फिचर

पर्यटक लोभ्याउँदै डहरे देउराली
SHARES

मंसिर १६, २०७५

    वासुदेव पौडेल-

    पोखरा : समुद्री सतहबाट दुई हजार २५४ मिटरको उचाइमा रहेको डहरे देउरालीबाट हिमाली तथा पहाडी दृश्यका साथै स्याङजा, पर्वत र कास्कीका विभिन्न स्थान सजिलै देख्न सकिन्छ। स्याङजा र पर्वतको सिमानामा पर्ने यस ठाउँमा पुग्न गुराँसै गुराँसले ढकमक्क ढाकिएको जङ्गल पार गर्दै उकालो लाग्दा यहाँका मनोरम दृश्यका कारण जो कोहीले पनि थकाइलाई बिर्सन्छन्।

    अन्नपूर्ण, माछापुच्छ्रे धवलागिरिलगायत हिमशृङ्खलासहित बाग्लुङबजार, पर्वतको सदरमुकाम कुस्माबजार, कार्कीनेटा, स्याङ्जा, पर्वत र कास्कीको सङ्गमस्थल पञ्चासे, आरुचौर, रापाकोट तथा कास्कीकै पुम्दीभुम्दीस्थित विश्व शान्ति स्तुप, पोखराका केही भागको अवलोकन गर्न पाइनु यस स्थानको विशेषता हो।

    पर्यटकको सुविधालाई दृष्टिगत गरी डहरे देउराली नजीकैसम्म सवारीसाधन पुग्ने बाटो निर्माण गरिएको छ। हिँड्न सक्ने व्यक्तिका लागि भने तालपोखरी, सिरुवारी, पञ्चमुल, घण्टे देउरालीलगायत स्थानबाट पदयात्रा गर्दा छुट्टै आनन्दको अनुभूति हुने पञ्चमूल–पोखरा सम्पर्क समाजका सल्लाहकार गणेशप्रसाद ढकालले बताए। उनका अनुसार छोटो पदयात्रासहित डहरे देउराली पुग्ने हो भने तालपोखरीबाट एक घण्टा, घण्टे देउरालीबाट साढे एक घण्टा लाग्दछ।

    त्यस्तै नेपालकै पहिलो होमस्टे गाउँ सिरुवारीबाट दुई घण्टा र पञ्चमूलबाट तीन घण्टा पदयात्रा गर्दै यहाँ आइपुगिन्छ। केही समय जंगलको बीचबाट हिँडेर पुगिने डहरे देउरालीको पैताला भनेर चिनिने देउरालीमा एउटा ठूलो रुखको फेदमा ढुङ्गाकै देवीको मूर्तिको आकृति छ। त्यहाँबाट केही समयको हिँडाइपछि पदयात्रीहरू परम्परागत शैलीका मन्दिर रहेको ठाउँमा पुग्छन्। डहरे देउरालीको छातीका रुपमा लिइने यस स्थलमा सन्यासीका लागि आवास गृहसमेत बनाइएको छ। यहाँ विभिन्न चाडपर्वका बेला भक्तजनको घुइँचो लाग्ने गरेको मोक्षद्वारी बाल सिद्ध योग आश्रम सञ्चालक समितिका कोषाध्यक्ष चन्द्रप्रसाद पौडेलले बताए।

    बालाचतुर्दशीका दिन यहाँ ठूलो मेला लाग्ने गरेको जानकारी दिँदै उनले त्यस अवसरमा स्थानीय हस्तकलाका सामान, कृषि पेशामा प्रयोग हुने औजार, डोका, नाम्लाका साथै स्थानीयस्तरमा उत्पादित फलफूलको अत्यधिक व्यापार हुने बताए। डहरे देउरालीको शिर र सँगै रहेको अर्को डाँडा (बीचमा लगभग ५०० मिटर दूरी रहेको)लाई जोड्ने गरी बालाचतुर्दशीका दिन तोरण टाँग्ने प्रचलन छ। तोरण तार्नका लागि बाजागाजासहित स्याङ्जा र पर्वतका विभिन्न ठाउँबाट भक्तजन आउने गरेको कोषाध्यक्ष पौडेलले जानकारी दिए।

    चैते दशैँ र विजयादशमीका समयमा पनि उक्त स्थानमा अत्यधिक भक्तजन आउने गरेको स्थानीयवासीले बताए। उक्त देवीको दर्शन गरेमा मनोकाङ्क्षा सिद्ध हुने विश्वासका साथ सामान्य एवम् भाकल पूजाका लागि स्याङ्जा, कास्की, पर्वतलगायत स्थानबाट ठूलो सङ्ख्यामा दर्शनार्थी पुग्ने गरेको पाइन्छ। यस क्षेत्रको धार्मिक महत्वलाई उजागर गर्ने लक्ष्यका साथ २०४३ सालमा योगी नरहरिनाथको सक्रियतामा धान्याञ्चल महायज्ञ गरिएको २०३२ सालदेखि उक्त स्थानको संरक्षण एवम् पूजाआजा गर्दै आएका पशुपत्यानन्द गिरीले जानकारी दिए।

    धान्याञ्चलका क्रममा मुक्तिनाथबाट अग्निज्वाला ल्याइएको जानकारी दिँदै उनले उक्त अग्निज्वाला अहिले पनि बलिरहेको छ भन्नुभयो। धान्याञ्चलका क्रममा सङ्कलित सहयोगबाट गुठीका लागि झण्डै ४० रोपनी जमीन खरीद गरिएको थियो। जग्गा खरीद भए पनि खेती गर्ने मानिसको अभावमा उक्त जग्गा अहिले भने प्रयोगमा आउन नसकेको कोषाध्यक्ष पौडेलको भनाइ थियो। घनाजंगलका साथै यहाँ विभिन्न प्रजातिका वनस्पति एवम् जडीबुटी पाइने स्थानीयवासी बताउँछन्। यहाँ पाँचऔले, हर्रो, बर्रो, सतुवाजस्ता महत्चपूर्ण जडीबुटीका साथै चितुवा, भालुजस्ता विभिन्न प्रजातिका जङ्गली जनावर पाइन्छ। विभिन्न ५० भन्दा बढी प्रजातिका चराचुरुङ्गीको बासस्थान रहेको यस जङ्गलमा पैँयु, सल्लो, ओखर, खर्सु, उत्तिसजस्ता महत्वपूर्ण काठसमेत पाइन्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]