|

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकामा १ करोडमा पालिकास्तरीय खेल मैदान  निर्माण कार्य सुरु गरिएको छ। गाउँपालिकाको चालु आर्थिक वर्षको १५ लाख बजेटमा खेलमैदान निर्माणको कार्य अघि बढाइएको हो।

दोगडाकेदार गाउँपालिकाको वडा नं ३ श्रीकोट र वडा नं ७ देउलेकको सीमाना लवलेक(लडालेक)का खेलमैदान निर्माण कार्य भइरहेको छ। २०० मिटर चौडाइ र  ४०० मिटर लम्बाइ हुने उक्त खेलमैदानको लागि थप आवश्यक पर्ने बजेटका प्रदेश सरकार र संघिय सरकारसँग माग गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए। सुविधासम्पन्न बन्ने खेलमैदानलाई गाउँपालिकाले क्रमागत योजना राखेको अगामी वर्ष पनि उक्त मैदान निर्माणका लागि बजेट छुट्याइने उनको भनाइ छ। 

उक्त खेलमैदान निर्माणको लागि प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र  सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लिलाधर भट्टले सहयोग गर्ने आश्वासन दिएको छ। सुविधासम्पन्न उक्त खेलमैदान १ करोडको लगानीमा निर्माण सम्पन्न हुने अनुमान गरिएको गाउँपालिका अध्यक्ष कार्कीले भने, 'स्टेडियम नै बनाउने गरी निर्माण कार्य अघि बढाईएको छ'

युवालाई खेलप्रति आकर्षित गराउन दोगडाकेदार गाउँपालिकाले एक वार्ड एक खेलमैदानको अवधारणा अघि बढाएर काम सुरु गरेको छ। यसअघि गाउँपालिकाका वडा नं ७ मा चनैराज खेलमैदान,वडा नं ५ मा धनथला खेलमैदान, र वडा नं ८ मा कटौजपानी खेलमैदान निर्माण गरेको छ। 

गाउँपालिकाले निर्माण गर्न लागेको सुविधासम्पन्न खेलमैदानपश्चात पालिकाभित्र खेलकुदका गतिविधि बढ्ने विश्वास गरिएको छ। खेलमैदानको अभावमा हुन नसकेका खेलकुद प्रतियोगिता पनि सञ्चालन हुने विश्वास श्रीकोट युवा क्लवका अध्यक्ष हेमराज गिरीको रहेको छ। उनले भने, 'खेलमैदान निर्माणपछी दोगडाकेदारले खेलक्षेत्रमा निकै फड्को मार्नेछ' पालिकास्तरिय खेलमैदान निर्माण सुरु भएपछि दोगडाकेदारका खेलप्रेमी युवा तथा नागरिक हर्षित भएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.