सिमानामा त्रास साम्य पार्न अहोरात्र 'पेट्रोलिङ'

|

काठमाडौं : द्वन्द्वग्रस्त देश लेबनान र इजरायललाई छुट्याउन संयुक्त राष्ट्रसंघले एक सय २० किलोमिटर रेखा (ब्लु लाइन) कोरिदिएको छ। त्यो ब्लु लाइन सिमाना छुट्याउने आधिकारिक सिमाना होइन। तर दुवै देशले त्यस रेखाबाट अघि नबढ्ने कबुल संयुक्त राष्ट्रसंघसमक्ष गरेका छन्।

जम्मा ब्लु लाइनको १५ किलोमिटर रेखदेख गर्ने जिम्मेवारी नेपाली सेनाले लिएको छ। त्यही ब्लु लाइन वरपर संयुक्त राष्ट्रसंघको म्याण्डेड बिपरित हुनसक्ने गतिविधि रेखदेख तथा नियन्त्रण गर्ने मुख्य जिम्मेवारी नेपाली सेनाको हो। 

यी दुई देशलाई युद्धबाट टाढा राख्‍न राष्ट्रसंघले ४२ देशका सेनाहरू लेबनानमा खटाएको छ। त्यही ४२ राष्ट्रमध्ये नेपाली सेना पनि लेबनानमा खटिँदै आएको छ। संयुक्त राष्ट्रसंघले छुट्याएको १५ किलोमिटर क्षेत्र नेपाली सेनाको मुख्य जिम्मेवारी हो। ती क्षेत्रमा पनि केही यस्ता खतरापूर्ण क्षेत्र छन् जसलाई 'हट स्पट' भनिन्छ। त्यही हटस्पटको सुरक्षा गर्ने, खतरा हुन लागेमा नियन्त्रण गर्ने काम नेपाली सेनाको हो।

शान्ति स्थापनार्थ लेबनानमा खटिएको नेपाली सेनाको बटालियन जसलाई 'नेप–ब्याट' भनिन्छ। नेप-ब्याटको मुख्यालय मेस एल जाबेलमा छ। मुख्यालय बाहेक लेबनान र इजरायलको सीमा नजिक आठवटा नेपाली सैनिक पोस्ट खडा गरिएका छन्। जसमा मुख्यालय र पोस्टमा गरेर जम्मा ८ सय ५० जना नेपाली सैनिक लेबनानमा शान्ति स्थापनार्थ खटिँदै आएका छन्।

विशेषतः सातवटा सुरक्षा सेन्ट्रि पोष्टबाट त्यहाँ हुने गतिविधिहरू नेपाली सेनाले मनिटरिङ गर्ने गर्दछ। त्यस क्षेत्रमा साना चराहरू पाइन्छन्। चरा पाइने सिजनमा  सिकारीहरू हतियारसहित आउने हुनाले त्यस समयमा बढी सतर्क हुनुपर्ने नेपब्याट ५९ अौं दफा (बरख गण शा.से.) का बटालियन कमाण्डर गणपति प्रमुख सेनानी नारायण बहादुर थापाले बताए। 'सिकारीहरू हतियारसहित चरा मार्न आउँछन्। त्यहाँ आउने सिकारीहरूलाई ब्लुलाइन आइसपासमा सिकार गर्न दिन्नौं', उनले भने 'युएनको झण्डा देखाएर उनीहरूलाई रोक्ने, स्थानीय लेबनिज आर्म फोर्स र स्थानीय समुदायसँग समन्वय गरेर पछाडि हटाउने गर्छौं। कुनैपनि गतिविधि नहोउन् भनेर हामी एकदमै सतर्क रहन्छौ।'

नेप–ब्याटको मुख्यालय र बाहिर रहेका सबै पोस्टमा सुरक्षाका लागि बंकर निर्माण गरिएका छन्। संवेदनशिल क्षेत्र भएका कारण जुनसुकै बेला जे पनि हुनसक्छ। त्यस अवस्थालाई मध्यनजर गरेर धेरै बंकर बनाइएका छन्। केही बंकर स्थानीयका निम्ति छुट्याइएको नेपाली सेनाका सेनानी शिव बस्नेतले जानकारी दिए।

शेख अब्बास टम

नेपाली सेनाको मुख्यालय रहेको ठाउँभन्दा केही पर (पूर्व) एउटा पोस्ट छ। जसको आडैमा एउटा चिहान छ। जसलाई शेख अब्बास टम भनेर चिनिन्छ। उक्त चिहानको बीच भागबाट ब्लु-लाइन कोरिएको छ। चिहानको आधा भाग लेबनानमा र आधा भाग इजरायलमा पर्छ। एउटै चिहानमा पनि समयको एकरूपता छैन।

दुवै देशले एउटै चिहानलाई आफ्नो धर्म गुरुको भएको दाबी गर्दै आएका छन्। जो दुई व्यक्ति हुन्। लेबनानले करिब पाँच सय वर्षअघि आफ्ना धर्मगुरु शेख अब्बादलाई गाडिएको भनेर दाबी गर्दै आएको छ। उनी लेबनानको साउथ क्षेत्रमा बस्ने मुस्लिम धर्मगुरू थिए भन्ने विश्वास उनीहरूले गर्दै आएका छन्।

ठीक त्यसैगरी इजरायलले पनि उक्त्त चिहानलाई आफ्नो धर्मगुरू रवि आइशीको भनेर दाबी गर्दै आएको छ। जुइस कम्युनिटिहरूले १ हजार ६ सय वर्षअघि आफ्ना धर्म गुरु रवि आइशीलाई गाडिएको भनेर उनीहरूले विश्वास गर्दै आएका छन्।

चिहान लेबनानको उच्च स्थानमा छ। जो लेबनानको सबैभन्दा अग्लो (३ हजार मिटर) स्थान पनि हो। अग्लो भूभागमा भएका कारण त्यस क्षेत्रबाट लेबनान र इजरायलको धेरै भूभाग प्रष्ट रूपमा देख्न सकिन्छ।

चिहानसँगै जोडिएर इजरायल डिफेन्स फोर्स (आइडिएफ)को फोर्स रहेको छ। त्यसैले चिहान हेर्न संयुक्त राष्ट्रसंघको झण्डा नफराइकन अनुमति छैन। त्यही पनि एक पटक ४ वा ६ जना भन्दा बढी जान पाइदैन भने फोटो वा भिडियो खिच्न अनुमति दिइएको छैन। चिहानमा धेरैबेर बस्न पाइँदैन।

चिहान हेर्न जान दुइवटा बाटो छन्। एउटा नेपाली सेनाको पोस्टभित्रबाट र अर्को बाहिरतिरबाट। सर्वसाधारणले बाहिरको बाटो र राष्ट्रसंघका पाहुनाले नेपाली सेनाको पोस्टतिरको बाटो प्रयोग गर्ने गर्छन्।

आइडिएफको पोष्ट चिहानसँगै सटेको हुनाले त्यतातर्फ फोटो खिच्न वा भिडभाड गर्ने अनुमति नभएको नेपाली सेनाका सहसेनानी खेमप्रसाद ढकालले जानकारी दिए। 'यो चिहान रहेको ठाउँ एकदमै संवेदनशील क्षेत्र मानिन्छ। चिहानसँगै आइडिएफको पोष्ट पनि रहेको छ। त्यसैले त्यहाँ फोटो वा भिडियो खिच्न पाइँदैन', उनले भने 'टम हेर्न पनि युएनको झण्डा लिएर एकपटकमा ४ जना वा ६ जना मात्रै जान पाइन्छ।'

कहिलेकाहीँ चिहान हेर्न जाने केही सर्वसाधारणले धार्मिक मान्यताअनुसार इजरायलतर्फ ढुंगाले हिर्काउने समेत गर्ने गरेको नेप-ब्याट ५९ औं दफा (बरख गण)का गणपति प्रमुख सेनानी थापाले बताए। त्यो अवस्था इजरायली सेना पनि हतियार समातेर एक्सनमा बसेको हुनाले स्थिति तत्काल तनावपूर्ण हुनसक्ने थापाले बताए। शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाले सर्वसाधारणलाई सम्झाएर फर्काउने र स्थिति सामान्य अवस्थामा ल्याउने गरेको छ।

शोहेब वेल

शोहेब वेल एउटा इनार हो। जोसँग दुवै देशको भावनात्मक सम्बन्ध जोडिएको छ। लेबनानको पूर्व क्षेत्रमा पर्ने मेस एल जाबेल नजिक शोहेब वेल(इनार) छ। जो लेबनान र इजरायलको ठ्याक्कै सिमानामा पर्छ। जुन ठाउँलाई बिलिडा क्षेत्र भनिन्छ। शोहेब वेल पनि लेबनानको हट स्पट हो जुन क्षेत्रको शान्ति सुरक्षाको जिम्मेवारी नेपाली सेनाको जिम्मेवारीमा छ।

इनारको तिन वटा मुख छन्। जो संयुक्त राष्ट्रसंघले कोरेको ब्लुलाइनले इनारको एउटा मुख लेबनानतिर पर्छ भने दुईवटा मुख इजरायलतिर पर्छ। सीमारेखाको एकातर्फ इजरायली सेनाको उपस्थिति छ भने अर्कोतर्फ लेबनानी सेनाको पोष्ट छ। जुन क्षेत्रमा नेपाली सेनाले पनि लेबनानी सेनासँग मिलेर संयुक्त पेट्रोलिङ गर्दै आएको छ।

इनार हेर्न जानेहरू राष्ट्रसंघको निलो झन्डा नफहराइकन इनारसम्म पुग्न सकिँदैन। झन्डाबिना इनारमा पुगे कताबाट गोली आउने हो थाहा हुँदैन। इनारको आसपासमा कुनैपनि गतिविधि गर्न मनाही छ।

सयौं वर्षअघि आफ्ना गुरुहरूले उक्त इनार प्रयोग गरेको भन्ने दुवै देशले दाबी गर्दैआएका छन्। त्यहाँ गएर त्यहाँको पानी छोएमा वा खाएमा मनोकामना पुरा हुने उनीहरूको धार्मिक आस्था रहेको छ। कतिपयले त सन्तानको इच्क्षा हुने विश्वास समेत राख्ने गरेको छन्। अहिले इनारमा पानी छ/छैन थहा छैन्। तर इनार दुवै देशले दाबी गरेपछि युएनले ब्लुलाइन कोरेर दुवै देशतर्फ पारेको हो।

इनारको केही पर अग्लो ढिस्कोमा नेपाली सैनिक र लेबनिज आर्म फोर्सको संयुक्त पोस्ट रहेको छ। सोही पोस्टबाट उनीहरूले ब्लु लाइन र इनार वरपर हुने गतिविधि अवलोकन गर्ने गर्छन्। त्यस अवपर संयुक्त राष्ट्रसंघको झण्डा बिना कसैलाई जान अनुमति छैन। युएनको म्याण्डेडबिपरित कसैले गतिविधि गर्न लागे उनीहरूले रोक्ने वा सचेत गराउँछन्।

जैतुन बारी

लेबनान–इजरायल ब्लु लाइन क्षेत्रमा जैतुन (ओलिभ) खेती छन्। जसलाई ब्लिडा क्षेत्र भनिन्छ। बिलिडा क्षेत्रमा १२ वटा जैतुन (ओलिभ)को खेती छ, ब्लुलाईनले जसको केही भाग लेबनान त केही इजरायलमा पारेको छ।

खासगरी यस क्षेत्रमा जैतुन गोडमेल वा टिप्ने बेलामा स्थिति तनावपूर्ण हुने गर्दछ। ब्लुलाइनले जैतुनबारी काटेको हुनाले जैतुन टिप्दै जाँदा कतिबेला ब्लु लाइन काटिन्छ किसानले भेउ ने पाउन सक्दैनन्। जुन समयमा नेपाली सेनाले अन्य अवस्था भन्दा बढी निगरानी बढाउनुपर्ने हुन्छ।

जैतुन टिप्नेबेला किसाले ब्लु लाइन पार गर्न लागेमा नेपाली सेनाले तत्काल सतर्क गराउँदै आएको नेपब्याट ५९ औं बटालियन कमाण्डर प्रमुख सेनानी थापाले जानकारी दिए। 'जैतुन गोडमेल वा टिप्ने बेलामा यहाँ किसानहरूको बढी मुभमेन्ट बढ्ने गर्छ। जुनबेला हामीले अझ बढी सतर्कता अनाउनुपर्छ', थापाले भने ' जैतुनबारी एकदमै संवेदनशील क्षेत्र मानिन्छ। जुन क्षेत्रमा हामीले निरन्तर पेट्रोलिङ गर्छौ। १२ वटा जैतुन बारी छन्। विभिन्न अपरेशनल गतिविधिहरू सञ्चालन गर्छौं। कुनैपनि गतिविधि घटेमा तत्काल स्थानीय जनता, स्थानीय सरकार र लेबनिज आर्म फोर्ससँग समन्वय गरेर स्थितिलाई सामान्यीकरण गर्न काम गर्छौ।'

संयुक्त राष्ट्रसंघले बनाएको 'ब्लु लाइन'को विभिन्न ठाउँ-ठाउँमा ‘ब्लु ब्यारेल’ (खम्बा) बनाइएको छ। नेपाली सेनाको जिम्मेवारी क्षेत्रभित्र ६६ वटा ब्लु ब्यारेल पर्छन्। तर केही ब्यारेल अझै बन्न बाँकी छ। इजरायलले ब्लु लाइनमा काँडे तारको बार र अत्याधुनिक उपकरण जडान गरेको छ। ब्लु लाइन वरपरका गतिविधि नियाल्न अत्याधुनिक क्यामेरा लगायतका उपकरण इजरायलले जडान गरेको छ। लेबनानतर्फबाट सानो कुकुर वा विरालो मात्रै प्रवेश गरेपनि उनीहरू सजिलै पत्ता लगाउन सक्छन्।

इजरायलसँग जोडिएको लेबनानको सीमामा हज्बुल्लाहको प्रभाव बढी छ। खासगरी लेबनानको दक्षिण–पूर्वी भागमा हेज्बुल्लाहको राम्रो पकड भएको मानिन्छ। उनीहरूको आफ्नै सेना पनि छ तर राजनीतिक रूपमा पनि उनीहरूले सेना भएको स्वीकार्दैनन्। राज्यले पनि अर्को छुट्टै सेना नभएको बताउँदै आएको छ। तर लेबनानमा हजबुल्लाहको सेना हजारौंको संख्यामा रहेको अनुमान गरिन्छ।

हेज्बुल्लाह लडाकुले कहिलेकाहीं ब्लु लाइन नजिकबाट इजरायलतर्फ रकेट प्रहार गर्छन्। जवाफमा तत्कालै जहाँबाट रकेट प्रहार गरिएको हो त्यहीं ठाउँमा इजरायलले मिसाइल हान्छ।

लेबनान र इजरायल पटक-पटक युद्धमा होमिएका छन्। पछिल्लोपटक यी दुई देशबीच सन् २००६ मा युद्ध भएको थियो। हज्बुल्लाहले ब्लु लाइन पार गरी तीन इजरायली सैनिकको हत्या र अन्य दुईको अपहरण गरेपछि दुई देशबीच युद्ध भएको थियो। इजरायलले लेबनानको राजधानी बेरुतसम्म हवाई आक्रमण गरेको थियो। जुन युद्धमा एक हजार एक सयभन्दा बढी लेबनानीको मृत्यु भएको थियो।

पछि राष्ट्रसंघको मध्यस्थतामा युद्ध रोकिएको थियो। जुन क्षेत्रमा अहिले राष्ट्रसंघ शान्ति स्थापनार्थ खटिँदै आएको छ। सन् १९४८ को अरब इजरायल युद्धदेखि नै राष्ट्रसंघले शान्तिरेखा (ब्लु लाइन) कोरिदिएपछि त्यहाँको कतिपय ठाउँमा दुवै देशले आ-आफ्ना दाबीहरू गर्दै आएका छन्। 

लेबनान एशियाको सुन्दर मुलुक हो। विशेषतः सिया मुस्लिम बाहुल्य रहेको यो देशलाई एशियाको युरोप भनेर समेत चिनिन्छ। तर इजरायलसँगको आन्तरिक द्वन्द्व र आन्तरिक जातीय द्वन्द्वका कारण यो देशलाई युद्वग्रस्त देशका रूपमा संयुक्त राष्ट्रसंघले ४२ देशका शान्ति सेनाहरू शान्ति स्थापनार्थ खटाउँदै आएको छ।

इजरायलले लेबनानसँग जोडिएको सिमानामा वाल लगाउने क्रम जारी छ। सिमानाका थुप्रै त्यस्ता स्थान छन् जहाँ विवाद छ। त्यसकारण वाल लगाउदै जाँदा विवादित ठाउँमा लेबनानसँग समन्वय नगरेमा पुनः द्वन्द्व निम्तिन सक्ने खतरा छ।

(लेबनानबाट फर्किएपछि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.