|


संखुवासभा : नेपालकै प्रसिद्ध चैनपुरे करुवा संकटमा परेको  छ। संखुवासभाको चैनपुरमा उत्पादन हुने चैनपुरे करुवा बनाउने कच्चा पदार्थ पर्याप्त नहुँदा संकटमा परेको छ।

करुवा बनाउने  मैन, कासाँ धातु, गोल स्थानीय स्तरमा उपलब्ध नहुँदा चैनपुरे करुवा ब्यवसायी  निराश भएका छन्। पहिले पहिले गाउँ घरमै पर्याप्त कच्चा पदार्थ उत्पादन हुने छाडेको अहिले छिमेकी देश भारतको भर पर्नुे परेकाले करुवा उत्पादनमा समेत कमी आउन थालेको छ। करुवा पानी पिउने प्रयोजनको लागि मात्र नभई विभिन्न धर्म, समुदायले  शुभ कार्यमा महत्वपूर्ण सजावटको सामग्रीको रुपमा लिइन्छ। मिसिनबाट बनाएका करुवा सस्तो मूल्य भए पनि हस्त निर्मितको मूल्य केही बढी पर्ने व्यवसायी देबेन्द्र शाक्यले बताए।

पछिल्लो समय चैनपुरे करुवाले लोकप्रियताले यसको माग विदेश समेत बढेको पाइन्छ। व्यवसायी देबेन्द्रका अनुसार माग धेरै आउँछ तर माग अनुसार उत्पादन नै गर्न नसकिने अवस्था छ। उनले हातले बनाउनु पर्ने हुँदा र पर्याप्त कच्चा पदार्थ नपाइने भएकाले  माग धान्न नसकिएको बताए। 

काठमाडौं नागवहालबाट झण्डै डेढ शताब्दी पहिले केही शाक्य परिवार संखुवासभाको चैनपुर आएर बसेसँगै चैनपुरमा करुवाको उत्पादन सुरु भएको स्थानीयको भनाई छ। परम्परागत शैली र सीपको प्रयोग गरिवी विभिन्न धातुको प्रयोगबाट बनाइन्छ। कलात्मक शैलीमा निर्माण गरिएको यहाँको करुवा अहिले घरमा सजावटको लागि पनि प्रयोग हुन थालेको छ।

संखुवासभाबाट माया चिनोको रुपमा समेत लगिने करुवाको माग उच्च भएको उमेश शाक्यले बताए। उनका अनुसार जिल्लामा आउने स्वदेशी तथा विदेशी पाहुनालाई संखुवासभाको चिनो स्वरुप कोसेली चैनपुरे करुवा दिने परम्परा रहेको बताए। पर्याप्त उत्पादन हुन छाडेपछि आजभोलि चैनपुरे करुवा पाउन नै मुस्किल पर्न थालेको शाक्यको भनाई छ।

‘दुई दशक अघिसम्म तीन दर्जनभन्दा बढी करुवा उत्पादक रहेको चैनपुर क्षेत्रमा कालीगढ र कच्चा पदार्थ अभावका कारण अहिले उत्पादन गर्नेको संख्या पनि सीमित भएको छ। माग अनुसारको उत्पादन गर्न नसक्दा माग धान्न नै मुस्किल हुने गरेको छ’, शाक्यले भने। चैनपुरे करुवा देशमा चलेको दशवर्षे द्वन्द्व तथा पछिल्लो पुस्ताले वास्ता नगर्दा थलिएको सरोकारवालाको भनाई छ। करुवा उत्पादनका लागि सखुवाको काठको गोल चाहिन्छ तर गोल उत्पादनका लागि  सामुदायिक वनले रोक लगाइ झन्झटिलो प्रक्रियाका कारण पनि यो व्यवसाय थप संकटमा परेको पदम शाक्यले बताए। 

चैनपुरे करुवालाई पहिलेकै अवस्थामा फर्काउन कच्चा पदार्थको सहजता, प्रविधि र सीपको विकास गर्न र दक्ष जनशत्ति उत्पादन गर्ने  सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ। चैनपुरे करुवाको उत्पादन बढाउनमा दक्ष जनशक्ति बढाउनु पर्ने र आवश्यक कच्चा पदार्थ संकलन गर्नका लागि सामुदायिक वनले सहजता अपनाउनु पर्ने स्थानीयको भनाई छ।

एक शताब्दी अघिदेखि ख्याति कमाउँदै आएको चैनपुरे करुवाको शान यतिबेला भने अस्ताउँदो अवस्थामा पुगेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.