय जस्तो ठाउँ आजको मितिमा विकर्षण भइरहेको छ।'

सरकारले सरकारी रूपमा खटाएको शिक्षकले पढाएको छ वा छैन? उसले कस्ता विद्यार्थी उत्पादन गरेको छ? भन्ने कुराको कुनै अध्ययन गर्दैन। कर्तव्यबोध गरेर आफ्नो जिम्मेवारी कहाँ छ भनेर प्रतिबद्ध हुने शिक्षकलाई उप्रेरित गर्ने कुनै काम नगरेको उनको अनुभव छ। शिक्षकको कमजोरी पनि यहाँ धेरै भएको भन्दै आफ्नो कर्तव्यबाट पर भागेर गलत कार्य गरिरहेका शिक्षकहरूलाई अनुसन्धान गरेर सरकारले आवश्यक कारवाही पनि नगरेको दुखेसो पोख्छन् उनी। उपत्यकाभित्र मात्र होइन, देशका ठूला शहरमा पहुँचमा भएका व्यक्तिहरूले रजाइँ गरिरहेको भएकाले पनि नेपालको शिक्षा खस्किँदै गएको उनी सुनाउँछन्।

सरकारलाई मात्र गाली गरेर आफू पानीमाथि ओभानो हुने सिलसिला कहिलेसम्म रहन्छ? भन्ने आमजनताको प्रश्न पनि हुन सक्छ। यसबारे उनी खुलेर भन्छन्, 'जसले खटाएको स्थानमा गएर काम गर्दैन भने सरकारले कारवाही त गर्नुपर्छ नि! यो कसको काम हो?' उनी उल्टै प्रतिप्रश्न गर्छन्,'सरकारी विद्यालयमा नातावाद, कृपावाद, सोर्स फोर्स लगाएर भर्ना गर्ने परिपाटी बन्द गरेर सक्षम व्यक्तिलाई नियुक्त गर्न जरुरी छ।' सरकारको गलत कार्यलाई  प्रतिप्रश्न गर्दैमा यसलाई नेतृत्वमा बस्ने व्यक्तिले गाली भन्दा पनि सुझावको रूपमा लिन जरुरी रहेको बताउँछन् उनी।

हाम्रा मूल्य र मान्यता हेर्ने हो भने जसले पदमा बसेर गलत गर्छ, त्यसलाई समाजले बहिष्कार गर्छ। तर हाम्रो सामाजिक बनोट र संस्कार उल्टो हुँदै गइरहेको उनी बताउँछन्। उनी भन्छन्, 'अहिले परिपाटी उल्टो भइदियो, जसले काम कम चाकडी बढी गर्छ, उसैलाई सम्मान गर्छ अनि उपलब्धि त शून्य नै हुन्छ। यसमा दुई मत छैन।' यहाँ व्यवस्थापन संकाय पढ्न, विज्ञान संकाय पढ्न एउटा मापदण्ड तयार गरिएको छ। यी माथिको विषय पढ्न नसकेका विद्यार्थीहरूले शिक्षा संकायमा अध्ययन गर्छन्। 'यो कस्तो नियम हो? जुन विषय पढेर शिक्षक बन्छ, त्यहाँ नै अक्सर कमजोर व्यक्ति आएपछि हामीले कस्ता विद्यार्थी उत्पादन गर्छौं? यस कारण शिक्षा संकायलाई पढ्ने विद्यार्थीलाई सम्मान गर्ने परिपाटी निर्माण हुन जरुरी छ', पाठक भन्छन्। 

यो काम सरकारको रहेको उनले बताए। उनी भन्छन्, 'सबैभन्दा सक्षम व्यक्तिहरू शिक्षा संकायमा आएर अध्ययन गर्ने वातावरण सरकारले बनाइदिनुपर्छ, तब मात्र नेपालको शिक्षा उपलब्धिमूलक हुन्छ।' समाजको सबैभन्दा सम्मानित पेसाको रूपमा शिक्षण पेसा हुन नसक्नु पनि सरकारी विद्यालय धरासायी हुनुको मुख्य कारण रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.