|

डोल्पा : देशकै र साविकको महाकाली अंचलभन्दा ठूलो जिल्लाको रुपमा परिचित डोल्पा कर्णाली प्रदेशको आकर्षक पर्यटकीय गन्तव्यको रुपमा चिनिन थालेको छ। जिल्ला घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि भएसँगै आकर्षक गन्तव्य बन्न थालेको हो। 

असोज यता मात्रै आन्तरिक र बाह्य पर्यटक गरेर करिब ६०० पर्यटकको आगमन भएको शे–फोक्सुन्डो निकुञ्जले जनाएको छ। भौगोलिक हिसावमा बिकट भए पनि पर्यटकीय सम्भावनाका हिसावमा सम्पन्न भएकै कारण डोल्पा घुम्ने पर्यटकमा बृद्धि भएको पर्यटन व्यवसायी बताउँछन्। नेपालकै गहिरो ताल शे-फोक्सुन्डो, त्रिपुरा सुन्दरी मन्दिर, शे-गुम्बा, सुलिगाड झरना, बिश्वकै अग्लो मानवबस्ती धो-तराप, पुथा हिमाल, मष्टा मन्दिर छल, मष्टा मन्दिर गल्ली जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्य हुन्।

यस्ता क्षेत्रको अवलोकन भ्रमणका लागि प्याकेज बनाएरै घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको पाइएको छ। एकवर्ष अगाडिसम्म गुमनाम डोल्पा पर्यटन प्रवर्द्धनका क्रियाकलाप बढ्न थालेसँगै ब्युँझिन थालेको हो। गत बुधबारमात्रै कर्णाली प्रदेश उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयको आयोजनामा फोक्सुन्डो ताल परिसरमा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथिको रुपमा उपराष्ट्रपति नन्दबहादुर पुन पुगेका थिए। त्यस्तै पूर्वमन्त्री सत्या पहाडी, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग पर्यटनमन्त्री नन्दसिंह बुढा, कानुन तथा आन्तरिक मामिलामन्त्री नरेश भण्डारीको उपस्थिति थियो। 

कर्णाली प्रदेशको समृद्धि पर्यटन क्षेत्रमै लुकेको बताउँदै यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने मुख्यमन्त्री शाहीले बताए। यस्तै गतिविधिका कारण पर्यटन क्षेत्रको उजागर हुँदै गएको सरोकारवालाको भनाइ छ। डोल्पा हिराको डल्लोे भए पनि प्रचार-प्रचार हुन नसक्दा ओझेंलमा परेको पूर्वमन्त्री तथा प्रतिनिधिसभा सांसद सत्या पहाडीले बताइन्। डोल्पा पुग्ने पर्यटकलाई लक्षित गर्दै संरचनागत विकासमा केन्द्र तथा प्रदेश सरकारले जोड दिनुपर्ने उनको भनाइ छ।

डोल्पालाई प्रमुख गन्तव्य बनाएर आउने आन्तरिक तथा बाह्य पर्यटक बढेका छन्। कर्णाली प्रदेशका पर्यटकीयस्थलको प्रवर्द्धन कालागि प्रदेश सरकारले कर्णाली-रारा पर्यटनवर्ष २०७५ को सुरुवात गरिसकेकाले पर्यटकीय क्षेत्रको विकास तथा प्रचार प्रचारकालागि कुनै पनि कसुर बाँकी नराख्ने मन्त्री बुढाले बताए। पर्यटकको संख्यामा भएको बृद्धिसँगै दुनै, जुफाल, त्रिपुराकोट लगायतका स्थानीय बजारमा चहल-पहल बढ्न थालेको छ।

पर्यटक भित्रन थालेपछि ब्यापार, ब्यवसाय फस्टाएको त्रिपुरा सुन्दरी नगरपालिका १ त्रिपुराकोटका ब्यापारी बिष्णु हमालले बताए। एकवर्ष अगाडिसम्म गुमनाम डोल्पा पर्यटनकै कारण बिश्वभर चिनिन थालेको हमालको भनाई छ।

फोक्सुन्डो ताल

नेपालकै गहिरो तालको परिचित फोक्सुन्डो ताल डोल्पाकै आकर्षक पर्यटकीय गन्तव्य हो। कर्णाली चिनाउने प्रमुख पर्यटकीय गन्तव्यमा रारा तालसँगै फोक्सुन्डो तालको नाम आउने गर्दछ। शे-फोक्सुन्डो गाउँपालिकाअन्तर्गत रिग्मो गाउँमा पर्ने फोक्सुन्डो ताल वाई अनि फोक्सो आकारको भएको अवलोकनकर्ता बताउँछन्।
३ हजार ६३५ मीटर उचाईमा अवस्थित फोक्सुन्डो ताललाई बिदेशी पर्यटक ‘ब्लु डायमण्ड’ को रुपमा समेत चिन्ने गर्दछन्। झट्ट हेर्दा आकाशे निलो रङको जस्तो देखिने भएता पनि यसको रङ छिनछिनमा बदलिने गर्दछ।

तालले समयअनुसार रङ बदल्ने भएकै कारण रङ बदल्ने तालको रुपमा समेत परिचित छ। तालको चारैतीर बिशाल हिम श्रृंखलाहरू छन्। ताल वरिपरि पर्ने हिउले सेताम्य हिमाल कारण तालको सुन्दरता थप मनमोहक बनाइ दिएको छ। चुलिँदो सौन्दर्यताका कारण तालसम्म पुग्ने पर्यटकलाई स्वर्गीय आनन्द प्राप्त हुने पर्यटक बताउँछन्। अप्ठेरो बाटो, यातायातको समस्या, स्तरीय होटलको अभावका बाबजुत पनि  पर्यटकको संख्यामा उल्लेख्य बृद्धि भएको रिग्मो गाउँका स्थानीय निमा गुरुङले बताए।

तालसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटककालागि खानेबस्ने राम्रो ब्यबस्था भए फोक्सुन्डोमा पर्यटक ओइरिने उनको भनाई छ। ताल अवलोकनका लागि देशभित्र मात्रै नभई फान्स, जापान, जर्मन, बेलायत, अमेरीका लगायतका देशहरूबाट समेत पुग्ने गरेको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुलिगाडले जनाएको छ।
संख्यात्मक हिसावमा बाह्य भन्दा आन्तरिक पर्यटक धेरै आउने गरेको निकुञ्जको भनाई छ।

हिँडेर जाँदा थकान महशुस भए पनि ताल छेउ पुग्दा सबै दु:खपीडा र थकान मेटिने फोक्सुन्डो घुम्न काठमाडाैंबाट डोल्पा पुगेका टक्कर कुँवरले बताए। हिमालको खोजमा अवस्थित फोक्सुन्डो तालको जति बखान गर्दा पनि कम हुने उनको भनाई छ।

फोक्सुन्डो प्रकृतिको अमूल्य बरदान भएको रिग्मोबासी बताउँछन्। फोक्सुन्डोसँगै अर्को गन्तव्य सुलिगाड झरना पनि हो। फोक्सुन्डो ताल भरिएर बगेको पानीद्बारा बनेको सुलिगाड झरना पर्यटकको रोजाईमा पर्दै आएको छ। ताल पुग्नुभन्दा करिब तीन किलोमिटर वरै पर्ने सुलिगाड झरना फोक्सुन्डो झरनाको रुपमा पनि चिनिन्छ।
तालसम्म गन्तव्य बनाएर घुम्न आउने पर्यटककालागि ताल नपुग्दै झरना देखिने भएकाले प्राकृतिक रसपानको पहिलो गन्तव्यसमेत बन्दै आएको छ।

करिब ११८ किलोमीटर लामो जाजरकोट-डोल्पा सडकको  कच्ची ट्रयाक त्रिपुराकोटसम्म खुलायर आन्तरिक रुपमा जीप संचालनमा ल्याइएपछि पर्यटक आवागमनमा बृद्धि भएको त्रिपुराकोटका स्थानीय पुर्णकेशर न्यौपानेले बताए। सडकमा पर्ने पुलहरू निर्माण गरेर नेपालगंज काठमाडाैंदेखि नै सिधा यातायात संचालनमा आएपछि डोल्पा घुम्नका लागि पर्यटकको ओइरो लाग्ने न्यौपानको भनाई छ। नेपालगंज बिमानस्थलबाट जहाजमा जुफाल झरेर हिँडेको दुइ दिनमै तालसम्म पुग्न सकिन्छ। नेपालगंजदेखि गाडीको यात्राबाट सुर्खेत, सल्यान, जाजरकोट, रुकुम हुँदै डोल्पा पुग्न सकिन्छ।

त्रिपुरासुन्दरी मन्दिर

त्रिपुरा सुन्दरी नगरपालिका १ त्रिपुराकोटमा अवस्थित त्रिपुरा सुन्दरी मन्दिर धार्मिक पर्यटनकालागि प्रमुख गन्तव्य हो। देशका मुख्य शक्तिपीठहरू मध्ये एक त्रिपुरा सुन्दरी मन्दिर धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्न थालेको हो। सर्वसाधारणदेखि प्रधानमन्त्रीसम्मको आस्था केन्द्रको रुपमा रहेको त्रिपुरा सुन्दरी मन्दिरमा धार्मिक पर्यटकको संख्यामा बृद्धि भएको पाइएको छ।

मन्दिरको उत्पति इ.स १११४ सालमा उत्पति भएको ताम्रापत्रमा उल्लेख गरिएको छ। देबीहरूको उत्पतिस्थलको रुपमा रहेको यस मन्दिरमा पूजापाठका लागि पूर्व राजामहाराजादेखि राजदूतहरूसम्म पुग्ने गर्दछन्। देशभित्रबाट नभई भारतबाट पनि पूजापाठका लागि भक्तजनहरू आउने गरेको पुजा ब्यवस्थापन समितिले जनाएको छ।

दुर्गम तथा विकट जिल्लामा अवस्थित ठूलो शक्तिपीठ भएकाले अझ यसको महत्व दुनियाँले थाहा पाउन नसकेको पुजारी कृष्णचन्द्र पाण्डेले बताए। 'यस मन्दिर नेपालमै त्रिपुरा सुन्दरी देबीका मन्दिरहरूमध्ये प्रमुख शक्तिपीठ हो। त्रिपुरा सुन्दरी देबीको उत्पतिस्थल,सति देबीको कन्ड्याउलो पतन भएको ठाउँ र दश महाबिद्या समेत उत्पति भएकाले यस मन्दिरको महत्व अनौठो छ' उनले भने। 'उचित प्रचार-प्रचार हुन नसक्दा प्रचुर धार्मिक तथा पर्यटकीय सम्भावना बोकेर पनि ओझेँलमा परको छ' उनले थपे।

त्रिपुरा सुन्दरी मन्दिर पूजाआजाका लागि मात्रै नभई र मन्दिरबाट देखि नै अनौठो मनमोहक दृष्य अवलोककालागि पनि प्रशिद्ध छ। मन्दिरको उत्पति धान कुट्ने ओखलबाट उत्पति भएको बताइन्छ। त्यहाँबाट उत्पति भएका देबीहरू विभिन्न ठाउँमा बिराजमान भइन्। ओखल उत्खनन गर्दा निक्लेका पुतलीहरू पनि नौ बहिनी देबीहरू बाँकेको बागेश्वरी, जुम्लाको कनिका सुन्दरी, सल्यानको खैरबाँङ, बैतडीको रणसैनी त्रिपुरेश्री, बाजुराको बडीमालिका लागायतका नामले प्रशिद्ध छन्। बाँकी चार डोल्पामै बिराजमान भएकी छन्। परापूर्वकालदेखि नै यस मन्दिरमा न्यौपाने थरिका पुजारीले पूजाआजा गर्दै आएका छन्। 

फोक्सुन्डो र त्रिपुरा सुन्दरी मन्दिरसँगै जगदुल्ला ताल, सुन दह, ब्यासऋषि, ताम्रवणी नदी, मुकुटेश्वर हिमाल धार्मिक पर्यटनकालागि आकर्षक गन्तव्य हुन्। यस्ता गन्तव्यहरू आन्तरिक रुपमा परिचित भए पनि प्रचार-प्रचार हुन नसक्दा ओझेलमा परेको स्थानीयको भनाई छ। कर्णाली समृद्धिको आधारका रुपमा रहेका यस्ता पर्यटकीय स्थलहरूको विकास तथा प्रचार-प्रचारमा जोड दिने हो भने लाखौँ पर्यटक भित्र्याउन सकिने सरोकारवालाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.