|

पर्सा : पर्सामा कार्यरत एकजना प्रहरी सहायक निरीक्षक (असई) घुस लिएको अभियोगमा निलम्वनमा परेका छन्। पर्साको छिपहरमाई गाउँपालिका ३ मा रहेको बोर्डगाईं प्रहरी चौकीमा कार्यरत असई प्रमोदप्रसाद साह घुस लिएको अभियोगमा निलम्बनमा परेका हुन्।

प्रहरी आचरण बाहिर गएर आर्थिक अपचलन गरेको अभियोगमा अनुसन्धानका लागि असई साह निलम्बनमा परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। निलम्बनमा परेका प्रहरी सहायक निरीक्षक साहले साढे ६ हजार रुपैयाँ घुस लिएको फेला परेपछि निलम्बनमा परेको प्रहरी श्रोतले जनाएको छ।

पहिलेदेखि नै उनको बारेमा जनगुनासो आइरहेकोले विशेष निगरानी राख्दा केही आधार फेला परेकोले अनुसन्धानका लागि आन्तरिक कारबाही प्रकृया अगाडि बढाइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। 'प्रहरी संगठन र आचरणविपरीत कार्य गरे जो कोही प्रहरी पनि आन्तरिक र कसुर अनुसारको कारबाहीमा पर्छ। यसलाई अन्यथा लिनु हुँदैन' उनले भने।

बोर्डगाईं प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रामदरेश साहले भने यो विषयमा आफूहरूलाई केही थाहा नभएको तर असई साह भने जिल्लामा गएको सम्म थाहा भएको तर्क गरे। जिल्ला गएपछि थप के भइरहेको छ भन्ने आफूलाई थाहा नभएको उनको भनाइ छ।

यता पर्सा प्रहरीले नै एकबर्ष अगाडिदेखि ज्यान मार्ने उद्योगमा फरार रहेका एक अभियुक्तलाई पनि आइतबार पक्राउ गरेको छ। पर्साको जिराभवानी गाउँपालिका ४ का अर्जुनमहतो थारूलाई ज्यानमार्ने अभियोगको फरार रहेको भन्दै पक्राउ गरेको हो। प्रहरीको तथ्यांकमा उनी फरार अभियुक्त रहेकोले अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.