|

सोलुखुम्बु : सोलुदूधकुण्ड नगरपालिका ९ का वडा अध्यक्ष अधिकांश समय विदेशमा रहँदा सेवा प्रवाहमा समस्या भएको वडा सदस्यले बताएका छन्। वडा अध्यक्ष काजी शेर्पा आफ्नो पर्यटन व्यवसायका लागि अघिल्लो वर्ष पनि अष्ट्रिया गएको र यो वर्ष पनि अष्ट्रिया जना लागेको भन्दै महिला वडा सदस्य आङ फुर्वा शेर्पाले आपत्ति जनाएकी हुन्।

वडा अध्यक्ष गाउँमा नहुँदा कार्यवाहक अध्यक्षले काम संचालन गर्दा प्रभावकारी काम गर्न नसकेको वडा सदस्य शेर्पाको भनाइ छ। 'अघिल्लो वर्ष कार्यवाहक अध्यक्ष भएर काम गरे।' सदस्य शेर्पाले भनिन्, 'कार्यवहाक अध्यक्ष भएर काम गरिरहँदा स्थानीयले अध्यक्ष हुनु पर्ने माग गरे।'  वडा अध्यक्ष नहुँदा महत्वपूर्ण निर्णय गर्न समस्या हुने उनले बताइन्।

यता वडा अध्यक्ष काजी शेर्पाले आफू १७ वर्षदेखि पर्यटन व्यवसायमा लागेकोले पर्यटनकै कामका लागि अष्ट्रिया जान लागेको बताए। 'अब ४–५ दिनमा अष्ट्रिया जाने फिक्स भएको छ', वडा अध्यक्ष शेर्पाले भने, 'तर वडाको कुनै पनि काम प्रभावित हुदैन।'

तालाबन्दीको चेतावनी

वडा सदस्य शेर्पाले फेरि पनि वडा अध्यक्ष विदेश गए स्थानीय युवाले वडा कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएको बताइन्। 'फेरि यो वर्ष पनि विदेश जान लाग्नुभएको छ, जनप्रतिनिधि भएपछि व्यवसायभन्दा बढी जनताको सेवामा लाग्नुपर्ने हुन', वडा सदस्य शेर्पाले भनिन्, 'यहाँका युवाले वडा अध्यक्ष आफ्नो व्यवासय भन्दै विदेश जाने हो भने तालाबन्दी गर्नेसम्मको चेतावनी दिएका छन्।'

तर वडा अध्यक्ष काजी शेर्पाले भने महिला सदस्यले कार्यवाहक अध्यक्ष नपाएको आवेगमा आफूमाथि आरोप लगाएको जिकिर गरे। आफ्नो पेसा पर्यटन व्यवसाय भएको र त्यसको सिलसिलामा आफू विदेश जान लागेको अध्यक्ष शेर्पाको भनाई छ। आफूले विदेशमा रहेको समयमा कुनै पनि तलबभत्ता नलिएको भन्दै आफ्नो वडामा विकास निर्माणदेखि अन्य काममा कुनै पनि किसिमको ढिलासुस्तीसमेत नहुने दावी गरे।

भोट माग्दा नै विदेश बस्छु भनेको थिएँ : वडा अध्यक्ष

वडा अध्यक्ष शेर्पाले निर्वाचनको बेला तीन महिना आफू विदेशमा बस्ने भनेर जनतामाझ भनेको दावी गरे। आफूले जनतालाई कुनै पनि भ्रममा नपारेको अध्यक्ष शेर्पाले दाबी गरे। 'अरूले एक वर्षमा गर्ने काम मैले सात महिनामानै सक्छु' शेर्पाले भने, 'तीन महिना विदेश जान्छु भनेर निर्वाचनको बेलै भनेको हो। मसँग जनता सन्तुष्ट छन्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.