|

रुकुम : रुकुम पश्चिम सदरमुकाम खलंगामा रहेको त्रिभुवन जनता मावि रुकुमको पहिलो विद्यालय हो। वि.सं. २००९ मा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको यस विद्यालयले लामो उज्ज्वल शैक्षिक यात्रा पार गर्दै ६६औँ वर्षमा पुगिसकेको छ। दुर्गम पहाडी जिल्ला रुकुम पश्चिम मुसिकोटमा शिक्षाको चेतना फैलाउने उद्देश्यले यो विद्यालय स्थापना गरिएको स्थानीय बताउँछन्। शैक्षिक निकायहरूको मार्गनिर्देशन, अभिभावकहरूबाट निरन्तर पाइरहेको स्नेह, सहयोग, योगदानबाट यस विद्यालयले स्थापनाकालदेखि नै उत्साहजनक शैक्षिक यात्राको शिखर आरोहण गर्न प्रयत्नशील छ। 

संस्कृत भाषा पाठशाला हुँदै २००७ सालमा नेपालमा प्रजातन्त्रको आगमनपछि देशमा आएको शैक्षिक लहरको परिणाम स्वरूप सर्वसाधारण नागरिकलाई चेतनशील बनाई देश विकासमा अग्रसर गराउने ध्येयका साथ वि.सं. २००९ असोज १ गते प्राथमिक विद्यालय र २०११ सालमा अपर प्राइमरीको रूपमा पाठन पाठन भएको पाइन्छ। त्यस्तै, २०१६ सालमा निमावि, २०२१ सालमा मावि र २०५४ सालमा उमाविको रूपमा स्थापित यस विद्यालयले शैक्षिक उपलब्धि हासिल गर्ने क्रममा २०७५ देखि सिभिल इन्जिनियर डिप्लोमा तहको पठनपाठन पनि सुरुवात गरेको छ। यस विद्यालयवाट शिक्षा प्राप्त गरी उत्पादित जनशक्तिले निजामती सेवा, शिक्षा सेवा, सुरक्षा सेवा, स्वास्थ्य सेवा, इन्जिनियरिङ, पत्रकारिता, समाजसेवा, राजनीतिका क्षेत्रमा राष्ट्रको विकासमा योगदान पुर्‍याउँदै आएको छ। 

३४ सय बढी छात्रछात्राहरू प्रवेशिका तह उत्तीर्ण 

यस विद्यालयबाट वि.सं. २०२१ देखि २०७४ सालको एसइई परीक्षासम्म नियमित समूहबाट तीन हजार ४०५ जना छात्रछात्राहरूले प्रवेशिका तह उत्तीर्ण गरिसकेका छन्। २०३७ सालमा मदन मल्लले बोर्डमा दशौँ स्थान, २०६० सालमा डेनी खड्काले मध्यपश्चिमाञ्चल तृतीय, २०६४ सालमा भीमकान्त लामिछाने र २०६६ सालमा दीपेन्द्र खड्का, २०६७ मा अर्पणा डाँगी र चन्द्रशेखर के.सी., २०७० मा घनश्याम ओली रुकुम जिल्लाबाट विशिष्ट श्रेणीमा प्रवेशिका उत्तीर्ण हुन सफल भएका थिए।

२०७१ सालमा किरणचन्द्र पुन, नृपेश ओली र लेखराज ओलीले, २०७२ सालमा आकांक्षा के.सी., विवेक खड्का, प्रशंसा ओली, सुवास भण्डारी, सुजन शर्मा र २०७३ सालमा ११ जना तथा २०७४ सालको एसइई परीक्षामा १० जना ए ग्रेडमा उत्तीर्ण भएका छन्। त्यस्तै, उमावितर्फ २०६३ सालमा मध्यपश्चिमाञ्चल विकास क्षेत्रका सामुदायिक उमाविहरूमध्येबाट उत्कृष्ट भई नगद चार लाख रुपैयाँ प्राप्त गरेको थियो भने २०७४ सालको कक्षा १२ मा ८० जना विद्यार्थीहरू उत्तीर्ण भएका छन्। 

जिल्लामै प्राविधिक शिक्षा

रुकुममा पहिलो पटक तीन वर्षे सिभिल ओभरसियरमा पढाइ संचालन गरिएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले यस शैक्षिक सत्रदेखि सदरमुकाम मुसिकोटमा रहेको त्रिभुवन जनता माविलाई सिभिल ओभरसियरको कक्षा संचालन गर्न अनुमति दिएको हो। लामो समय प्रतीक्षापछि रुकुम पश्चिम जिल्लामै पहिलो पटक सिभिल ओभरसियरको तीन वर्षे पढाइ भएको विद्यालयका प्राचार्य हरिप्रसाद खनालले जानकारी दिए। 

उनका अनुसार विद्यालयले एक शैक्षिक सत्रमा बढीमा ४८ जनासम्म विद्यार्थीहरू पढ्न पाएका छन्। ‘रुकुमेली विद्यार्थीहरूका लागि यो खुसीको कुरा हो, यसअघि रुकुमसँगै छिमेकी जिल्लाहरू सल्यान र जाजरकोटसम्म पनि यो कक्षा थिएन’, उनले भने, ‘देशका मुख्य शहर र राजधानीम गएर पढ्नुपर्ने विद्यार्थीहरू अब आफ्नै आटोपिठो खाएर सिभिल ओभरसियरको पढाइ गर्न सक्छन्।’ 

भौतिक सम्पति विवरणमा पनि बलियो

विद्यालयको नाममा रहेको हाल १४ हजार ८१.५ वर्गमिटर जग्गा रहेको छ। त्यस्तै, निर्माणाधीनसमेत गरेर १० वटा भवन रहेका छन्। विज्ञान प्रयोगशाला, इन्जिनियरिङ प्रयोगशाला, इन्जिनियरिङ कार्यशाला, परीक्षा फाँट र पुस्तकालयसमेत व्यवस्थित छ। पुस्तकालयमा चार हजार ५०० बढी पुस्तक तथा राष्ट्रिय पत्रपत्रिकासमेत छन्। भारतीय राजदूतावासको आर्थिक सहयोगमा जिल्ला समन्वय समिति रुकुमको अनुगमनमा १३ कोठे भवनसमेत निर्माणाधीन अवस्थामा रहेको छ तर भवन निर्माणमा भने केही ढिला भएको छ। त्यस्तै, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, खुमलटारको अनुदानमा दुई किलोवाटको सोलार जडान गरिएको छ। विद्यालयमा फ्री वाईफाईको व्यवस्थासमेत गरिएको छ। विद्यालयको आन्तरिक स्रोतबाट २१ थान कम्प्युटरसहित कम्प्युटर ल्यावको व्यवस्था पनि गरिएको छ। 
 
१२ सय विद्यार्थी

जिल्लाकै पहिलो र नमुना विद्यालयको रूपमा रहेको यस विद्यालयमा हाल करिब एक हाजार २०० विद्यार्थी अध्ययनरत छन्, जसमा ५८३ जना छात्रा र ६१२ जना छात्र रहेका छन्। विद्यालयमा करिब ४० जना शिक्षकहरू रहेका छन्, जसमा सरकारी दरबन्धी माविमा १० जना, उमाविमा अनुदान दुई जना, आधारभूत तहमा १०, कर्मचारी अनुदानमा दुई र निजी स्रोतमा १६ जना शिक्षकहरू रहेका छन्। 

विद्यार्थी प्रोत्सानका लागि छात्रवृत्ति र पुरस्कार

नेपाल सरकार र विद्यालयको आन्तरिक स्रोतबाट विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार दलित, अपांग, गरिब तथा जेहेन्दार छात्रवृत्ति वितरण गरिँदै आएको छ, जसमा विभिन्न छात्रवृत्तिहरू स्थापना गरिएका छन।

यस विद्यालयका संस्थापक अध्यक्ष स्व. गेहेन्द्रबहादुर शाहले आफ्नो नाममा स्थापना गरेको छात्रवृत्ति अक्षयकोष एक लाख एक हजार १०१ बाट प्राप्त र सात हजार ७७ रुपैयाँ उक्त छात्रवृत्ति वितरण समितिको निर्णयअनुसार कक्षा ६ देखि ९ सम्मका गरिब तथा जेहेन्दार छात्रछात्रा चार जनालाई दामासाहीले वितरण गर्ने गरिएको छ।

संस्थापक अध्यक्ष स्व. गेहेन्द्रबहादुर शाहकी धर्मपत्नी स्व. भीमकुमारी शाहीको नाममा निजका कान्छा पुत्र अतिरिक्त प्रहरी महानिरीक्षक सुरेन्द्रबहादुर शाहबाट स्थापना गरिएको छात्राहरूका लागि अक्षयकोष एक लाख एक हजार ११ बाट प्राप्त व्याज रकम सात हजार ७७ रुपैयाँबाट जेहेन्दार छात्राहरू चार जनालाई दामासाहीले छात्रवृत्ति वितरण गर्ने गरिएको छ।

स्थानीय समाजसेवी तथा बुद्धिजीवी वरिष्ठ अधिवक्ता डा. नवराज गौतम र भक्तकुमारी गौतमले स्थापना गरेको कक्षा ११ र कक्षा १२ मा अध्ययनरत गरिब र जेहेन्दार छात्राहरूका लागि अक्षयकोष एक लाख एक हजार १११ बाट प्राप्त व्याज रकम सात हजार ७७ रुपैयाँबाट दुई जनालाई दामासाहीले छात्रवृत्ति वितरण गर्ने गरिएको छ।

यसरी नै स्थानीय समाजसेवी शिक्षाप्रेमी प्रेमजंग मल्ल र शान्ताकुमारी मल्लले स्थापना गरेको कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्रहरूका लागि अक्षयकोष एक लाख ११ हजार १११ रुपैयाँबाट प्राप्त व्याज रकम सात हजार ७७७ रुपैयाँबाट दलित, गरिब तथा जेहेन्दार दुई जनालाई दामासाहीका दरले छात्रवृत्ति वितरण गर्ने गरिएको छ।

कक्षा ११ र कक्षा १२ मा अध्ययन गर्ने जम्मा विद्यार्थी संख्याको तीन प्रतिशतले हुन आउने संख्या बराबर जनामध्ये अपांग, गरिब तथा जेहेन्दार, दलित, जनजाति, द्वन्द्वपीडित, शहीद परिवारका छात्रछात्राहरूलाई विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार हरेक वर्ष उनीहरूले विद्यालयमा बुझाउनुपर्ने १२ महिनाको शुल्क बराबरको रकम छात्रवृत्ति वितरण गरिँदै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.