|

लहान : सिरहाको दुई छुट्टाछुट्टै ठाउँमा पछिल्लो दुई दिनको अवधिमा भएका सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सिरहाको कर्जन्हा नगरपालिका २ जुलेबी टोलमा शनिबार बिहान ट्याक्टरले ठक्कर दिँदा स्थानीय ८० वर्षीया वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार तीव्र गतिमा रहेको ना.६ त ४१८४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएकी ८० वर्षीया कृष्णमाया खतिवडाको उपचारको क्रममा मृत्यु भएको हो।

ट्याक्टरको ठक्करले गम्भीर घाइते भएकी खतिवडाको उपचारको क्रममा कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिई फरार चालकको खोजी गरिरहेको जनाएको छ।

त्यसैगरी, धनगढीमाई नगरपालिका ९ पुल चोकमा म्याजिक भ्यानको ठक्करले घाइते भएका सुखीपुर नगरपालिका १० बस्ने २१ वर्षीय मनिक रामको मृत्यु भएको छ। ना.१ ज ६९३५ नम्बरको म्यजिक भ्यानको ठक्करले शुक्रबार साँझ मनिक चालक रहेको स. १० प १९७८ नम्बरको मोटरसाइकल उछिट्टिएर पुनः को.१ स ७७२० नम्बरको सिटी सफारीमा ठोक्किएको प्रहरीले जनाएको छ। सिटी सफारीमा ठोक्किएर गम्भीर घाइते भएका उनको उपचारका लागि लहान ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चढेका धनगढीमाई ९ मुसहर्नियाका २९ वर्षीय सन्तोष सदाय र म्याजिकमा रहेका गोलबजार ६ का २८ वर्षीय शत्रुधन साह घाइते भएका छन्। घाइते दुवै जनाको स्थानीय श्रमजीवी केयर अस्पतालमा उपचार भइरहेको र फरार रहेका म्याजिक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.