|

उदयपुर : एक वर्षअघि मंसिर महिनामा देश प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले तातेको थियो। चुनाव वहिरष्कार गर्ने विभिन्न राजनीतिक समूह निर्वाचन बिथोल्ने प्रचारप्रसचारमा जुटेको थियो भने निर्वाचनमा सहभागी दलहरू उम्मेदवार लिएर भोट माग्दै दौडिएका थिए।

घटना हो त्यही २०७४ मंसिर १३ गतेको। त्यही १३ गते उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ बाट नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई २०७४ निर्वाचनले अपांग बनायो। कार्की मात्र अपांग बनेनन्, कार्कीसँगै रहेकी नेपाल विद्यार्थी संघ उदयपुरकी नेतृ मीरा कटुवाल पनि जीवनभर अपांग बनिन्। निर्वाचन आमसभाको लागि जाँदै गर्दा उदयपुरगढी गाउँपालिका ५ र ६ बीचमा पर्ने दनुवार बेँसी पुग्दा पूर्वसांसदसमेत रहेका कार्की ज्ञात समूहले थापेको विद्युतीय एम्बुसमा परे। प्रत्यक्षदर्शीका अनुसार विद्युतीय धराप विस्फोट हुँदा उनीहरू सवार गाडी करिब १० मिटर माथिसम्म उफ्रिएको थियो। कार्की र कटुवालसहित गाडीमा सवार नौ जनामध्ये चारजना घाइते भए। 

घाइते सबैलाई हेलिकोप्टरबाट काठमाडौँ पुर्‍याइयो। घाइतेमध्ये मीराको तत्कालै खुट्टा काटियो। अनि उनी जीवनभरका लागि अपांग बनिन्। उपचारको क्रममा रहेका कार्कीको पनि उपचारकै क्रममा गएको ०७५ जेठ मा खुट्टै काटियो। २०७० सालको संविधासभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित कार्की पनि अपांग बने। कार्की र कटुवाललाई २०७४ निर्वाचन जीवनभर अविस्ममरणीय बन्यो।

अहिले निर्वाचन सम्पन्न भएको एक वर्ष भइसकेको छ। तर अझै प्रहरी प्रशासनले कसले, किन र को-को भएर विद्युतीय धराप थापे सार्वजनिक गर्न सकेको छैन। २०७४ सालको निर्वाचन वहिष्कार गर्ने शक्तिमध्ये नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एउटा शक्ति थियो। त्यो शक्ति निर्वाचनका उम्मेदवार तर्साउन र धमक्याउने काममा सक्रिया थियो। त्यही तर्साउने क्रममा ज्याने लिने विद्युतीय धरापमा उम्मेदवार कार्की र कटुवाल परेभन्दा फरक पर्दैन।

यता फेरि प्रशासनले विद्युतीय धराप थाप्ने पत्ता नगाउँदा कार्की र कटुवाल अझै पनि अपराधीलाई कारवाही नभएको गुनासो गरिरहेका छन्। ‘प्रशासनले अझै पनि विद्युतीय धराप थाप्ने अपराधी पत्ता लगाउन सकेन,’ मीरा भन्छिन्, ‘हाम्रा अपराधी व्यक्ति किटान गरेर देखाउन नसक्नु प्रहरीले प्रशासनले लुकाएको हो।’

कार्की र कटुवाल भन्छन्, ‘अपराधी को हाे?

विद्युतीय धरापमा परी खुट्टा गुमाएकी मीरा अझै पनि अपराधी पक्राउ नगरेको गुनासो गर्छिन्। ‘दुईजना अपांग हुने गरी विद्युतीय धराप थप्नेलाई पक्राउ नगरिकन प्रहरी प्रशासन बसेको छ,’ कटुवालले भनिन्, ‘जसले हामीलाई विद्युतीय धराप थाप्यो। उनीहरू नै प्रहरी प्रशासनसँग मिलेको छ की भन्ने हाम्रो बुझाई छ।’

निर्वाचन प्रचारप्रसारमै हिँडेको बेला विद्यतीय धराप थाप्ने पक्राउ नपर्दा यही अपराधी भन्न नसकिएको कटुवालको बुझाई छ। ‘सरकारले तुरून्त पक्राउ गरेर यो-यो मान्छे हो भनिदिनुपर्छ,’ उनले पुन भनिन्, ‘यदि सक्दैन भने यहाँ सरकार पनि मिलेकै कारण अपराधी यकिन हुन नसकेको जस्तो लाग्छ। जहाँबाट धराप थाप्न खन्ने कुटो कोदालो लगे। जसको घरमा बसे भन्ने हल्ला आएको छ। ती मान्छेहरू छानबिन नगरिकन कसरी पत्ता लाग्छ होला र?' उनले दोहोर्‍यादै भनिन्, ‘प्रहरी प्रशासनले त्यति पनि गरिदिएन।’

यता सोही विद्यतीय धरापमा परेका पूर्वसांसदसमेत रहेका कार्कीको गुनासो उस्तै छ। उनलाई एम्बुसमा पार्ने समूह अझै पत्ता लागेको छैन। अहिलेसम्म प्रहरीले एम्बुस थाप्ने विप्लव समूह मात्र भन्छ। ‘अहिलेसम्म प्रहरीले यकिन गरेर देखाएको छैन। मलाई एम्बुस थाप्नेलाई प्रहरीले पक्राउ नगर्दा धेरै पिर परेको छ’, उनी थप्छन्, ‘कतै कोहीसँग रिसइवी नभएको मान्छे म। मेरो त यो हालत भयो। अपराधीले सजाय नपाउने? अपराधी दण्डित नहुने? अहिलेको पुलिसले एम्बुस थाप्ने पक्राउ गरिदिएन। एक दुई जना विप्लव समूहको मान्छे पक्राउ गर्‍यो। अनि आरोप लगायो। तर मलाई बम पड्काउने मान्छे देखाएनन्।’ 

उनलाई अझै पनि अपराधी पक्राउ पर्ने आशा चाहिँ छ। ‘प्रहरीले दुई दिन मात्रै अलिक बुझ्ने अफिसरलाई पठाएर अनुसन्धान गर्ने हो भने सबै कुरा खुल्छ’, उनले भने, ‘तर प्रहरीले त्यति पनि गरिदिएन।’

प्रहरी प्रशासन भन्छ, ‘अनुसन्धान गरिरहेका छौँ यकिन गर्छौ’

विद्युतीय एम्बुस काण्डको एक वर्षमा तीन प्रमुख जिल्ला अधिकारी र एक प्रहरी प्रमुख एसपी फेरिसकेका छन्। विद्युतीय एम्बुसपछि प्रजिअ चन्द्रमान श्रेष्ठ तत्कालै गृह मन्त्रालय तानिए। त्यसपछि प्रजिअको रूपमा प्रदीपराज कर्णेल आए। कर्णेल गएपछि प्रजिअका रूपमा विषणु कार्की उदयपुर आएका छन्। यता जिल्ला प्रहरी कार्यालयका तत्कालीन उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्ट थिए।

भट्ट सरुवा भएर गएपछि एसपी चन्द्रदेव राई आइपुगेका छन्। तिनै उदयपुर प्रहरी प्रमुख एसपी राई पनि तत्कालीन नेत्रविक्रम चन्द विप्लव नेतृत्वका केही कार्यकर्ताले विद्युतीय एम्बुस थापेकाले अनुसन्धान भइरहेको बताउँछन। ‘हामीले तत्कालिन विपल्वका उदयपुर सेक्रेटरी केदार राईलगायतलाई नियन्त्रणमै राखेका छौँ,’ उनले भने, ‘त्यसमध्येका केही फरार छन्। तिनलाई पक्राउ गरेपछि यकिन गरेर सार्वजानिक गर्नेछौँ।’ 

यता हालका उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की पनि अनुसन्धान भइरहेको दाबी गर्छन्। ‘तीन चारजना अहिले पनि फरार रहेका छन्,’ प्रजिअ कार्कीले भने, ‘पक्राउ गरेर यकिन गरेपछि मात्र सार्वजानिक गर्ने तयारीमा प्रशासन छ।’

विद्युतीय एम्बुसको सत्य-तथ्य बाहिर आउनुपर्छ : मानव अधिकारकर्मी

ज्यानै लिने गरी थापिएको विद्युतीय एम्बुसको सत्य-तथ्य बाहिर आउनु पर्ने मानव अधिकारकर्मी भरत खड्का बताउँछन्। ‘राजनीतिक मुद्दा जोडिएकाले गहिराइसम्म अनुसन्धान नभएकाले पत्ता लाग्न नसकेको हो,’ खड्काले भने, ‘विप्लव समूहले गरेको भन्ने पनि छ। तर सत्य-तथ्य छानबिन भएर दोषीलाई कारवाही गर्नु पर्छ।’ 

के के भयो अहिलेसम्म?

२०७४ मंसिर १३ गतेको विद्युतीय एम्बुसको काण्डमा १५ गते प्रहरीले मोटरसाइकलसहित एम्बुस थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका ७ शाही खोलाका बलबहादुर मगरलाई पक्राउ गर्‍यो। त्यसपछि नेत्रबिक्रम चन्द विप्लव नेकपा उदयपुरका सेक्रेटरी केदार राईलगायतका नेता कार्यकर्ता पक्राउ गर्‍यो। तर पनि अझै फरार रहेको भन्दै प्रहरीले यकिन गरेर दोषी सार्वजानिक गर्न सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.