|

नेपालीले चिनेका, नेपालीले मनपराएका नेता कीर्तिनिधि विष्टलाई एउटा महान् देशभक्त, राष्ट्रवादी पनि भन्न सकिन्छ, देशभक्त पनि भन्न सकिन्छ। मेरो मानसपटलमा उहाँका विभिन्न प्रकारका छाप छन्। 

मैले भेटेको पहिलो प्रधानमन्त्री उहाँ हो। उहाँ प्रधानमन्त्री भएर म पढेकै विद्यालयमा जानुभयो। त्यस अवसरमा मैले विद्यार्थीका तर्फबाट स्वागत भाषण गर्ने मौका पाएको थिएँ। मैले यसो हेर्दा साँच्चै प्रधानमन्त्री जस्तो लाग्यो। उचाइ हेर्दा पनि प्रधानमन्त्री जस्तो देखिने, जिउडाल हर्दा पनि देखिने, विद्वताले पनि त्यस्तै देखिने, अभिव्यक्तिले पनि देखिने। सबै कुरा मिलेको पर्सनालिटी। त्यस्तो व्यक्तित्व। म आफैँलाई पनि छक्क लाग्यो– यति साह्रो सबै कसरी मिलेको हुन्छ एउटा मान्छेको! औधी मिलेको व्यक्तित्व। 

जिउडाल मात्र मिलेको होइन, विचार, मन पनि मिलेको। विचारमा जस्तो उचाइ थियो, व्यक्तित्वको त्यस्तै उचाइ थियो। व्यक्तिको उचाइसँगै व्यक्तित्वको उचाइ, भावनाको उचाइ, दृढताको उचाइ। 

मैले भेटेको केही समयपछि नै उहाँले नेपालको उत्तरमा रहेका भारतीय चेकपोस्टहरू हटाउने निर्णय गर्नुभयो। त्योभन्दा अगाडि हामी सुस्ता र महेशपुरका सीमा विवादका सम्बन्धमा आन्दोलन गरिरहेका थियौँ। कहिले गिरफ्तार हुने, कहिले चुटाइ खाने। त्यो सिलसिला चलिराखेको थियो। उत्तरका चेकपोस्ट हट्नुपर्छ हामी भनिराखेका थियाँै तर नेपालको सरकार र उत्तरमा चेकपोस्ट ल्याएर राख्ने सरकारले चेकपोस्ट हटाउलान् जस्तो हामीलाई लागेको थिएन तर उहाँले हटाउनुभयो। मलाई लाग्यो– उभियो भने प्रधानमन्त्री उभिन सक्नेरहेछ। नउभिँदा कसको के लाग्छ र! मैले उहाँबाट त्यो विद्यार्थीकालमा पनि अलिकति शिक्षा लिने मौका पाएँ। 

कसलाई के मनपर्ला, कसलाई के मन नपर्ला। उहाँका सबै कुरा मलाई मनपर्छ भन्ने पनि छैन, मनपर्‍यो भन्ने पनि छैन, पर्दथ्यो भन्ने पनि छैन। तर उहाँको मुख्य पक्ष भनेको देशभक्ति हो। उहाँले गरेका कामहरूमध्ये उल्लेखनीय थियो, भारतीय चेकपोस्ट हटाउने कार्य। उहाँले योजनावद्ध ढंगले प्रधानमन्त्री पद छाड्नुपरे छाड्छु अथवा छाडछु भनेरै चेकपोस्ट हटाउनुभयो। अथवा पदका लागि जे पनि गर्न तयार हुन्छन् मान्छे, उहाँ देशका लागि पद छोड्न तयार हुनुभयो। त्यस प्रकारको व्यक्तित्व थियो उहाँको। 

उहाँको नाम पनि नेपालको इतिहासमा यसरी अंकित नाम हो, जो मेटिनै सक्दैन। नेपालको इतिहासमा यसरी अंकित नाम, जसको कामलाई नपढीकन नेपाल एउटा स्वतन्त्र राष्ट्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्र भन्ने कुराले पूर्णता पाउँदै पाउँदैन। त्यो पाउने सिलसिला र सन्दर्भ एउटा देशमा अर्को देशको सुरक्षा चेकपोस्ट राखिएकाले कुण्ठित थियो। अर्को देशको सिमानामा स्वतन्त्र राष्ट्रको हैसियत कुण्ठित थियो। त्यो हट्नु जरुरी थियो। यसो गर्दा कीर्तिनिधि विष्ट कुनै देश विशेषको पक्षमा वा कुनै देश विशेषको विपक्षमा उभिनुभएको थिएन। उहाँले भारतविरोधी काम गर्नुभएको हो र? भारतीय चेकपोस्ट थियो नेपालको उत्तरी सिमानामा, त्यो चेकपोस्ट हटाउनुभयो। तर उहाँले भारतविरोधी काम गरेको होइन। नेपालको स्वाधीनताको पक्षमा मात्रै काम गरेको हो। त्यो हामीले बिर्सनुहुँदैन। 

उहाँले नेपालको पक्षमा गरेको यो काम सही थियो, जायज थियो, आवश्यक थियो र नेपालको परराष्ट्र नीति त्यस्तै हुनुपथ्र्यो। त्यसपछि उहाँसँग मेरो भेट भएन। अलिपछि राजनीतिक धार उहाँका र मेरा फरक फरक भए। उहाँ कहिले प्रधानमन्त्री हुनुभयो, कहिले के, म झ्यालखानातिर गएँ। पछि म छुटेर आएपछि फेरि भेट भयो। 

हाम्राबीच पुस्ता अन्तर थियो। तर उमेरको अन्तर भए पनि भावना एउटै प्रकारको म पाउँथे। पहिलो, देशभक्तिको प्रश्न महत्त्वपूर्ण प्रश्न हो। त्यो देशभक्तिको प्रश्नमा उहाँ र मेरो भावना मिलेको थियो। हामीले धेरै पटक भेटघाट र कुराकानी गर्‍यौँ। कार्यक्रमहरूमा भेट हुँदा हामी कहिले कहिले छुट्टै उभिएर पनि कुरा गथ्र्यौं। जेहोस्, नेपालको सन्दर्भमा उहाँले एउटा त्यति छोटो भन्न मिल्दैन लामै जीवन जिउनुभयो र राम्रो काम गर्नुभयो। सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँले जस्तै परिस्थितिमा पनि देशभक्त भएर देशभक्तिको काम गर्न सक्नुभयो। 

पंचायती व्यवस्था, जसका विरुद्ध म लडेँ, त्यस व्यवस्थाभित्र बसेर पनि उहाँले चेकपोस्ट हटाउनुभयो। हटाउन सकिँदोरहेछ नि त्यही व्यवस्थाभित्रबाट पनि। त्यस कारण उहाँ नेपालीहरूले आदरपूर्वक सम्झनुपर्ने व्यक्तित्व हो भन्ने मलाई लाग्छ। मैले कार्य व्यस्तताले उहाँको स्मृतिमा तयार गरिएको प्रकाशन पढ्न भ्याइनँ। बीचमा दुई चार दिन स्वास्थ्य पनि थोरै गडबड भएकाले केही कामहरू बाँकी रहे र ती कामहरू सक्न फेरि ठीक हुनेबित्तिकै म दौड्नुपर्ने अवस्था बन्यो। तर मलाई विश्वास छ, कीर्तिनिधि विष्टको सन्दर्भमा जे कुरा आएको छ, त्यो अवश्य नै उपयोगी छ। उहाँको स्मरणमा उहाँका कृति, उहाँका विचारको संकलन, उहाँका स्मरणमा लेखिने कुराहरू सार्वजनिक हुनु आवश्यक छ। हामीले उहाँका अरू पनि अनुभव आदिलाई आगामी दिनमा प्रकाशन गर्दै लैजान जरुरी छ।

म के कुरामा विश्वस्त छु भने कीर्तिनिधि विष्टले कहिले पनि नराम्रो बाटो हिँड भनेर कसैलाई भन्नुभएको छैन। नराम्रो काम गर कसैलाई भन्नुभएको छ जस्तो मलाई लाग्दैन। छैन भन्ने कुरामा म विश्वस्त छु। उहाँले देशलाई माया गर भन्नुभएको छ। देशप्रति बफादार होऊ भन्नुभएको छ, निष्ठाका साथ अगाडि जाऊ भन्नुभएको छ। नराम्रो काम नगर, सही काम गर भन्नुभएको छ। कायर, काँतर नहोऊ भन्नुभएको छ, सुरो भएर निस्क, सत्यको पक्षमा काम गर, त्यही भन्नुभएको छ।

मैले उहाँको जीवनको अन्तिम अन्तिमतिर, स्वर्गीय हुनुभन्दा केही दिनअघि मात्रै उहाँलाई निवासमा गएर भेटेँ, उहाँका कुरा सुनेँ। मलाई त्यति बेला फेरि एकपल्ट आफू कक्षामा बसेको विद्यार्थी जस्तो लाग्यो– उहाँका कुराहरू सुन्दाखेरि। मैले अझ प्रेरणा लिनुपर्छ, अझ सिक्नुपर्छ। त्यस्तो लाग्यो र म आफूले एउटा गुरुको अगाडि बसिरहेकोे विद्यार्थीको महसुस गरेँ। त्यस प्रकारको उहाँको व्यक्तित्व थियो। 

उहाँ हामी जस्तै बाटोमा हुनुहुन्नथ्यो। त्यस कारण उहाँको नरमपन्थी राजनीतिअन्तर्गत उहाँले काम गरिराख्नुभयो। उहाँसँग मेरा मतभेद पनि थिए, स्वाभाविक नै हो। म ठान्थेँ, उहाँ जस्तो स्थापित मान्छेले नेतृत्व गर्नुपर्छ। तर उहाँ त्यस अवस्थामा हुनुहुन्नथ्यो। तर हामीलाई उहाँले यस्तो नगर भन्नुभएन।

उहाँले सुनाउनुभयो, कसरी उहाँले काम गर्नुभएको थियो। कस्तो परिस्थितिमा काम गर्नुभएको थियो। उहाँको सन्तुलित परराष्ट्र नीति, राष्ट्रिय हितको रक्षा, सम्वर्द्धन, सार्वभौमसत्ता र स्वाधीनताको रक्षा। त्यस्तै, व्यावहारिक रूपमा त्यसको प्रयोग, भौगोलिक अखण्डताप्रति दृढ भएर देशको स्वाभिमानप्रति गर्व गर्दै उभिएका उहाँका ती पलहरू। 

अब प्रणालीको त के कुरा गर्ने? २४० वर्ष त शाहहरूले खाए, शाहको शासन छ, राजतन्त्रको शासन छ भनेर हात बाँधेर बस्ने कुरा त भएन। कतिले त्यसै व्यवस्थाअन्तर्गत काम गर्नुपर्‍यो होला। चरम ज्यादती हो– निर्वाचित संसद भंग गर्ने, निर्वाचित सरकार भंग गर्ने। निर्वाचित लोकप्रिय प्रधानमन्त्रीलाई गिरफ्तार गरेर थुन्ने भनेको ज्यादती हो। त्यतिखेर नै राजतन्त्र उखेलेर मिल्काउनुपथ्र्यो। सकेनन् नेपाली जनताले। 

अत्याचार हो। लोकतन्त्र, जनताको आदेश र अभिमतप्रतिको खिल्ली उडाएर अपमान गरेको हो। त्यतिबेलै फाल्नुपथ्र्यो तर सकेनन् नेपालीले। अब ३० वर्षसम्म के गरेर बस्ने त भन्दा त्यो व्यवस्थाअन्तर्गत काम नगरेर के गर्ने? त्यसको नेतृत्व त्यो अलोकतान्त्रिक प्रणाली फाल्ने नेतृत्व राजनीतिक पार्टीहरूले गर्नुपर्थ्यो तर सकेनन्।
मैले पनि त्यो अलोकतान्त्रिक प्रणालीको अन्त्य गर्न नेतृत्व गर्न पहल गर्दा झ्यालखाना पो हालिदियो समातेर। १४ वर्ष मै पो बसेँ झ्यालखाना। राजनीतक पार्टीहरूले नसकेको जनताले के गर्नु? त्यसैले जनता कोही काममा गए, कोही पदमा गए, कोही ओहोदामा गए, कोही जागिरमा गए। त्यसलाई नकारात्मक ढंगले लिनुहुँदैन। त्यस परिस्थितिमा त्यसैगरी काम गर्नुपर्थ्यो। 

मैले पाएसम्म, बुझेसम्म, देखेसम्म कीर्तिनिधि विष्ट, जनमतको अनादर गरेर होइन, देशको परिस्थति र बाध्यतालाई हेरेर देशको भलो कसरी गर्न सकिन्छ, भन्ने धारणा राख्नुहुन्थ्यो। 

म २०४४ सालमा जेलबाट छुट्दा देशमा राजतन्त्र र निरंकुश पंचायती व्यवस्था नै थियो। त्यसबेला पनि मैले उहाँसँग कुरा गरेँ। उहाँ पंचायतको समर्थनमा हुनुहुन्थ्यो, निरंकुशताको समर्थनमा होइन। तर उहाँ हामी जस्तै बाटोमा हुनुहुन्नथ्यो। त्यस कारण उहाँको नरमपन्थी राजनीतिअन्तर्गत उहाँले काम गरिराख्नुभयो। उहाँसँग मेरा मतभेद पनि थिए, स्वाभाविक नै हो। म ठान्थेँ, उहाँ जस्तो स्थापित मान्छेले नेतृत्व गर्नुपर्छ। तर उहाँ त्यस अवस्थामा हुनुहुन्नथ्यो। तर हामीलाई उहाँले यस्तो नगर भन्नुभएन।

फेरि २०४४ पछि मैले उहाँसँग परामर्श पनि गरेँ। अब हामी पंचायती व्यवस्थाको निरंकुशताका विरुद्ध लड्छौँ भनेँ। उहाँको त्यसमा विरोध थिएन, मोडरेट हुनुहुन्थ्यो। 
यतिबेला हामी उहाँप्रति श्रद्धासुमन अर्पण गर्छांै। उहाँको स्मृतिमा पुस्तक आएको छ। यसका निम्ति योगदान गर्ने विनोदजीलगायतका महानुभावहरूलाई म हार्दिक धन्यवाद भन्न चाहन्छु। हामीले खोजेर प्राप्त गर्न कठिन हुने चिजहरू उहाँले एक ठाउँमा जम्मा गर्नुभएको छ। तथ्यहरू, तथ्यांकहरू, अभिव्यक्तिहरू, धारणाहरू, सोचहरू, अनुभवहरू। एकै ठाउँमा हामीले संगृहीत रूपमा हामीले उहाँसँग सम्बन्धित सामग्रीहरू पाएका छौँ। 

यति धेरै प्रबुद्ध साथीहरू विष्टजीप्रति आदारभाव, सम्मानभाव राखेर यहाँ उपस्थित हुनुभएको छ। संख्या धेरै ठूलो नहोला, ठूलो गरौँ भनेको भए ठूलो पनि हुन्थ्यो तर यहाँ छानिएको संख्या छ। अत्यन्तै सलेक्टेड। यो संख्या, यस प्रकारको बौद्धिक, प्रबुद्ध, प्रतिष्ठित जमातले उहाँप्रति सम्मान व्यक्त गर्नु, उहाँलाई स्मरण गर्नु र उहाँको सम्मानमा यस प्रकारको कार्यक्रमको आयोजना हुनु धेरै नै महत्त्वको कुरा हो। यहाँ पनि प्रखर राष्ट्रवादी नेता नै लेख्नुभएको रहेछ। वास्तवमा उहाँ प्रखर राष्ट्रवादी नेता नै हो। शब्दमा मात्र होइन, व्यवहारमै।

सामान्य अवस्थामा जतिबेला संकट छैन, राष्ट्रवादी हुन सजिलो छ, देशभक्त हुन सजिलो छ। कठिनाइका बेला देशभक्त हुन गाह्रो छ। बाघ नआउँदा धेरैले बाघसँग कुस्ती खेलेर बाघका बंगारा झारदिन्छन् गफैले। बाघ आयो भने हालत के हुन्छ, बेग्लै कुरा हो। तर कीर्तिनिधि विष्ट बाघ नआएका बेला बाघसँग कुस्ती खेल्ने, गफ खेल्ने मान्छे होइन। बाघसँग लडेर बाघलाई फिर्ता पठाउने मान्छे हो, गो ब्याक भन्न सक्ने। त्यस कारण उहाँ अप्ठ्यारो परिस्थितिमा देशभक्ति देखाउने एउटा देशभक्त हुनुहुन्थ्यो, जसलाई हामी सबैले नमन गर्नुपर्छ।

(पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको स्मृति दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा व्यक्त धारणाको संपादित अंश)

यो पनि पढ्नुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.