|
फोटो : दिपक केसी

काठमाडौं : बिहीबार उर्जा मन्त्रालयले सरकारको सय दिनको अवसरमा पत्रकार सम्मेलन गर्‍यो। धेरै पत्रकारहरुको जिज्ञासा काठमाडौंमा लोडसेडिङ अन्त्यको घोषणा कहिले गरिन्छ भन्ने थियो। तर पत्रकारको त्यो अपेक्षा पूरा भएन।

'पहिले प्रचार गरेर काम गर्ने मेरो बानी छैन यहाँ त पानी जहाजको प्रचार पनि गरियो तर मेरो बानी काम गरेर देखाउने छ' उर्जा मन्त्री जनार्दन शर्माले भने।काठमाडौंमा अब लोडसेडिङ हुन्छ या हुदैन भन्ने पत्रकारको प्रश्‍न पछि मन्त्री शर्माले भने 'जनतालाई उज्यालो दिनको लागि पनि घोषणा नै गर्नुपर्छ र त्यो त देखिने कुरा हो।' 

उनले अहले लोडसेडिङ मुक्त घोषणा नगर्नुको कारण पनि खुलाए। 'लोडसेडिङमुक्त घोषणा नगर्नुको कारण पनि छ, लोडसेडिङ नहुँदा अर्को कुनै व्यवसायलाई प्रभाव पर्ला, त्यसले पुन लोडसेडिङ गराउनलाई प्रभाव पार्न पनि त सक्छ' मन्त्री शर्माले भने। मन्त्री शर्माले लोडसेडिङ मुक्त घोषणा गर्दा विद्युतीय उपकरण ब्यवसायीलाई मर्का पर्नेतर्फ संकेत गरेका थिए। 

काठमाडौं लोडसेडिङमुक्त बनाउन कुलमान सूत्र

काठमाडौं उपत्यकामा लोडसेडिङ हुन छाडेपछि हिजोआज नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ निकै चर्चित बनेका छन्। हरेक वर्ष तिहारपछि लोडसेडिङ बढ्नेमा यसवर्ष उल्टो भयो। विजुली उत्पादन र आयात नबढेको अवस्थामा देशका अरु क्षेत्रमा लोडसेडिङ नबढ्नु र काठमाडौं उपत्यकामा लोडसेडिङ नहुनु आश्चर्यको कुरा थियो। त्यसैले हालै नियुक्त कार्यकारी निर्देशक घिसिङ धन्यवादको पात्र बनेका छन्। कसरी सम्भव भयो त काठमाडौंलाई अध्याँरो मुक्त बनाउन?

यसका लागि घिसिङले चार सूत्र प्रयोग गरेका रहेछन्। ती हुन् चुहावट नियन्त्रण, लोड व्यवस्थापन, वितरण व्यवस्थापन र पूर्वधार व्यवस्थापन। यही सूत्रको सही प्रयोग गर्दा घिसिङ सफल भए। यसमध्ये उनलाई सबैभन्दा चुनौतीपूर्ण लागेको काम हो लोड व्यवस्थापन। 'मैले लोड व्यवस्थापन मात्रै गरेको हो लोड व्यवस्थापन गर्दा काठमाडौंमा लोडसेडिङ भएको छैन' उनले भने। 

हामीलाई काठमाडौंमा साढे तीन सय देखि ४ सय मेगावाटसम्म विजुलीको आवश्यकता पर्छ भन्ने लागेको थियो। अहिले पिक आवर दुई घण्टा (बेलुका ७ देखि ९ बजे) मात्रै ३ सय मेगावाट आवश्यक पर्छ। अरु बेलामा बढीमा २ सय मेगावाट मात्रै आवश्यकता पर्छ यति कुरा पनि हिजोको दिनमा नबुझ्नु हाम्रो कमजोरी हो' घिसिङले भने। 

उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलमा उपस्थित घिसिङले अरु ठाउँमा बढाएर काठमाडौंमा लोडसेडिङ हटाएको र कुलेखानीको पानी रित्याउन लागेको जस्ता आरोपको खण्डन  गरे। 'मलाई अन्त लोडसेडिङ बढाएर काठमाडौंमा लोडसेडिङ हटाएको आरोप पनि आयो तर अहिले देशैभर लोडसेडिङ घटेको छ, कुनै पनि ठाउँमा दुई घण्टा भन्दा बढी लोडसेडिङ भएको छैन र काठमाडौं उपत्यकामा लोडसेडिङ छैन' घिसिङले भने। 

'मलाई अर्को पनि आरोप छ कुलेखानीको पानी सक्यो भन्ने त्यो पनि होइन लक्ष्मी पूजाको दिन ३ घण्टा चलाएको हो त्यसपछि पिक आवरमा १५/२० मिनेट मात्रै कुलेखानी सत्र्चालनमा आएको छ त्यहाँको पानी घट्नु अरु कारण छन्' उनले थपे। हिजो केही समय लोडसेडिङ हुन्थ्यो, विजुली आउँदा इन्भर्टर चार्ज गर्नेदेखि धेरै विद्युत खर्च गर्ने काम त्यो समयमा गरिएको थियो, आज इन्भटर चार्ज गर्न पर्दैन र लोडसेडिङ नहुदा अरु विद्युत धेरै खर्च गर्ने काम पनि हुँदैन, चार्ज हुने विद्युत बराबरको पावर दिएको छ' उनले भने।

उर्जा मन्त्रालयले तीन महिनाको बीचमा १ मेगावाटको ६ वटा जलविद्युत आयोजनालाई अनुमति दिएको छ। १३ वटा अन्य जलविद्युत आयोजनालाई उत्पादन अनुमति दिएको र एक महिना भित्र ४/५ वटा प्रशारण लाइन विस्तारको क्रममा रहेको उर्जा मन्त्री शर्माले बताए। त्यस्तै विद्युत ऐनको मस्यौदा केही दिनमै मन्त्रिपरिषदमा पठाउने तयारी गरेको बताए।

अबको २ महिनामा ५७ मेगावाट जलविद्युत थपिने उर्जा मन्त्रालयले बताएकोछ। अबको एक महिना भित्रमानै ४५ मेगावाट र थप १ महिनामा १२ मेगावाट जलविद्युत थपिने उर्जा मन्त्रालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • विद्युत थप भयको पनी छैन लोडसेडिड्ग भयको पनी छैन यो भन्दा अगाडी विद्युत प्राधिकरणका लाउके र टाउके कर्मचारीहरु जनताले रगत पसिना चुहायर कमायको पैसा तिरेका त थिए तेहिपैसा बाट तलब बोनस पेन्सन खाएकी घाँस खायर बसेका थिए आखिर मिलाउदा हुँदो रहेछ त काम न काजका कर्मचारी र जिम्मेवार मुखुन्डोहरु किन पाल्नु हामिले ।