थाहा संवाद : स्थानीय सरकार

'जनताले महसुस गर्ने गरी काम गर्न सकिएको छैन'
SHARES

पुस २, २०७५

    रुकुम पश्चिमको जिल्ला सदरमुकामसमेत रहेको मुसिकोट नगरपालिका जिल्लाकै चासोको नगरपालिका हो। यहाँको विकास निर्माण र शान्ति सुरक्षाले समेत समग्र जिल्लामा प्रभाव पार्ने गरेको छ। स्थानीय चुनावको बेला स्मार्ट सिटीदेखि केबुलकार संचालन गर्नेसमेत नारामा समेटिएको मुसिकोट नगरपालिका सबैको निगरानीको केन्द्रसमेत बनेको छ।

    स्थानीय सरकार बनेको पनि करिब डेढ वर्ष बढी भइसकेको छ। जसरी चुनावको बेला जनताका आधारभूत आवश्यकतादेखि शान्ति र समृद्धिको क्षेत्रका काम गर्छु भनिएको थियो, त्यो के यो बेलासम्म केहि प्रयास गरिएको छ? जनप्रतिनिधिहरू आफ्नो कार्यकालको पाँच वर्ष विलासी गरेर मात्र बिताउँदै छन् कि जनताको दैनिकीसँग पनि जानकार छन्? यी र यस्तै विषयमा मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमसँग थाहाखबरकर्मी मेगराज खड्काले गरेको कुराकानी प्रस्तुत छ। 

    नगरपालिकामार्फत हिजोआज के कस्ता गतिविधि भइरहेका छन्?

    मुसिकोट नगरपालिका अहिले नयाँ आर्थिक वर्षको बजेट कार्यान्यवनमा लागिरहेको छ। जसरी असार मसान्तमा बजेट भुक्तानी र खर्च गर्ने परिपाटीलाई अन्त्य गर्न मुसिकोट नगरपालिकाले समयमै काम पूरा गर्ने र सकिएका कामको तत्काल भुक्तानी दिने निर्णय गरिसकेको छ। त्यसबाहेक मुसिकोट नगर कार्यपालिकाको पछिल्लो बैठक केही दिनअघि बसेको थियो, जसले केही महत्त्वपूर्ण निर्णय पनि गरेको छ। जस्तो कि नगर प्रहरी भर्नाका लागि नगर प्रहरी ऐन पारित गरेर लगत्तै प्रहरी भर्नाको काम थाल्दै छौँ। पहिलो पटक १५ जना नगर प्रहरी भर्ना गर्दै छौँ र उक्त टिमलाई नगरको शान्ति सुरक्षासँगै सरसफाई र श्रमका कार्यक्रमहरूमा जोड्छौँ। त्यसका साथै नगर कार्यपालिकाले खरिद नियामावली, पशु कार्यक्रम संचालन कार्यविधि र मेलमिलाप कार्यविधिलगायतका विभिन्न सातवटा कानुनहरू बनाएका छौँ। त्यसबाहेक नगरका अन्य नियमित कामकाज त निरन्तर भइरहेकै छन्। 

    तपाईंको कार्यकाल सुरु भएको पनि लामै समय भएको छ। तपाईंको कार्यकालपछि नगरमा भएका राम्रा काम र उपलब्धि के हुन्?

    मेरो कार्यकालपछि मैले यस नगरको स्वास्थ्य र शिक्षामा केही नमुना कामको सुरुवात गरेको जस्तो लागेको छ। स्वास्थ्यको कुरा गर्दा यस नगरमा रहेका स्वास्थ्य संस्था र अस्पतालहरूको निरन्तर अनुगमन गर्ने र कैफियत देखिएकामा तत्काल सुधारको काम गरिएको छ, गर्न लगाइएको छ। औषधि अभाव रहेका स्वास्थ्य संस्थाहरूमा थप औषधि उपलब्ध गराइएको छ। यो आर्थिक वर्षमा मात्र छ लाख रुपैयाँको औषधि खरिद गरेर आवश्यक ठाउँमा प्रदान भइसकेको छ। त्यसबाहेक छिट्टै ठूलो मात्रामा टेन्डर खोलेरै मुसिकोट नगरपालिका क्षेत्रका स्वास्थ्य संस्थाका लागि माग गर्दै छौँ। त्यस्तै, यस नगरकै झुल्खेतमा डिजिटल ल्याव सेवासहितको स्वास्थ्य केन्द्र स्थापना गरिएको छ। मुसिकोट नगरपालिका- १३, चौतारामा सहित तीन गाउँमा छिट्टै ल्याव सुविधासहितको स्वास्थ्य केन्द्र विस्तार गर्ने योजनामा छौँ। 

    जिल्ला अस्पताल सल्ले रुकुम पश्चिमलाई पनि आवश्यक प्रविधिमा सहयोग गरिएको छ। अस्पतालमा बत्ती समस्याका कारण बिरामी जाँचमा समस्या आएको जनगुनासोपछि नगरपालिकाले छिट्टै अस्पतालमा सोलार प्रणाली जडान गर्ने निर्णय गरिसकेको छ। त्यसका साथै शिक्षामा पनि नयाँ कामको सुरुवात गरिएको छ। विद्यार्थी नभएका र प्रभावकारी शिक्षण नभइरहेका तीन विद्यालयहरू अन्य विद्यालयमा गाभेर प्रभावकारी बनाइएको छ। नगरका विभिन्न विद्यालयमा शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको गुनासो आएपछि विभिन्न तहमा ६५ जना शिक्षकहरू करार भर्ना गरी पठाइएको छ। उक्त शिक्षकहरूको सेवा सुविधा नगरपालिकाले नै व्यहोर्नेछ।

    सडकको कुरा गर्दा मेरो कार्यकाल सुरु भएदेखि ४० किलोमिटर नयाँ सडक खनिएको छ। नगरपालिकामा रहेका ८ नम्बर वडाबाहेक सबै वडामा कच्ची भए पनि सडक पुगेको छ। त्यसका साथै नगरपालिकाको रिङरोड बनाउने काम थालिसकेको छ। रिङरोडसहित जिल्लाका अन्य चारवटा सडकहरूको निर्माण र स्तरवृद्धिका लागि डिपिआर भइसकेको छ। त्यसबाहेक वर्षातमा बिग्रिएका स्थानीय सडकहरूको मर्मत गरेर संचालन गरिएको छ। 

    चुनावअघि जनतामाझ गरेका आधारभूत आवश्यकता सम्बोधन गर्नुभयो त?

    चुनावमा गरेका सबै वाचा पूरा गर्न सकिएको छैन। जनताका आकांक्षा धेरै थिए, हामीले पनि चुनावमा धेरै कुरा भनिएको थियो। एकै पटक र एकै वर्षमा पूरा गर्ने कुरा संभव पनि भएन। अन्य विषयमा वाचा पूरा भए पनि खानेपानी, ढल निकास र पार्किङको विषयमा काम थालिएको छ तर जनताले अनुभव हुने नै गरी काम भने गर्न सकिएको छैन। नगरको खानेपानीका लागि प्रभावकारी काम पक्कै गर्न सकिएको छैन। पहल गरिएको छ तर जनताको आवश्यकता पूर्ति हुननसकेको स्वीकार गर्छु।

    चुनावमा एक घर एक धाराको नारा लिएर गाउँगाउँमा गएको थिएँ तर कतै मुहानकै समस्या, कतै बजेटलगायतका विविध समस्याले भनेजस्तो भएको छैन। दीर्घकालीन र ठूलो खानेपानी योजनाका लागि पहल भने जारी छ। त्यस्तै, जिल्ला सदरमुकामसमेत रहेको नगर क्षेत्रमा अस्तव्यस्त रूपमा रहेको यातायात र बसपार्क क्षेत्रको सम्बोधनका लागि कामको सुरुवात गरिएको छ। बसपार्क बनाउने योजना पनि थियो, बजेट पनि थियो तर आवश्यक जग्गा नपाउँदा लामो समयसम्म समस्याको विषय बन्यो। बल्ल सल्ले खोला नजिकै भेरीखोलामा बसपार्कका लागि जग्गा उपलब्ध भएर निर्माणको ठेक्का आह्वान गर्ने तयारीमा छौँ।

    मुसिकोटको सरसफाई र ढल निकासको पनि केही समस्या देखिन्छ। नगरपालिकाले गाडीको व्यवस्था गरेर बजार क्षेत्रको फोहोर व्यवस्थापनको सुरुवात त गरिएको छ तर व्यवस्थित फोहोर फाल्ने क्षेत्र र ढल निकासका लागि खानेपानी तथा सरसफाई डिभिजनमार्फत् पनि ठूलै योजना संचालन हुने सुनिएको थियो। पछिल्लो समय मुसिकोटबाटै कार्यालय सर्ने भन्ने कुरा आएपछि पछिल्लो अवस्था के छ मलाई जानकारी छैन। 

    तपाईं एक-डेढ सयको झिनो मतको अन्तरले प्रत्यासीलाई हराएर निर्वाचित हुनुभयो। मुसिकोट सरकारबाहिर पनि प्रतिपक्षी दलको ठूलो जमात छ। प्रतिपक्षीबाट समस्याको कस्तो सामाना गर्नुपरेको छ?

    हो, चुनावको कुरा गर्दा मैले झिनो मतले जिते पनि हाल मैले सबैको मन जितेको छु जस्तो लाग्छ। चुनावका बेला म कुनै पार्टीको थिएँ तर अहिले म कुनै पार्टीको भन्दा पनि सबै मुसिकोट नगरको अभिभावक हुँ। मैले विकास निर्माणदेखि अन्य अवसरमा राजनीति गरेको छैन। आवश्यकताका आधारमा विकास निर्माण र अवसरहरूमा सम्बोधन गरेको छु। त्यसैले नै होला मैले प्रतिपक्षी वा पराजित पार्टी र उम्मेदवारहरूबाट समस्याको सामना गर्नुपरेको छैन। उहाँहरूबाट काममा अवरोध गरेको मलाई पनि अनुभव छैन। सक्दो सहयोग र सहकार्य नै गर्नुभएको छ। 

    प्रतिपक्षी पार्टीहरू र पराजित उम्मेदवारहरूबाट काममा प्रभावित पार्ने काम भएको छैन भन्नुभयो, त्यसो भए खास मुसिकोट नगरपालिकाको कामकारवाही र विकासको बाधक के छ त?

    मुसिकोट नगरपालिकाको मुख्य समस्याको रूपमा विकास निर्माणका कार्यहरूमा आर्थिक अपारदर्शी बढी हुने गरेको मैले महसुस गरेको छु। यसले यस नगरको विकास लागि ठूलो बजेट खर्च भए पनि खास विकास निर्माणका उपलब्धिमुलक काममा खर्च हुन नसकेको मैले अनुमान गरेको छु। त्यस कारण नगरपालिकाको केही दिनअघि बसेको कार्यपालिका बैठकबाट नै प्रभावकारी अनुगमनपश्चात मात्र भुत्तानी दिने निर्णय गरिएको छ। बरु प्रक्रिया पुगेको अवु्थामा सोही दिन नै भुक्तानी हुन्छ। विकास निर्माणमा अपारदर्शिताको रूपमा डोजरले बाटो खन्दा कमै खने पनि बढी समय डोजर प्रयोग गरेको रिपोर्ट ल्याएर भुक्तानी गर्नेजस्ता केही नराम्रा कामहरू भएको पनि जनगुनासो आएपछि त्यस्ता कामहरूलाई हामीले तत्कालै निरुत्साहित हुने प्रक्रिया थालेका हौँ।

    आर्थिक मसान्तको अन्त्यसम्म लक्ष्यअनुसारको रकम आम्दानीमा आशावादी नगरपालिका छ तर हामीले अन्य नगरपालिकामा आलोचना भएको जस्तो चर्को कर लिएका छैनौँ। करका दायराहरू फराकिलो पारेका छौँ तर कर शुल्क पुरानो भन्दा खासै फरक छैन। नगरबासीहरू उक्त शुल्कबाट मर्कामा परेको जस्तो हामीलाई लागेको छैन। 

    अर्को कुरा, हाम्रो नगरको विकास निर्माणलगायतका अन्य कामका लागि आवश्यक बजेट पनि केन्द्र सरकारबाट आउन सकेको छैन। थोरै आउँछ, त्यो थोरै प्रत्येक वडाहरूमा अलिअलि बाँड्दाबाँड्दै सकिन्छ। केही नमुना आयोजना संचालनका लागि केन्द्रबाट बजेट आउने गरे पनि प्रतिशतको आधारमा मात्र आउने गरेकाले पनि प्रभावकारी काम भएको छैन। उदाहरणका लागि कुनै सडकको स्तरवृद्धिका लागि काम गर्दा डिपिआर गरिसकेपछि पनि केन्द्रबाट ६० प्रतिशत र स्थानीय सरकारबाट ४० प्रतिशत बजेटको जोहो गर्नुपर्ने योजना हुन्छ। त्यस बेला हाम्रो सरकारले ४० प्रतिशत रकम जुटाउन सकेन भने त्यो केन्द्र सरकारबाट आएको ६० प्रतिशत बजेट काम लाग्ने कुरा नै भएन। 

    केन्द्र सरकारको अनुदानमा मात्र भर परेर त भएन नि, स्थानीय सरकारले आफ्नो आन्तरिक आम्दानी पनि बनाउनुपर्‍यो नि?

    आन्तरिक आय बनाउन पनि पहल गरिरहेका छौँ। प्रत्येक वर्ष नगरपालिकाको केही प्रतिशत भए पनि आम्दानी बढाइरहेका छौँ। अघिल्लो आर्थिक वर्ष एक करोडको लक्ष्य राखेका थियौँ। पहिलो वर्ष भएर होला सोचेअनुसारको हुन सकेन। करिब आधा जस्तो ५५ लाखजति आम्दानी भयो। त्यस्तै, यो आर्थिक वर्षमा एक करोड २५ लाखको लक्ष्य राखेका छौँ। यो समयसम्म आउँदा करिब २५ लाखजति संकलन भएको अनुमान गरिएको छ। आर्थिक मसान्तको अन्त्यसम्म लक्ष्यअनुसारको रकम आम्दानीमा आशावादी नगरपालिका छ तर हामीले अन्य नगरपालिकामा आलोचना भएको जस्तो चर्को कर लिएका छैनौँ। करका दायराहरू फराकिलो पारेका छौँ तर कर शुल्क पुरानो भन्दा खासै फरक छैन। नगरबासीहरू उक्त शुल्कबाट मर्कामा परेको जस्तो हामीलाई लागेको छैन। 

    जनताबाट सानोतिनो कर उठाएर त आगामी दिनमा नगरपालिका कसरी आत्मनिर्भर होला र? नगरपालिकाको नियमित आम्दानीका लागि केही दीर्घकालीन योजना बनाउनुभएको छ?

    एकदम सानोतिनो जनताबाट कर उठाएर नगरपालिका आत्मनिर्भर हुन गाह्रो छ। नगरपालिकाले यस विषयमा सोचेर केही दीर्घकालीन आम्दानी र योजनाका कार्यक्रमहरू पनि बनाएको छ। जस्तै : मुसिकोट नगरपालिकालगायत रुकुम पश्चिमका छवटै स्थानीय तहहरू मिलेर स्यार्पु विद्युत कम्पनी दर्ता गरेर थप विद्युत उत्पादन गर्ने भनेर ३०-३० लाख शेयर त्यसमा हालेका छौँ। उक्त विद्युत निर्माण भएर संचालन भए पनि नगरपालिकामा नियमित आउने नै छ। त्यस्तै, नगरपालिकामा लिटो उद्योग संचालनमा गर्ने निर्णय पनि नगरपालिकाले गरेको छ। बालबालिकाका लागि पौष्टिक आहारका लागि आवश्यक उक्त लिटो उद्योगबाट पनि नगरपालिकालगायतका यस क्षेत्रमा स्थानीयहरूलाई प्रत्यक्ष अप्रत्यक्ष लाभ हासिल नै हुनेछ।

    त्यसैगरी मुसिकोट नगरपालिका क्षेत्रमा रहेका पर्यटकीय तथा धार्मिकस्थलहरूलाई थप व्यवस्थित र प्रचार प्रसार गरेर केही आम्दानी गर्ने पनि गुरुयोजना बनाएका छौँ। ठूलीदह, मुसिकोट डाँडा र डिग्रे साइकुमारी मन्दिरलगायतका धार्मिकस्थलहरूलाई थप व्यवस्थित गरेर निकट भविष्यबाटै नगरपालिकाले आम्दानीको राम्रो स्रोत बनाउँछ।

मेगराज खड्का

मेगराज खड्का थाहाखबरका रुकुम सम्वाददाता हुन्। इमेल : sancharkarmi.megraj@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]