विदेश जानुभन्दा आफ्नै ठाउँमा केही गर्न सुझाव

|

लहान : विद्यालय पढ्नका लागि स्थानीय हाट बजारमा खुद्रा पसल चलाउने दाजुलाई सघाउँदै तरकारीको झोला बेचेर कमाउँदै पढेका युवकले राहदानी बनाएर तीनवर्ष झोलामै राखे। झोला बेच्ने काममै आफ्नै गाउँठाउँमा दुःख गरे। सिरहाको गोलबजार नगरपालिका ६ घर भएका २८ वर्षीय उदयकुमार साह घर परिवारबाट विदेश जान दबाब हुँदा पनि आफ्नै ठाउँमा दुःख गर्दागर्दै अहिले तीनपांग्रे सवारी साधन बिक्री गर्ने अटोमोबाइल्स संचालक बनेका छन्। 

व्यवस्थापनमा स्नातक तहको अध्ययन पूरा गरेका साह घरबारी बन्धक राखेर कमाउने उद्देश्यले विदेश उड्ने युवाका लागि प्रेरणाका स्रोत बनेका छन्, जो आफ्नै गाउँठाउँमा दुःख गरे तर विदेश गएनन्। ‘घर परिवारको दबाबमा विदेश जान पाँच वर्षअघि जिल्ला प्रशासन कार्यालयबाट राहदानीसमेत बनाएँ’ साहले भने ‘विदेश जान करिब छ महिना जति काठमाडौंमा बसेर स्वास्थ्य परीक्षण र अन्तर्वार्ता त दर्जनौंपटक दिएँ।’

झोला बेचेर पढे विद्यालय

दिवङ्गत रामचन्द्र साहका कान्छी श्रीमती पट्टीका साहिलो छोरा उदयले २०६३ सालसम्म स्थानीय गोलबजार, चोहर्वालगायतका छिमेकी गाउँमा लाग्ने साप्ताहिक हाटमा तरकारी बेच्ने झोला बेच्दै पढेको सुनाउँछन्। ‘बजारमा चामल तरकारी बिक्री गर्न जाने दिदी दाजुलाई सघाउँदै झोला बेचेर पढाइ खर्चको जोहो गर्थें’ उनले भने ‘घर नजिकै रहेको गोलबजार माविमा वर्षको दुई पटक हुने परीक्षामा खाली उत्तरपुस्तिका गुरूहरूसँग मागेर घरमा पनि त्यसमै गृहकार्य गर्थें।’

‘सूर्ती-चुरको व्यापार गरेर परिवार चलाउँदै आएका बाबु बिरामीले थलिएपछि दाजुहरूले पढ्न पाएनन्’ उनले भने, ‘राहदानी बनाएर दुवै दाजु विदेशिएपछि १०+२ पढ्ने मौका जुर्‍याे।’ त्यसपछि विराटनगरमा वाणिज्य विषयमा स्नातक तह पढ्दापढ्दै पुनः घरबाट विदेश जान दबाब आएको विगत सुनाउँछन् उनी। ‘सन् २०१३ मा राहदानीसमेत बनाएँ। स्नातक तहको पहिलो वर्षको परीक्षा दिएपछि छ महिना काठमाडौं बसेर प्रायः हरेक म्यानपावरमा अन्तर्वार्ता दिएँँ’ उनले सुनाए। 

बैंकको इन्टर्नले मोडियो जीवन

काठमाडौं रहेकै बेला गोलबजारस्थित ग्लोवल आइएमइ बैंकले इन्टर्नसीपका लागि बोलाएकाले राहदानी झोलामा राखेर तत्काल गोलबजार फर्किएका उदय त्यही इन्टर्नले आफ्नो जीवनको यात्रा मोडिएको बताउँछन्। ‘बैंकमा इन्टर्न रहेकै समयमा व्यवसाय चलाउन कर्जा, कर्जा लिने विधि, तिर्ने प्रक्रिया जस्ता कुराहरू बुझ्नै मौका पाएँ’ उनले भने ‘बैंकबाटै कर्जा लिएर आफ्नै व्यवसाय गर्ने योजनाअनुसार ८ महिनापछि बैंकको जागिर छोडिदिएँ।’

‘बैंकबाट कर्जा लिएर आफ्नै व्यवसाय थाल्ने योजना बनाएको थिएँ। तर सोचे जस्तो भएन’ उनले सुनाए ‘त्यसपछि मिर्चैयास्थित गुप्ता बद्रर्स अटोमोबाइल्समा बिक्री, सेवा र हरहिसाब हेर्ने जिम्मेबारीसहित पाँचवर्ष काम गरेँ।’ बिहानदेखि बेलुकासम्म काम गर्दासमेत तलबले घर परिवारको गुजारा नचल्ने भएपछि छोडेर साझेदारीमा गाइपालन थाले, तर त्यो पनि नफापेको बताए उनले। 

१५ हजारले आफ्नै व्यवसाय

गाई फारम नफापेपछि आफ्नै लगानीमा मोटरसाइकलको रिकण्डिसन शो रुम खोल्न तम्सिएका उनले दाजुहरूलाई त्यसका लागि करिब सात लाख रुपैयाँ ऋण खोजिदिन आग्रह गरे पनि नपाएको गुनासो गरे। ‘मिर्चैयामा काम गरेको पारिश्रमिकबाट जोगाएर राखेको ६५ हजार रुपैयाँ थियो, त्यसबाट ५० हजार रुपैयाँ घरधनीलाई भाडावापत् पेश्की दिएँ’ उनले भने ‘बाँकी रहेको १५ हजार रुपैयाँले मोटरसाइकल ग्यारेजको आधारभूत उपकरणहरू किनेर बोर्ड मात्र झुण्ड्याएर व्यवसाय थालें।’ 

त्यसरी कमाउन थालेपछि विदेशबाट पनि दाजुभाइले थोरबहुत सघाएपछि १० लाख रुपैयाँको लागतमा गोलबजारमै मोटरसाइकलको रिकण्डिसन सोरुम चलाउन थालेका उनले पछिल्लो कात्तिकदेखि गोलबजारमै करिब एक करोड रुपैयाँ लगानीका टिभिएस कम्पनीको तीन पाङ्ग्रे अटो रिक्साको ‘उदय अटो’ शो रुम चलाउन थालेका छन्। ‘विदेश जान राहदानी बनाएर मेडिकल जाँचपछि म्यानपावरमा अन्तर्वार्तासमेत दिइसकेको म विदेशिएको भए केही बढी कमाउँथे हुँला’ उनले भने ‘मैले आफ्नै ठाउँमा दुःख गरेर परिवारका लागि व्यवसाय मात्र गरेको छैन। १० जना युवालाई प्रत्यक्ष रोजगारीसमेत दिएको छु।’ ‘आफ्नो घरबारी बन्धक राखेर रगत पसिना बगाउन विदेश जानुभन्दा आफ्नै ठाउँमा बसेर केही गर्न जाँगर चलाउनुपर्छ’ उनले भने ‘गर्न सक्यौँ भने आफ्नै ठाउँमा छ, रोजागारीको,अवसर।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.