|

बैतडी : बैतडीका महिलाले डेउडामार्फत् बलात्कारपछि हत्या गरिएको १३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन माग गरेका छन्। बैतडीको पाटनमा १६ दिने लैगिंक हिसाविरुद्धको अभियानअन्तर्गत शनिबार  भएको डेउडा कार्यक्रममा सहभागी महिलाले निर्मलालाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएका हुन्।

निर्मला परिवारले चार महिनासम्म न्याय नपाएको भन्दै यहाँका महिलाले डेउडामार्फत् सरकारलाई दबाब सिर्जना गरेका हुन्। महिलामाथि हुने हिंसाका न्यूनीकरणका लागि बनेका कानुनहरूको कार्यान्वयन गर्न पनि उनीहरूले डेउडामार्फत् आग्रह गरेका छन्।

परोपकार ग्रामीण विकास संघको आयोजनामा भएको डेउडा कार्यक्रममा पाटन नगरपालिकाका विभिन्न छवटा महिला समूहहरूको सहभागिता रहेको थियो। आफूहरूले डेउडामार्फत् महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न र निर्मला पन्तका परिवारलाई न्याय दिनका लागि आग्रह गरेको सहस्त्रलिंग महिला समूहका अध्यक्ष डम्मरी भट्टले बताइन्। सरकारले आफूहरूको आवाज अझै पनि नसुनेकाले देउडा गीतमार्फत् सरकारको ध्यानाकर्षण गराएको उनले बताइन्।

कार्यक्रममा उज्जवल महिला समूह, भूमिराज महिला समूह, उदयदेव महिला समूह, सहस्त्रलिंग महिला समूह, एकता महिला समूह र अनिरुद्र महिला समूहको सहभागिता रहेको थियो। परोपकार ग्रामीण सघका अध्यक्ष जानकी अवस्थीको अध्यक्षता भएको डेउडा कार्यक्रममा पाटन नगरपालिका ६ का वडा अध्यक्ष राजेन्द्र विष्ट प्रमुख अतिथि रहेका थिए।

डेउडा कार्यक्रममा सहभागी महिला समूहहरूलाई प्रति समूह एक हजार ६०० का दरले पुरस्कार प्रदान गरिएको सामाजिक अभियान्ता लोकेन्द्रप्रसाद पन्तले जानकारी दिए।

यसैबीच बैतडीको सूर्नया गाउँपालिकामा पनि लैगिंक हिसाविरुद्धको १६ दिने अभियानअन्तर्गत एकदिने अन्तरक्रिया सम्पन्न भएको छ। गाउँपालिका उपाध्यक्ष लीला विष्टको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अन्तरक्रियामा नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य नरेन्द्र विष्ट, अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष पार्वती भट्ट र महिला शक्ति केन्द्रका अध्यक्ष देवु ठगुन्नाको समेत सहभागिता रहेको थियो। कार्यक्रममा गाउँपालिकाभरीका ४५ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ। यस्तै शनिबार नै वक्तृत्वकला प्रतियोगितासमेत सम्पन्न भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.