|

फ्रान्समा इन्धनको मूल्यवृद्धिविरुद्ध सवारीधनीहरूको सडक प्रदर्शन हिंसात्मक भएको छ। प्रदर्शनमा संगल्न एकजनाको मृत्यु भएको छ। प्रदर्शनका क्रममा भएको दुर्घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

दक्षिणी फ्रान्सको अर्लिसमा सरकारविरोधी प्रदर्शनका क्रममा १० किलोमिटर सडक अवरूद्ध गर्ने क्रममा एउटा भ्यान र ट्रक एक आपसमा ठक्कर खाँदा भ्यानका चालकको मृत्यु भएको टारास्कनका अभियोजनकर्ता प्याट्रिक देशजार्डिनले समाचार एजेन्सी एएफपीलाई बताए।

विगत केही समयदेखि पहेंलो पहिरनमा प्रदर्शनमा उत्रिएका सवारीधनीले इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनका क्रममा राजधानी पेरिसमा मात्रै १०० जना घाइते भएका छन्। घाइतेमध्ये २३ जना सुरक्षा फौजका व्यक्ति भएको बताइएको छ। प्रहरीका अनुसार ४०० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्।

प्रदर्शनकारीले आइतबार १० किलोमिटर लामो सडकखण्डमा यातायात अवरूद्ध गर्ने कार्यक्रम राखेका थिए।

यसैबीच, राष्ट्रपति म्यानुअल म्याक्रोँले समस्या समाधानका लागि आपतकालिन बैठक बोलाएका छन।  

अर्जेन्टिनामा भएको जी–ट्वान्टी सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएका म्याक्रोँले प्रधानमन्त्री, गृहमन्त्री, तथा उच्च अधिकारीलाई बोलाई समस्याबारे जानकारी लिएको बताइएको छ। ‘मलाई हिंसा कदापि मान्य हुने छैन’, अर्जेन्टिनाबाट स्वदेश फर्किनु पहिले आर्क डु ट्रिउम्फमा म्याक्रोँले बताएका थिए। उनले थपेका थिए, ‘कुनै पनि कारणले सरकारी अधिकारी, पत्रकार र व्यवसायीमाथिको आक्रमणलाई पुष्टि गर्न सक्दैन।‘

फ्रान्समा संकटकाल लगाउने तयारी भइरहेको समाचारहरूमा जनाइएको छ। बीबीसीले फ्रान्स सरकारका प्रवक्तालाई उदृत गर्दै प्रदर्शन रोक्न संकटकाल लगाउनेबारे छलफल भइरहेको लेखेको छ। ट्याक्सका कारण इन्धनमा भएको मूल्यवृद्धि र बढ्दो महंगीका कारण जनता सडक प्रदर्शनमा उत्रिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.