थाहा संवाद

'जनताका अपेक्षा र सरकारका कामबीच तालमेल मिलेन'
SHARES

'भक्तपुरमा नेकपालाई स्थायी बनाउनेगरी काम गर्दैछु'

मंसिर १६, २०७५

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएकमो नौ महिना पूरा भएको छ। निर्वाचनमा नेकपाले गरेका वाचाअनुसार ओली नेतृत्वको सरकारले काम नगरेको भन्दै आलोचना भइरहेको छ। जनअपेक्षा एकातिर र सरकारका कामकारबाही अर्कातिर भएको भन्दै  निराशा बढ्दो छ।

    यसै सन्दर्भमा र उनी निर्वाचित भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का समस्या र विकास गतिविधिबारे पूर्वमन्त्रीसमेत रहेका नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतसँग थाहाखबरका लागि जयसिंह महराले गरेको कुराकानीः

     केपी शर्मा ओली नेतृत्वको सरकारको नौ महिना सकिएको छ। सरकारको यो अवधिलाई कसरी लिनुभएको छ

    एउटा त संघीयता कार्यान्वयनको पहिलो वर्षमा छौँ। तीन तहको निर्वाचन भएको छ। तीनवटै तहलाई व्यवस्थित गर्नुपर्ने र संविधानसँग बाझिएका कानुन बनाउनुपर्नेछ। हिजो टाट पल्टेको अर्थतन्त्रलाई उकास्नुपर्नेछ हिजो आन्दोलन र युद्धले मानसिकता गिरेको  प्रहरी र सुरक्षा निकायको मनोबल उठाउनुछ। जनतासँग उनीहरूको टुटेको सम्बन्ध व्यवस्थित गर्नुछ। लामो समयदेखि जकडिएको भ्रष्टाचार अन्त्य गर्नुछ। कर्मचारीभित्र रहेका विकृतिलाई अन्त्य गर्नुछ।

    तपाईंले भन्नु भएको बाटोमा नैं सरकार गएन जस्तो लाग्दैन ?

    यिनै कुराको व्यवस्थापन गर्नुपर्ने सन्दर्भमा भएका कठिनाइले सरकारको पर्फर्मेन्स जनअपेक्षाअनुसार भएन। यद्यपि प्रधानमन्त्री जुन दृष्टिकोण, भिजन र उत्साहका साथ अगाडि बढिरहनुभएको छ त्यसले हामी निराश हुनुपर्ने बिन्दुमा छैनौँ।  राजस्‍व संकलनको यो चार महिनाको स्थिति हेर्दा आशालाग्दो र सन्तोषजनक छ। अपराध नियन्त्रण गर्ने कुरामा समुदाय र प्रहरीबीचको सहकार्य जुन चलिरहेको छ त्यसले अपराधलाई नियन्त्रण र जनता-प्रहरीबीच सम्बन्ध सुमधुर गर्ने कुरामा यसले भूमिका खेल्छ। यो सरकारले मितव्ययिता अपनाएको छ। भ्रष्टाचार नियन्त्रण गरेको छ।

    बिम्स्टेक गर्‍यो, एसिया प्यासिफिकको सम्मेलन भइरहेको छ। अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सम्बन्ध विस्तार भएको छ। अन्तर्राष्ट्रिय तहमा पनि नेपालको छवि राम्रो भएको छ। सम्बन्ध व्यवस्थित भएको छ। भारतसँग सहकार्य गरेर रेलमार्ग निर्माण प्रक्रिया अगाडि बढेको छ। पानीजहाज ल्याउने र मेलम्ची खानेपानी काठमाडौं आउने अन्तिम चरणमा छ। भैरहवा र पोखरा विमानस्थल निर्माण सुरु हुने र निर्माण सम्पन्नको चरणमा पुगेका छन्। 

    सरकारले यतिधेरै काम गर्दा पनि जनताले यो सरकारलाई किन आलोचना गरिरहेका छन्? आस मारिरहेका छन्?

    मुख्‍य कुरा त  जनताका अपेक्षा र सरकारले गरिरहेका कामबीच तालमेल नमिलेर आलोचना बढी भएको हो। जनताले देख्ने भनेको सडक हो। सडकमा खाल्डाखुल्डी र धुलो बढी भएकाले जनताको सरकारप्रति आक्रोश हो। सडकको समस्या न्यायालयसँगको असमझदारीका कारण पनि काम हुन सकेको छैन। कलंकी नागढुंगा सडकको कुरा गर्दा डेढ अर्ब बजेट छ अदालतले क्षतिपूर्तिको फैसला नै ५५ अर्बको गरेको छ। यस हिसाबले त कुनै पनि सडक बन्दै बन्दैनन्। किनभने १३ खर्बको बजेट छ १० किलोमिटर बाटो बनाउनलाई ५५ अर्ब मुआब्जा लाग्ने फैसला आउँछ। त्यस हिसाबले न्यायालय र सरकारबीचमा पनि समझदारी बनाउनुपर्नेछ। सडक निर्माण जस्ता देखिने काम  व्यापक रूपमा सुरु भएपछि सरकारप्रति जनताको आक्रोश कम हुन्छ। 

    तपाईंको पार्टी नेकपामा प्रधानमन्त्रीको टिम परिवर्तन गर्नुपर्छ भन्ने कुरा चलेको भन्ने थियो। बाहिर पनि सरकारबाट केही मन्त्रीलाई बाहिरको बाटो नदेखाएसम्म ओली नेतृत्वको सरकारले काम गर्न सक्दैन भन्ने बुझाइ देखिन्छ, यसमा तपाईंको धारणा के छ?

    यो सही कुरा हो। सरकारलाई व्यवस्थित गर्नुपर्छ। पार्टी एकता भएको छ। केपी कमरेडको टिममा प्रचण्ड कमरेडलाई माया गर्ने मान्छे पनि हुनुपर्छ र प्रचण्ड कमरेडको टिममा केपी कमरेडलाई माया गर्ने मान्छे पनि हुनुपर्छ। पूर्वमाओवादी र पूर्वएमालेको त्यो तहको एकता गरेर व्यवस्थापन हुनुपर्छ। 

    प्रधानमन्त्रीले अहिले हाइटेक विधिबाट सबै मन्त्रालयको समग्र मातहत निकायको मूल्यांकन गर्दै हुनुहुन्छ। मलाई लाग्छ अब प्रधानमन्त्री नयाँ उत्साह र अभियानका साथ जनतामा परिवर्तनको महसुस हुनेगरी आउनुहुन्छ। आफ्नो टिम र मन्त्रिपरिषद् लगायतका कुरा व्यवस्थित गर्नुहुन्छ।

    फेरबदल पनि गर्ने लक्षण छन् कि?

    आवश्यक पर्दा फेरबदलसमेत गरेर जानुहुन्छ भन्ने मलाई लाग्छ। त्यो गर्न आवश्यक छ र मेरो त्यो अनुमान पनि छ। 

    मन्त्रीहरूको फेरबदल गर्ने बेला आइसकेको हो?

    सायद एक वर्ष कुर्नुभएको होला! त्यसपछि परिवर्तन  हुन्छ जस्तो लाग्छ।

    ओली र प्रचण्डको टिममा एक अर्कालाई माया गर्ने व्यक्ति राख्नुपर्छ भनिहाल्नुभयो, केन्द्रमा पार्टी एकता कहिले टुंगिएला? 

    पार्टी एकताको टुंगो लगाउन शिर्ष नेताहरू लाग्नुभएको छ। सम्भवतः अबको स्थायी समिति बैठकबाट नै पार्टी एकता टुंगो लाग्छ। स्थानीय तहसम्म कसरी एकता गर्ने भन्ने खाका आउँछ र दुई पार्टीको एकता टुंगो लाग्छ। 

    पार्टीको भक्तपुर जिल्लाको नेतृत्वमा तपाईं हुनुहुन्छ, एकता प्रक्रिया कहाँ पुगेको छ?

    दुई पार्टी एक बन्ने प्रक्रियामा छ। भक्तपुरको कुरा गर्दा तत्कालीन माओवादी यो प्रदेशका सबै जिल्लाभन्दा कमजोर संगठन भएको जिल्ला हो। त्यसो भनेर हामीले उहाँहरूलाई कम आँक्ने कुरा भएन। एउटा सन्तुलनमा मिलाउँ भन्ने कुरा भएको छ। जसरी अन्यत्र समस्या परेको छ, भक्तपुरमा पनि समझदारी जुटाउन सकिएको छैन। पार्टी केन्द्रले एउटा नीति बनाएर पठाए जिल्लामा पनि एकता टुंगिन्छ। 

    विषय परिवर्तन गरौँ, सांसदहरूले पाउने पूर्वाधारको कार्यक्रमको ४ करोडका योजना भर्खरै विनियोजन गरेर फर्किएका छन्, तपाईंले कुन कुन योजनामा विनियोजन गर्नुभयो?

    हामीले मापदण्डअनुसार २० भन्दा बढी योजना बनाउन नपाइने र ५० लाखका दुईवटा अनिवार्य बनाउनुपर्ने भन्ने यसको मापदण्ड छ। १० लाखभन्दा सानो योजना बनाउन नपाइने भन्ने छ। त्यसलाई ध्यान दिएर दुई योजना महत्वमा परेका छन्। पहिलो, सडक र दोस्रो सामुदायिक भवनहरू। कतिपय ठाउँमा ज्येष्ठ नागरिकहरूको आश्रयस्थल जस्तो र कतिपय स्थानमा प्रहरी चौकीसमेत स्थापना गर्ने र किरियापुत्री भवनहरू जस्ता सामाजिक र विकासका काम प्राथमिकतामा परेको छ। 

    सांसदहरूले ससाना योजनामा कोषको रकम कनिका छरेजस्तै बनाउने भएकाले निश्चित मापदण्ड तोकिएको थियो, यो कत्तिको व्यावहारिक लाग्यो?

    माग र सन्तुलन मिलाउन बडो कठिनाइ छ। तर, त्यसरी नबाँध्ने हो भने प्रभावकारी हुने थिएन। 

    अहिले कसरी प्रभावकारी भयो?

    पहिले क्षेत्र पूर्वाधारको कार्यक्रम कहाँ गयो र के विकास भयो भन्ने कसैलाई थाहा हुने थिएन। अभौतिक संरचनामा बढी खर्च हुने गरेको थियो। जस्तै, प्रतिष्ठानहरूलाई सहयोग, संघसंस्था र क्लबहरूलाई सहयोग। यसपालि त्यसखालका कार्यक्रममा बजेट हाल्ने व्यवस्था थिएन। भौतिक संरचनामा मात्रै बजेट विनियोजन गर्न पाइन्छ। त्यसैले विगतबाट पाठ सिकेर ल्याइएको मापदण्डले यसपालि प्रभावकारी भएको छ। 

    अबदेखि सांसदहरूले पाएको रकमबाट केही न केही पूर्वाधार देख्न पाइएला त?

    अब देखिने काम हुन्छन्। अर्को चुनावमा जाँदासम्म सांसदहरूले केही न केही त देखाउनैपर्छ। तर, यत्ति बजेट भने कमै हो। भक्तपुरमा मैले अन्य क्षेत्रबाट पनि धेरै बजेट पुर्‍याएको छु। 

    भक्तपुरको कुरा गरिहाल्नुभयो, बर्खा लाग्यो कि हनुमन्तेको बाढीको डर हुन्छ। अहिले त्यहाँ करिडोर बनिरहेको छ, यो कसरी अगाडि बढिरहेको छ? 

    भक्तपुरको हनुमन्ते त्यहाँ बग्ने जम्मा पानीको ८५ प्रतिशत पानी बग्ने खोला हो। त्यो भक्तपुरको 'लाइफ' लाइन हो। हामीलाई बर्खाको हनुमन्ते त्रासको बन्यो र हिउँदको हनुमन्ते रहरलाग्दो बनेन, ढल र फोहोरका कारणले। त्यसकारण हामीले हनुमन्ते करिडोर र सरसफाइ अभियान चलाइरहेका छन्। यसले विनाशको अन्त्य गर्ने भयो र विकास तथा सरसफाइ गर्ने कुरा सँगसँगै लान खोजिरहेका छौँ। त्यसो भएकाले यसपालि ८१ करोडको बजेट उच्चस्तरीय बागमती सभ्यताबाट व्यवस्थापन गरेका छौँ। यसपालि हामी राधेराधे क्षेत्रदेखि बालकोट जाने चारदोबाटो चोकको पुलसम्म करिडोर निर्माण गरिसक्छौँ। गत असार २७ को बाढीले ठूलो क्षति त्यही खण्डमा खोला सानो भएकाले थियो, त्यसकारण हामी यसपालि त्यो खण्ड पूरा गर्छौँ। 

    अबको बर्खामा त्रास हुँदैन भन्ने हो? तर, तीनवर्ष पहिले नै करिडोर निर्माण गरिसक्ने रहेछ, त्यो के भएको हो? 

    तीनवर्ष अगाडि केपी शर्मा ओली नै प्रधानमन्त्री भएको बेलामा हामीले मेलम्ची खानेपानीबाट दायाबाँया ढल राख्ने ७८ करोडको काम गरेका हौँ। त्यतिखेर करिडोरको कन्सेप्ट मात्र आएको थियो। अहिले हामीले करिडोरको बजेट नै व्यवस्थापन गरिसकेका छौँ। अहिलेको हनुमन्तेको वास्तविक साइज ५ मिटरभन्दा छैन। करिडोरले बाढी रोक्छ कि रोक्दैन भन्ने सन्दर्भमा हनुमन्ते करिडोरलाई २० मिटर चौडाइको बन्दै छ र त्यसको दुवैतर्फ २०-२० मिटर चौडाइका सडक निर्माण भइरहेका छन्। यसले ६० मिटरको खुला मैदान हुन्छ। गतवर्ष आएको बाढीको पानीको रेकर्ड हेर्दा ११३ मिलिलिटर पानी नगरकोट र ९५ मिलिलिटर पानी भक्तपुरमा आएको छ। त्यत्रो पानी आउँदा अब हनुमन्तेले थेग्छ भन्ने हो। अब बाढी अन्त्य हुन्छ र आगामी बर्खाको सिजन आउनुपहिले नै निर्माण सक्ने लक्ष्यका साथ काम अगाडि बढेको छ। 

    करिडोर निर्माणले गर्दा स्थानीय जनता सुकुम्बासी हुने हुन् कि भन्ने डर छ, व्यवस्थापनको यो पाटोलाई कसरी लिनुभएको छ?

    अहिले मूलतः दुई ठाउँमा विवाद छ- सूर्यविनायक नगरपालिका वडा नम्बर २ र ३ तथा मध्यपुरका वडा नम्बर ३ र ४ मा विवाद छ। सीमांकनको विवाद हो। त्यहाँ ६४ रोपनी खोलाको जग्गा व्यक्तिको नाममा दर्ता भएको छ। त्यो कानुनी प्रक्रियामा अदालतमा गएको र दोषी दर्ताको रूपमा अदालतले फैसला गर्छ भन्ने लाग्छ। अर्को, बालकोट र ठिमीका मान्छेहरूलाई खोलाले धार बदल्दा सार्वजनिक जग्गा मासिएला भन्ने पीर परेको छ। अहिले कतिपय ठाउँमा खोला २०२१ सालमा नापी भएको स्थानमा बगेको छैन। नयाँ ठाउँमा तीन पक्की पुल र धेरै घर निर्माण भइसकेका छन्, अब ०२१ सालको ठाउँमा खोला लैजान सम्भव छैन। त्यसैले अहिले खोला जहाँ छ करिडोर त्यही बनाउने तय भएको छ। अब जसको आधासम्म जग्गा पर्छ उनीहरूलाई त लाभ नै हुन्छ तर जसको आधाभन्दा बढी पर्छ तथा घर नै पर्छ उहाँहरूको हकमा क्षतिपूर्ति दिने हो। 

    अन्तर्राष्ट्रिय रंगशाला, कबर्ड हल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भक्तपुरमा बनाउने प्रस्ताव गरेको भन्नुभयो, यी क्षेत्र त्यहाँ राख्दा के फाइदा हुन्छ?

    भक्तपुरमा प्रदेश ३ को राजधानी बनाऊँ भन्यौँ। जहाँ शिक्षा विभाग लगायतका असंख्य सरकारी कार्यालय छन्। यो प्रदेश ३ को केन्द्रमा पनि पर्छ। ती कुरा प्रदेश ३ का सांसदहरूले अहिले महसुस गर्नुभएको छ, हेटौँडा जाँदा वाक्क हुनुभएको छ। त्यसपछि किन ठूलाठूला योजना माग गर्‍यौँ भने उपत्यकाभित्र भक्तपुरमा जत्तिको खाली ठाउँ अन्त छैन। अहिले तीन स्मार्ट सिटी पार्न सफल भएका छौँ। दुईको डिपिआरको प्रक्रिया सुरु भएको छ भने एकको सम्भाव्यता अध्ययन भइरहेको छ। स्मार्ट सिटी एक लाख रोपनी जग्गामा ल्यान्ड पुलिङको माध्यमबाट गरिएको हो। १७ हजार रोपनी एउटा र अर्को २२ हजार रोपनी जग्गामा बन्दैछ। अब जग्गाको मुआब्जा तिरेर त हामी कुनै ठूला संरचना बनाउन सक्दैनौँ। 

    भक्तपुरमा सहजै रंगशाला बनाउन सक्छौँ। ल्यान्ड पुलिङको विधिबाट जाँदा हामी सहजै अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउन सक्छौँ। नागरिक उड्डयन प्रधिकरणले लामो समयदेखि लामो समयदेखि जग्गा अधिग्रहण गरेर राखेको छ। त्यहाँ अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र बनाउने हो र उपत्यकामा दुई हजारको कार्यक्रम गर्न नसक्ने अवस्थाको अन्त्य गर्ने हो। त्यसमा काम अगाडि बढेको छ। स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने योजना पनि अगाडि सारेका छौँ। 

    यति सानो भूगोल भएको जिल्ला यो सबै विकास थेग्ला

    प्रश्न अहिले निर्माण गर्ने कि नगर्ने भन्ने हो। अहिले बनायो भन यी संरचना रहन्छन्, बनाएर भने यति तीव्र गतिमा बस्ती विकास भइरहेको छ कि अबको १० वर्षपछि हामी टुलुटुलु हेर्ने मात्रै हो। अहिले पनि कौशलटार लोकन्थली गठ्ठाघरमा यी निर्माणका काम गर्नै सम्भव छैन। 

    प्रदेश राजधानीको कुरा गर्नुभयो, प्रदेश ३ को नाम र राजधानीको विषयमा नेकपाले के गृहकार्य गर्दै छ? 

    नामको बारेमा धेरै ठूलो विवाद छैन। सम्भवतः बागमती होला। प्रदेश राजधानीको विषय कठिन भयो। विगतमा नेमकिपाको विरोध र कमल थापा मन्त्री भएको कारणले हेटौँडा तोकियो। अहिले संयोग के परिदियो भने मुख्यमन्त्री हेटौँडाको प्रतिनिधित्व गर्ने पर्नुभयो। अब त्यो हेटौँडाबाट सार्ने मुख्यमन्त्रीका लागि चुनौतीको विषय बन्ने भयो। त्यहाँबाट सर्दा कमल थापा लगायतका अन्य दलहरूले आन्दोलन घोषणा गर्छु भनेर चुनौती दिएको स्थिति छ। हेटौँडाबाट सार्ने कुरा मुख्यमन्त्रीको राजनीतिक भविष्यसँग जोडिएको हिसाबले आयो। त्यसको विकल्पको रूपमा सार्ने ठाउँ पनि भक्तपुर र काभ्रेमा कहाँ राख्ने भनेर सकस भएको छ। किनभने सुविधाका हिसाबले र सबै प्रदेश सांसदहरूको घर कोठा काठमाडौं उपत्यकामा रहेकाले धुलिखेल सम्भव नभएको अवस्था छ। काभ्रे सार्न सुविधाको हिसाबले र भक्तपुर सार्न उपत्यकाभित्र भएको र संघीय राजधानी यतै भएकाले गाह्रो भएको छ। यो विषय कठिन त कठिन भएको छ तथापि एउटा टुंगोमा त पुर्‍याउनैपर्छ। 

    विगतमा नेपाल मजदुर किसान पार्टी र नेपाली कांग्रेसले जित्दै आएको क्षेत्रबाट निर्वाचित भएर प्रतिनिधिसभामा आउनुभएको छ, यसको लाभ के दिँदै हुनुहुन्छ? 

    भक्तपुरका जनता धेरै विवेकशील छन्। उहाँहरूले परिवर्तनलाई सम्बोधन गर्दै कांग्रेसलाई ०४६ सालमा जितायो, पछि पनि कांग्रेस जित्दै आयो। नेमकिपाले परम्परागत हिसाबले संगठन निर्माण गरेर गढको रूपमा चिनिएको हुनाले अहिले पनि एउटा क्षेत्र त निरन्तर नेमकिपालाई चिनाउँदै आएको छ अर्कोमा पालैपालो जिताएका छन्। भक्तपुरका जनताले जुन अपेक्षाले उनीहरूलाई जिताएको थियो त्यो अपेक्षा पूरा हुन सकेन भनेर विकल्पको रूपमा मलाई जिताएका हुन्। 

    मैले जनताले के भनेका थिए भने सिंहदरबारबाट भक्तपुरको सदरमुकाम जम्मा १३ किलोमिटर टाढा रहेको भए पनि हामी बत्तिमुनिको अँध्यारोमा रह्‍यो। हामी विकट रह्यौँ। बागमती करिडोर बन्छ विष्णुमती करिडोर बन्छ हनुमन्ते करिडोर बन्दैन? काठमाडौं ललितपुरमा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनका रूपमा अर्बौँका ठूला आयोजना जाँदा भक्तपुरमा किन दुई करोडभन्दा बढी जाँदैन? यी प्रश्नलाई सम्बोधन गर्न हनुमन्ते करिडोर, पेप्सीकोला सल्लाघारी सडक बनाउँदै छौँ। बालकुमारीदेखि मनोहराको माथिल्लो पुलसम्म करिडोर बनाउँदै छौँ। हामीले अन्तर्राष्ट्रिय रंगशाला, कबर्ड हल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भक्तपुरमा बनाउने प्रस्ताव गरेका छौँ। विगतमा म मन्त्री हुँदा सुरु गरेका २३ वटाजति सडक विस्तार गर्दैछौँ। यसरी भक्तपुरलाई व्यवस्थित र विकसित जिल्ला बनाउने अभियान चलाएको छु। 

    भविष्यमा कांग्रेस र नेमकिपाको चुनौती आउँछ भनेर त्यसलाई सामना गर्न विकासमा तीव्रता दिनुभएको हो वा त्यहाँको आवश्यकताले हो?

    यो विषयलाई चुनौती सामना गर्ने कोणबाट व्याख्या गर्दा नकरात्मक अर्थ लाग्ला। यसलाई विगतमा निर्वाचित भएका प्रतिनिधिहरूले भक्तपुरका जनताहरूको भावनाअनुसार काम गर्न नसकेकाले उहाँहरूको मत अस्थिर भएर रह्यो। अब मैले भक्तपुरका मतदाताहरूको चाहना अनुसार काम गरिरहेको छु। एउटा कर्मचारीलाई निश्चित परीक्षणकाल पूरा गरेपछि स्थायी गरिन्छ त्यसरी नै मेरो यो परीक्षणकाल हो, अबको दुई तीन वर्ष काम गरिसकेपछि मलाई अथवा नेकपालाई स्थायी बनाउने काममा भक्तपुरका जनताले साथ दिन्छन्। 

    अर्को क्षेत्रमा नेमकिपाको दबदबामा धक्का दिने कुनै योजना छैन?

    नेमकिपाको संकीर्ण शैली, विकासविरोधी चरित्र, जडसूत्रवादी अथवा जातीय संकीर्णताको घेराभित्र सीमितता छ त्यो धेरै रहँदैन। जहाँ नेमकिपाले जितेको छ त्यसको एक नगरपालिका नेकपाले जितेको छ। दुई प्रदेशमध्ये एक प्रदेश नेकपाले जितेको छ। अब एक नम्बर क्षेत्रमा पनि नेमकिपाले विजय जारी राख्ने कार्य धेरै चुनौतीपूर्ण हुन्छ। 

    भक्तपुरका स्थानीय तहले कसरी काम गरिरहेका छन्?

    भक्तपुरको चाँगुनारायण नगरपालिकाले संसारकै नमूना स्मार्ट सिटी निर्माण प्रक्रिया अगाडि बढाएको छ। फिनल्यान्ड सरकारले त्यसको डिपिआर तयार गर्दैछ। वीर अस्पतालको आधुनिक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण हुँदैछ। मानव निर्मित ताल, परम्परागत नमूना बस्ती निर्माण गर्दैछौँ। मध्यपुर ठिमी नगरपालिकाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्दैछ। मध्यपुरमा तीन नमूना योजना छन्- मनोहरा, दिव्येश्वरी र कमेरेटार योजना छन्। यी तीन योजना चाँडै सक्दैछौँ। सूर्यविनायकमा रंगशाला र प्राणी उद्यान केन्द्र निर्माण गर्दैछौँ। हनुमन्ते करिडोरको कुरा अघि नै भइसेकको छ। कोटेश्वरको जाम अन्त्य गर्न वैकल्पिक मार्ग सूर्यविनायक र मध्यपुर हुँदै निर्माण गर्दैछौँ।

    हाम्रा परम्परागत र सम्पदा बस्तीहरूलाई व्यवस्थित गर्ने काम भइरहेका छन्। विशेष गरेर नेवारी कला संस्कृति झल्काउने गरेर पर्यटन प्रवर्धन गर्ने काम भइरहेका छन्। नील वराहीदेखि दक्षिण वराही क्षेत्रमा त्यो खालको पर्यटन व्यवस्था गरेर डाँडा काँडामा नगरकोटदेखि अनन्तलिंगेश्वरसम्म ग्रामीण पर्यटनको नमूना बनाउने काम भइरहेका छन्। त्यहाँ बञ्जी जम्प, प्याराग्लाइडिङ, होमस्टे लगायतका असंख्य पूर्वाधार बनाएर जाने भनेर अगाडि बढिरहेको हो। सूर्यविनायक नगरपालिकाले शिव सर्किट बनाएर हिन्दू धर्मालम्बीहरूको आकर्षणको केन्द्र बनाउने भनेर व्यवस्थित पर्यटनको योजनासहित अगाडि बढेको छ। त्यसैले, भक्तपुरका सबै नगरपालिकाले केही न केही राष्ट्रियदेखि स्थानीय तहसम्मको व्यवस्थापनका नमूना काम गर्दैछन्।

जयसिंह महरा

जयसिंह महरा राजनीति, अपराध, कला, साहित्य र संस्कृतिमाथि कलम चलाउँछन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]