|

संयुक्तराज्य अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच एकअर्का मुलुकका सामानमा तत्काल थप करवृद्धि नगर्ने सहमति भएको छ। विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीच करवृद्धिका कारण उत्पन्न गतिरोधले पछिल्लो समय व्यापार युद्धको खतरा बढाएको थियो।

दुई राष्ट्रपतिबीच हाल एकअर्का मुलुकका सामानमाथि लागिआएका करहरूमा कुनै परिवर्तन गर्ने वा नगर्ने भन्ने बारेमा सहमति भने हुन सकेन। दुई नेताबीच अढाई घण्टाभन्दा बढी चलेको रात्रिभोजपश्चात् ह्वाइट हाउसले आगामी जनवरी १ देखि चिनियाँ सामानमा १० देखि २५ प्रतिशत करवृद्धि गर्ने घोषणालाई अहिले स्थगित गरिएको जनाएको छ। ह्वाइट हाउसले दुवै मुलुकबीच व्यापार सहजीकरणका सन्दर्भमा थप वार्ता गर्ने स्पष्ट गरेको छ।

यो सहमतिले द्वन्द्वमा होमिएको विश्व बजारलाई केही शान्त बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। ह्वाइट हाउसका अनुसार दुई नेताबीचको बैठक निकै नै सफल बैठक भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जी–२० को बैठकमा सहभागी हुन अर्जेन्टिनाको ब्युनस आयर्समा छन्।

चिनियाँ विदेशमन्त्री वाङ यीले भनिन्, 'यो सम्झौताले दुई मुलुकबीचको आर्थिक तनावलाई थप विस्तार गर्नबाट रोकेको छ र दुवैको जितका रुपमा यो सम्झौता भएको छ।'

सम्झौता बमोजिम अर्को वर्षको शुरुबाटै चिनियाँ सामानमा हाल लागिआएको १० प्रतिशत करलाई २५ प्रतिशत पुर्‍याउने राष्ट्रपति ट्रम्पको प्रस्ताव स्थगित भएको छ। तैपनि, यो आंशिक सम्बोधन मात्र हो।

झण्डै ५० अर्ब डलर बराबरका चिनियाँ सामानमा यसअघि नै २५ प्रतिशत कर लाग्न थालिसकेको छ। साथै, राष्ट्रपति ट्रम्पले जनवरीबाट करिब २०० अर्ब डलर बराबरका चिनियाँ सामानमा पनि थप १० प्रतिशत कर लगाउने योजना यसअघि नै चेतावनी दिएका थिए।

यहीबीच, चीनले करिब ११० अर्ब डलर बराबरका अमेरिकी सामानमा करवृद्धि गरेको छ। चीनमा रहेका व्यापारिक अबरोधहरू, बौद्धिक सम्पत्तिको चोरी तथा अन्य कारबाहीका कारण चीनमा स्वच्छ व्यापारमा कठिनाई आएको अमेरिकी आरोप छ। यी समस्या सुल्झाउन उपयुक्त कदम नचाले चीनविरुद्ध थप दण्डात्मक कारबाही गरिने अमेरिकाले चेतावनी दिइआएको छ।

अमेरिकी राष्ट्रपतिले जारी गरेको एक वक्तव्यमा चीन र अमेरिकासँग असिमित सम्भावनाहरू रहेको बताउँदै चिनियाँ राष्ट्रपति सीसँग भएको बैठक निकै फलदायी रहेको उल्लेख गरेका छन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङले भने, 'हामीबीचको सहयोगात्मक कार्यहरुले मात्र शान्ति र समृद्धि हासिल गर्ने दुवै मुलुकको चाहना पूरा हुन सक्छ।'

दुवै नेताबीचको रात्रिभोज सोचिएको भन्दा लामो समय चलेको थियो। रात्रिभोजमा अमेरिका र चीनका उच्च अधिकारीहरूको समेत सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.