पर्वत : ग्रामीण भेगमा देखिने परम्परागत रूपमा प्रयोग हुँदै आएका तेलजन्य पदार्थ पेल्ने घरेलु उपकरण लोप हुने अवस्थामा पुगेका छन्। परम्परागत कृषिजन्य उत्पादन प्रशोधनका लागि प्रयोग हुने यी साधन विभिन्न कारणले उत्पादनमा आएको ह्राससँगै लोप हुन पुगेका हुन्।
पर्वतका ग्रामीण क्षेत्रमा जीवन निर्वाहका लागि आवश्यक ती घरेलु उपकरणको नाम पछिल्लो पुस्तालाई थाहा नै छैन। नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा गाउँमा ती उपकरण बनाउन सक्ने जनशक्तिसमेत छैन। चुक (अमिलो) पेल्ने काठको उपकरण कोल पनि लोप हुने अवस्थामा छ। नयाँ प्रविधि भित्रिएपछि गाउँमा परम्परागत रूपमा काठबाट बनेको उक्त कोल गाउँघरमा अहिले बिरलै मात्र देख्न सकिन्छ।
पर्वतको ग्रामीण भेग चुक उत्पादनका लागि राम्रो मानिँदै आए पनि पछिल्लो समयमा चुक उत्पादन घट्दै आएको छ। रोगले बोट सुक्दै गएका कारण चुकको उत्पादन घटेको कृषक बताउँछन्। अमिलोमा पछिल्लो समय दाना कम फल्ने समस्या र रूख सुक्दै जाँदा उत्पादन निकै कम हुने गरेको छ। दाना नै कम फल्न थालेपछि पेल्ने उपकरण हराउँदै गएको महाशिला वडा ४ का कृष्णबहादुर क्षेत्रीले बताए।
‘पहिलेजस्तो उत्पादन हुन छाडेको छ, धेरैले परम्परागत कोल राख्नै छाडेका छन्’ उनले भने। उनले आफ्नो घरमा वर्षौदेखि अमिलोका दाना उत्पादन हुँदै आएको र जसोतसो परम्परागत कोलमा पेल्दै आएको बताए। ‘पहिलेजस्तो उत्पादन त हुँदैन। तर जति उत्पादन भए पनि परम्परागत कोलबाटै पेल्दै आएको छु’ अमिलोका दाना पेल्दै गरेका क्षेत्रीले भने।
प्रशोधनका उपकरण स्थानीय स्रोतसाधनको प्रयोगबाट बन्ने हुँदा खर्च नहुने र पेलेको रससमेत शुद्ध हुने भएकाले यहाँका ग्रामीण भेगमा परम्परादेखि काठका कोल सञ्चालनमा आएका थिए। गाउँघरमा स्थानीय कालीगढ (मिस्त्री) ले आफैँ कोल निर्माण गर्ने भएकाले गाउँमा कोल लोकप्रिय थिए।
एक दशकअघिसम्म हुनेखाने परिवारका घरमा घरैपिच्छे काेल भेटिने गरे पनि अहिले बिरलै मात्रै भेटिने गरेको छ। ग्रामीण क्षेत्रमा विगतमा प्रशस्त मात्रामा देखिने परम्परागत काेल निकै कम देखिने गरेको पाका पुस्ताको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।