|

डडेल्धुरा : डडेल्धुरा पुग्ने हिन्दु धर्मावलम्बीहरूका लागि ‘घटालथान’ आस्थाको धरोहरका रूपमा रहेको छ भने अरूहरूलाई मनमोहक दृष्यावलोकन गर्ने तथा ऐतिहासिक अध्ययनस्थलका रूपमा रहेको छ। सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठमध्येको एक हो- ‘घटालथान’। घटालथाल पर्यटकीय दृष्टिकोणले पनि संभावना बोकेको क्षेत्र हो।

अमरगढी नगरपालिका- ३ घटाल क्षेत्रमा रहेको घटालथान बाबा मन्दिर बुढीघटालका नामले पनि प्रसिद्ध यसलाई यस क्षेत्रको मुख्य धार्मिक शक्तिपीठका रूपमा लिइन्छ। 

सदरमुकाम बागबजारदेखि पश्चिम-दक्षिणतर्फ पाँच किलोमिटरको दूरीमा रहेको घटालथानसम्म सडक कालो पत्रे भएसँगै आन्तरिक तथा डडेल्धुरा पुग्ने जो कसैले पनि त्यहाँसम्म पुग्न सजिलो भएको छ। जिल्ला सदरमुकामबाट घटालथान पुग्न गाडीबाट १५-२० मिनेट र पैदल एक घण्टा समय लाग्छ। जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो बागबजार–आइतबजार–घटाल मन्दिर हो। यस स्थानमा आउन सकिने अन्य वैकल्पिक बाटो चिमिरिकोट–वीरखम्व–टुँडा–चम्साल हो। 

घटालथानसँगै पश्चिमतर्फ प्यागोडा शैलीमा बनेको असिग्राम मन्दिर पनि रहेको छ। चारैतिर डाँडाले घरेको डोटी घटाल क्षेत्र सम्म परेको घटाल गाड खोला क्षेत्रमा अवस्थित छ। घटाल गाडका बीचमा घटाल बाबाको मूर्ति अवस्थित रहेसँगै ऐतिहासिक ढुंगै नौला र ऐतिहासिक हिङलो पिङ पनि रहेकाले घटाल पुग्नेले पिङको आनन्द पनि लिन मिल्छ। 

घटालथानमा हरेक नयाँ वर्षको पहिलो दिन पूजा हुन्छ र बैशाख २ गते मेला लाग्छ। त्यहाँका धामीहरूले आआफ्ना समस्या समाधानका निम्ति गएकाहरूलाई म्याद दिएरै समस्या हल गरिदिने आश्वासन दिन्छन्। 

घटालको महिमा

देउताको प्रभाव र शक्तिलाई कसैले चुनौती दिए भने मूल धामीले आफूले बालुवा खानुका साथै अरू धामीलाई पनि बालुवा खुवाएर शक्ति देखाउने गर्छन्। स्थानीयबासीहरू धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गरेको विश्वास गर्छन्। धामीहरूले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भन्ने किंवदन्ती स्थानीय रूपमा प्रचलित छ। 

मुखभरीको बालुवा पानीसँगै घुटुघुटु निल्दा पनि दैवी शक्तिकै कारण कुनै स्वास्थ्य समस्या नदेखिएको धामीहरूले दाबी गर्ने गर्छन्। आफ्नो मनोकामना पूरा भएकाहरूले यहाँ बोकाको बलि दिन्छन्।

किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ। 

पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहेको पाइन्छ। खडेरी परेको वर्ष स्थानीयबासीले पानी देऊ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशिलाको प्वालमा हाल्छन् र वर्षाको कामना गर्छन्।

घटाल देवताको उत्पति कहिले र कुन अवस्थामा भयो भन्ने कुरामा एक मत नभए तापनि महाभारतमा वर्णित भीमपुत्र घटोत्कच, यहाँ जुन देवताको रूपमा पूजित छन्, तिनको स्थान पहिले हालको घटाल भन्ने ठाउँमा थियो भन्ने किंवदन्ती रहेको छ। 

घटाल मसानमा बस्ने हुँदा त्यस ठाउँमा सधैँ मूर्दा जलाउने गरेको भनाइ छ। बुढी घटाल नजिक हाटा गाउँमा धेरै पहिले एउटी वृद्धा ब्राह्मणी बस्दथिन्। उनी सधैँ डोटी खोलामा नुहाई देवताको पूजा पाठ गरी नित्य मध्याह्नमा भोजन गर्ने गर्थिन्। प्रत्येक दिन त्यस ठाउँमा मूर्दा जलाउने गरेको समयमा पूजा पाठ र भोजन गर्ने कुरामा बाधा पर्न गएको रहेछ। एक दिन तिनले घटाल देवताको आह्वान गरिछन्।

घटाल देवताले तिनलाई परेको असुविधालाई महसुस गरी त्यहाँबाट हाल रहेको ठाउँ एकान्त स्थल हुँदा त्यहींँ बसोबास गरेका छन्। त्यहीँ बगेर आएको घट्टको चक्कामा पूजा गर्ने र बलि दिने प्रचलन आएको छ। 

घटाल देवताले साक्षात शक्ति देखाएका थुप्रै उदाहरणहरू छन्। यिनलाई भीमसेन पत्र घटोत्कच तथा कसैले शिवको रूपमा लिन्छन्। जे भए पनि यी मसानबासी ठूला देउता हुन् भन्ने कुरामा यहाँका भक्तजनहरू विश्वस्त छन्। 

घटाल बाबालाई अनिकाल, रोगव्याधी र प्राकृतिक प्रकोपबाट जोगाउने देउताका रूपमा पनि लिइन्छ। विगतमा जबजब खडेरी परेर अनिकालको अवस्था आयो, त्यति बेला पानी माग्न खलंगासमेत विभिन्न गाउँबस्तीका किसान यही घटालथानमा भेला हुने गर्थे भन्ने जनविश्वास रहेको छ। ‘घटालका धामी कमाएर पानी माग्ने गरिन्थ्यो, घटाल प्रसन्न भएर पानी दिन्थे अर्थात् खेतीपातीलाई पुग्ने वर्षा हुन्थ्यो। यो चलन अझै पनि कायमै रहेको छ’, घटालका पुजारी दुर्गादत्त भट्टले भने।

धार्मिक ग्रन्थमा घटना 

द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डवबीचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम प्रदर्शन गरेका थिए। उनले कौरव सेनामाथि धावा बोलेर ठूलो क्षति पुर्‍याएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।

लडाइँको मैदानमै वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कली युगमा ख्यातिप्राप्त भगवानका रूपमा मान्यता पाउने वरदान दिएको परापूर्वकालदेखिको भनाइ रहेको छ। सदियौँदेखि त्यही मान्यताअनुरूप घटाल बाबालाई यस क्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेका घटालका पुजारी भट्टले जानकारी दिए। 

हरेक वर्ष भव्य मेला 

यो धार्मिक स्थल घटाल बाबा भीमसेन पुत्र घटोत्कचका लागि प्रसिद्ध छ किनकि यसको दर्शन गरेपछि सोचेको कुरा पूरा हुने जनविश्वास रही आएको छ। यहाँ  हरेक वर्ष बैशाख २ गते, वडा दशैँ र कार्तिक शुक्ल चतुर्दशीमा मेला लाग्ने गर्छ। 

यी मेलाहरू बैशाख, असोज र कार्तिक महिनामा लाग्छन्। यी जात्रामध्ये बैशाख १ गते घटालको सम्पति (देउरो) असिग्राम मन्दिरमा लगेर पूजा गर्ने, बैशाख २ गते देउरोलाई घटालथानमा ल्याएपछि भव्य मेला लाग्छ। 

श्रद्धालु भक्तजनहरू यी शक्ति सम्पन्न देवताप्रति अपार श्रद्धा र भक्ति प्रकट गर्छन्। घटालको गरगहना चम्साल भन्ने गाउँमा राखिने तथा त्यहाँका बासिन्दा भरिया हुने व्यवस्था छ। पूजाको दिनमा देउरोको साथमा धामी झाँक्रीहरू नाचेर बाजागाजाका साथ घटालस्थलमा पूजा सामग्री लगेर पूजा तथा जात्रा सिध्याएपछि पुनः भण्डारमा फिर्ता ल्याउने परंपरा छ। यहाँका स्थानीयहरू घटाल देवताको पूजा गरेपछि पानी पर्ने विश्वस गर्छन्। 

यस मन्दिरमा विशेषगरी शनिबार र मंगलबार दैनिक सय बढी तीर्थालुहरू आउने गर्छन्। मेला भर्नका लागि हजारौँ तीर्थालुहरूको जमघट हुन्छ यहाँ। 

नेपालको नक्सामा घटालथान मन्दिर २९.२९ डिग्री उत्तर र ८०.४८ डिग्री पूर्वमा छ। घटाल क्षेत्र विकास समिति बनेसँगै घटाल क्षेत्रको संरक्षण र प्रवर्द्धनमा काम गरिरहेको अध्यक्ष गणेश भण्डारीले बताए।

जीर्ण बनेको पिङ पुनःनिर्माण, भत्केका पर्खाल बनाउने, घटाल बाबाको मूर्ति मात्रै रहेको गाड वरिपरि पर्खाल लगाई संरक्षण, खोला तर्न पुल, पिकनिक घर बनाई पर्यटकका लागि विश्राम स्थल पनि निर्माण गरिएका छन्। उनले भने, ‘घटालथान पुगनेहरूका लागि समितिले केही आचारसंहिता पनि बनाएर निरन्तर रूपमा खटिई काम गरिरहेको छ।’

असिग्राम क्षेत्रमा ऐतिहासिक ढुंगाका देवलहरू पनि रहेकाले पार्क निर्माणको काम पनि समितिले गर्दै आएको वडा अध्यक्ष गोविन्द बोहराले बताए। घटालथान धार्मिक शक्ति पीठसँगै रमाइला दृश्य र ऐतिहासिक जीवित संरचनाहरू पनि रहेकाले अध्ययन, अवलोकन र मनोरम रहेको उनको भनाइ छ।

घटाल बाबाको स्नान परशुराम धाममा

सूर्य ग्रहणका दिन उपयुक्त तिथि र अनुकूल समय मिलाएर घटाल बाबाको स्नान गर्ने समारोह आयोजना हुने गरेको छ। 

स्नान कार्यक्रम डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने महाकाली किनारको परशुराम धाममा हुने गरेको हो। स्नान गर्न जाँदा घटाल बाबाले भित्री मधेसमा सात सुप्पा बालुङ्गो खाएकाले हाल त्यस ठाउँको नाम नै सात सुप्पे राखिएको छ।

‘घटालका सम्पूर्ण सुनचाँदीबाट बनाइएका विभिन्न वस्तु र गहना तथा भक्तजनले चढाएका बहुमूल्य वस्तुहरू घटालथान नजिकै चम्सालमा रहेको देवघरमा राखिएको छ’, पुजारी भट्टले भने, ‘स्नानका बेला ती सबै बस्तुसहित स्थानीयबासी, धामीहरूको लर्कोसहित पैदलै चुरे पहाड पार गरी परशुराम धाम पुगेर स्नानपछि फर्किने गरिन्छ। यो स्नान यात्रा करिब एक साताको हुन्छ।’

हाल पनि घटाल बाबाले बैशाख २ गते विसु मेला (जाँत)का दिन र स्नान गर्न जाँदा बालुङ्गो खाने गर्दछन्। घटाल बाबालाई बलि दिनका लागि यहाँ भारतदेखि पूर्व मेची अनि पश्चिम महाकालीसम्मका मानिस पूजाआजा गर्न आउँछन्।

म्युजिक भिडियो छायांकनका लागि रोजाइको ठाउँ घटालथान

पछिल्लो सुदूरपश्चिममा नेपाली चलचित्र र म्युजिक भिडियो छायांकन गर्ने क्रम बढेको छ। डडेल्धुरालगायत सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाहरूमा रहेका सुन्दर एवं रमणीय पर्यटकीयस्थलमा म्युजिक भिडियो तथा चलचित्र छायांकन हुने क्रम बढेको छ। 

अहिले विशेषगरी जिल्लाको मुख्य पर्यटकीय क्षेत्र तथा प्रसिद्ध ‘घटालथान’ मन्दिर चलचित्र तथा म्युजिक भिडियो छायांकनका लागि रोजाइको ठाउँ बन्ने गरेको छ। 

‘घटालथान’मा किसान नेता भीमदत्त पन्तको जीवनीमा आधारित भएर बनेको राष्ट्रियस्तरको ऐतिहासिक नेपाली चलचित्र ‘भीमदत्त’, ‘कमलेको बिहे’लगायतका चलचित्रहरू छायांकन भएका छन्।  

म्युजिक भिडियो छायांकन गर्न डडेल्धुरा पुगेका गायक गोपाल सूचीकारले यहाँका रमणीय दृश्यहरूले आफूलाई पहिलेदेखि नै आकर्षित गरेका हुनाले आफ्नो गीतको म्युजिक भिडियो डडेल्धुरामै छायांकन गरेको बताए। ‘डडेल्धुरामा थुप्रै रमणीय पर्यटकीय क्षेत्र छन् भन्ने थाहा थियो’, उनले भने, 'यही भएर आफू पनि यहाँ म्युजिक भिडियो छायांकन गर्न आएको हुँ।’ 

यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरू प्रचार प्रसारको अभावले ओझेलमा पर्दै गइरहेका हुनाले पर्यटन प्रवर्द्धनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ म्युजिक भिडियो डडेल्धुरामै छायांकन गरेको गायक सूचीकारको भनाइ छ। म्युजिक भिडियो छायांकनका लागि घटालथान मन्दिर पनि उत्तम स्थान भएको उनको ठम्याइ छ।

डडेल्धुरामा छायांकनका लागि अन्यन्तै राम्रा दृश्य समेट्न सकिने ठाउँ भएको र पर्यटकीय हिसाबले पनि उच्चसंभावना बोकेको जिल्ला भएको पर्यटन व्यवसायी सुदाम थापा बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.