|

मनाङ : मौसम खुलेका हिउँदका दिनहरू चारैतिर दन्तलहरझैं हिमाल टलक्क देखिन्छन्। सूर्योदयको समयमा सेता टाँकुरामा देखिने बिहानी किरण। संसारकै अग्लो ५ हजार ४ सय १६ मिटर उचाइको हिमाली भन्ज्याङ थोराङ्ला चढ्न थोराङ फेदी उक्लँदै गर्दा पर्यटकले चारैतिर हिमाल देख्छन्। उनीहरू संसारकै सुन्दर ठाउँमा पुगेको आभाष गर्छन्। ‘५ देखि ६ घण्टाको उकालो चढेपछि थोराङ्ला पुग्नेबित्तिकै एकअर्कामा अंकमाल गर्छन्। खुसीले रुन्छन्  अनि एकअर्काको आँसु पुच्छन्। उनीहरू आफैंलाई भाग्यमानी ठान्छन,’ पर्यटक पथप्रदर्शक युवराज अधिकारीले भने, ‘ट्रेकिङमा आउने उनीहरूका लागि यो ठूलो सफलता हो। पदयात्राको सौखिनका लागि थोराङ्ला चढ्नु प्रतिष्ठाको विषय हो।’

उनका अनुसार पदमार्गमा आउने पर्यटकको एउटै उद्देश्य हुन्छ, हिमाल हेर्ने र पदमार्गको अग्लो भन्ज्याङ थोराङ्ला पास गर्ने। सेप्टेम्बर, अक्टोबर र नोभेम्बर मौसम खुल्ने भएकाले उनीहरू यही समय हिमाली क्षेत्र घुम्न आउँछन्। त्यसपछि मार्च, अप्रिल, मे महिना पर्यटकीय सिजन हो।

मनाङका पर्यटन व्यवसायी एवं पूर्व श्रमराज्यमन्त्री टेकबहादुर गुरुङका अनुसार पर्यटक शान्त वातावरण चाहन्छन्। मानवसिर्जित बन्द र अवरोध मन पराउँदैनन्। ‘हाम्रो देशमा बन्द हडतालहरू भएका बेला टुरिस्ट आउन घटेका थिए, अब बढेका छन्,’ उनले भने, ‘हाम्रो अर्थतन्त्रलाई बलियो पार्न पर्यटकलाई भित्र्याउने वातावरण हुनैपर्छ।’ सबै पर्यटक हिमाल हेर्न रुचाउने उनले बताए। ‘बिहान उठ्दा होस् या साँझ सुत्दा होस। चिया खाँदा होस या थकाइ मार्दा होस् उनीहरू हिमाल देखियोस भन्ने चाहन्छन्,’ उनले भने।
यस क्षेत्रमा पर्यटक आगमनको तथ्यांक अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले राख्ने गरेको छ।  एक्याप मनाङको धारापानी चेकपोस्टका अनुसार सन २०१७ मा २७ हजार ६८ पर्यटकले मनाङ बाटो भएर चक्रीय अन्नपूर्ण पदमार्गमा भित्रिएका थिए। सन् २०१८ को नोभेम्बर २० सम्म २७ हजार ८ सय बढी पर्यटक भित्रिसकेको धारापानी चेकपोस्टकी पर्यटन सहायक सोमी गुरुङले बताइन्। चक्रीय अन्नपूर्ण पदमार्ग भ्रमणका लागि विदेशी पर्यटकलाई सन १९७७ बाट खुला गरिएको हो। १९९६ देखि एक्यापले चक्रीय अन्नपूर्ण पदयात्रामा आउने विदेशी पर्यटकको तथ्यांक राख्न थालेको हो।
चक्रीय अन्नपूर्ण पदमार्ग पैदल घुम्न कम्तीमा १८ दिन र बढीमा २१ दिन लाग्छ। हिमाली फेदमा पुगेपछि उनीहरू एकदिन थकान मेट्छन्। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने भएकाले यहाँ सबै किसिमका वन्यजन्तु तथा जडीबुटी संरक्षित सूचीमा छन्।

एक्याप मनाङका प्रमुख बाबुलाल तिरुवाका अनुसार पर्यटकले हिमालसँगै यस क्षेत्रको प्रकृति हेर्छन्। अन्नपूर्ण दोस्रो, तेस्रो र चौथो साथै जुलु पिक, पिसाङ पिक, नीलगिरि, गंगापूर्ण र तिलिचो पिकलगायत हिमाललाई नजिकैबाट नियल्न सकिन्छ। थोराङ्ला पुगेपछि धौलागिरि र नीलगिरि हिमाल नजिकै देखिन्छन्।
‘तिलिचो ताल प्रमुख गन्तव्यमध्ये एक हो। संसारकै अग्लो ठाउँमा रहेको भनेर चिनिएको तिलिचोले अन्नपूर्ण पदमार्गलाई चिनाएको छ,’ उनले भने। पर्यटक थोराङ पास, लार्के पास र काङ्ला पास गर्न चाहने उनी बताउनु हुन्छ। 

नागबेली मर्स्‍याङ्दी नदी छेउको स्थानीय स्वाद, स्वागतसत्कार, स्थानीय जनजीवन, परम्परा, कला, संस्कार संस्कृतिमा पर्यटक रमाउने गरेको पर्यटन प्रवद्र्धनको पर्यटन व्यावसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बताउँछन्। उनका अनुसार गुम्बा, छ्योर्तेन र पुलपुलेसा हेरेर उनीहरू रमाउँछन्। ‘ठाउँठाउँमा रहेका तालतलैया, डाँफे–मुनाललगायत चराचुरुंगी, नाउर, हिउँचितुवा, मृग लगायत वन्यजन्तुले पर्यटक लोभिन्छन्,’ उनले भने। यस बीचमा पर्यटक मोबाइल र क्यामरामार्फत फोटो अनि भिडियो कैद गर्छन्। इमेल इन्टरनेटमार्फत आफन्तलाई नेपाली प्रकृतिबारे बताउँछन्।
 

चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा काठमाडौं वा पोखरादेखि सुरु हुन्छ। काठमाडौं वा पोखराबाट पहिलो दिन पर्यटक लमजुङको बेंसीसहर बास बस्छन्। त्यसपछि खुदी, बाहुनडाँडा, जगत, धारापानी हुँदै छैटौँ दिनमा चामे पुग्छन्। चामे, पिसाङ हुँदै नवौँ दिनमा मनाङ पुगेपछि उनीहरू एकदिन विश्राम लिन्छन्। त्यसपछि लेदर हुँदै ११ औँ दिनमा थोराङफेदी पुग्छन्। १२ औँ दिनमा थोराङला भञ्ज्याङ पास गरेर उनीहरू मुक्तिनाथ पुग्छन्। यात्राको क्रममा सबैभन्दा धेरै हिँडाइ थोराङ्लाफेदीदेखि मुक्तिनाथसम्म हो। यस बीचमा बस्ने ठाउँ छैन। करिब १० घण्टाको यात्रा गर्नुपर्छ। बीचमा कहीँकतै चियापसलबाहेक खानेकुरा केही पाइँदैन। खानेकुरा र पानी आफैँ लिएर पर्यटक थोराङ्ला भन्ज्याङ चढ्छन्।

अरू समय दैनिक ५ देखि ६ घण्टा हिँडेर दैनिक गन्तव्यमा पुगिन्छ। ठाउँठाउँमा पसलहरू प्रशस्तै भेटिन्छन्। मुक्तिनाथबाट मार्फा र लेते हुँदै १५ औँ दिनमा तातोपानी पुगेपछि कोही म्याग्दी भएर सिधै पोखरा पुग्छन्। कोही तातोपानीबाट पैदलयात्रा घोरेपानी, बिरेठाँटी हुँदै १७ औँ दिनमा पोखरा पुग्छन्न्  र १८ औं दिनमा काठमाडौं पुगेर यात्रा सकिन्छ। पथ प्रदर्शकका अनुसार यी बीचमा १र२ दिन बस्न सक्छन्। यात्रा सकिएको दिन पोखरा वा काठमाडौंमा रमाइलो गर्ने चलन छ।

त्यसो त, मुक्तिनाथ पुगेपछि पनि नाचगान गरी रमाइलो गर्छन्। अहिले हिमाली जिल्ला मनाङको मनाङ गाउँसम्मै मोटर पुगेको छ। जहाँ पर्यटक हिँडेर नवौँ दिनमा पुग्थे। म्याग्दीबाट मुक्तिनाथसम्म मोटर पुगेको छ। पछिल्लो समय मनाङसम्म पर्यटक गाडी चढेर पुग्ने गर्छन्।चामेसम्म गाडीमा चढ्ने र त्यसपछि छोटो समय हिँड्ने गरेका छन्। मुक्तिनाथ पुगेपछि गाडी चढ्नेगरेका छन्। हिँडाइको निरन्तरता नमिल्दा पर्यटकमा बढी थकान हुने र लेक लाग्ने हाइ अल्टिच्युट जस्ता समस्या देखिने गरेको स्वास्थ्यकर्मीहरुले बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.