|

रामेछाप : जिल्लाको सदरमुकाम मन्थलीमा सामुदायिक आँखा केन्द्रले सञ्चालन गरेको दुईदिने आँखा शिविरमा १ सय ६० जना आँखा बिरामीको शल्यक्रिया गरिएको छ।

शिविरमा १ सय ५३ जनाको मोतियाबिन्दु शल्यक्रिया, ७ जनाको समान्य शल्यक्रिया गरिएको हो। त्यस्तै २ सयजना भन्दा बढी आँखा बिरामीको जाँच गरी औषधि दिइएको सामुदायिक आँखा केन्द्र मन्थलीका इन्‍चार्ज बासु अधिकारीले जानकारी दिए। तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोगमा रामेछाप सामुदायिक आँखा केन्दले दुईदिने आँखा शिविर सञ्चालन गरेको थियो। चार वर्षदेखि दुवै आँखा नदेख्ने भएका मन्थली नगरपालिका–१२ का ८० वर्षीय खड्गबहादुर भण्डारीले आँखाको शल्यक्रियापछि प्रतिक्रिया दिँदै पहिलाकै संसार देख्न पाएकोमा आफू अन्यन्तै खुसी भएको बताए।

आँखा नदेख्दा संसार हराएको जस्तो लाग्थ्यो तर,  होइन रहेछ, आँखाको उपचार गर्दा निको हुन्छ भन्ने कुरा थाहा नपाउँदा संसार अन्धकार भएको रहेछ भण्डारीले भने। साथै उनले आफ्ना आँखाको शल्यक्रिया गराउन सहयोग गरिदिने संस्था र चिकित्सकलाई पनि धन्यवाद दिए।

त्यस्तै, उमाकुण्ड–७ भुजीका ७१ वर्षीय सुर्जे राईले एकवर्ष अघि तिलगंगा आँखा अस्पतालमा एउटा आँखाको शल्यक्रिया गर्दा ६० हजार रुपैयाँ खर्च भएको सुनाउँदै  जिल्लामै २ हजारमा आँखाको शल्यक्रिया गर्न पाउँदा खुसी लागेको बताए। आँखा शिविरमा सामुदायिक विकास समाज, मन्थली बचत तथा ऋण सहकारी संस्था लि. मन्थली, तामाकोशी सहकारी अस्पताल मन्थली र तामाकोशी सेवा समिति मन्थलीले सहयोग गरेका थिए।

शिविरमा स्वास्थ्य बिमा गरेका बिरामीहरुको निःशुल्क र बिमा नगरेका बिरामीसँग दुई हजार रुपैयाँ शुल्क लिएर आँखाको शल्यक्रिया गराइएको सामुदायिक आँखा केन्द्रले जानकारी दिए। आँखाको सल्यक्रिया गरेका ४२ जनाको यातायात खर्च, खाना बस्ने र उपचारमा लगेको सम्पूर्ण खर्च सामुदायिक विकास समाजले उपलब्ध गराएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.