|

सल्यान : शारदा नगरपालिका- ४ साहुटोलका ईन्द्रकुमार शर्माले २६ वर्षसम्म शिक्षण पेसा गरे। उनले पढाएका सयौँ विद्यार्थीहरू आज ठूलाठूला पदमा रहेका छन्। आजभोलि बाटोमा हिँड्ने जोकोहीले पनि 'सर नमस्कार' भन्दै सम्मान गर्छन। तर आजभोलि उनको जिम्मेवारी परिर्वतन भएको छ। पाठ्यक्रम पढाएर आएका उनी आजभोलि कुखुरा पालनमा व्यस्त हुन थालेका छन्।

शिक्षण पेसामा रहँदा कुखुरा पालन व्यवसाय गर्छु भन्ने एक रत्ति पनि सोच नबनाएका शर्माको शिक्षण पेसाबाट अवकाश भएपछि भने मनमा एकाएक व्यावसायिक कुखुरा पालन गर्ने र जिल्लालाई अण्डा र कुखुराका चल्लामा आत्मनिर्भर बनाउने सोच जागेर आयो। विगत  एक वर्षदेखि उनी व्यावसायिक कुखुरा पालनमा व्यस्त रहँदै आइरहेका छन्।

उनले भने, 'शिक्षण पेसामा रहँदा कुखुरा पाल्छु भन्ने सोच मनमा कहिल्यै आएन। पेन्सनको पैसाले बुढाबुढीलाई खान पुगिहाल्छ, के नै दु:ख गर्नुपर्ला र! भन्ने लागेको थियो।' 

अण्डा र कुखुराबाट मनग्य आम्दानी

व्यावसायिक कुखुरा पालनका बारेमा उनलाई खासै ज्ञान थिएन। भनिन्छ, 'जहाँ इच्छा त्यहाँ उपाय।' यस्तै भयो, उनले इन्टरनेटमा हेरे, कसरी कुखुरा पालन गर्ने? खोर कस्तो बनाउने? औषधि उपचारदेखि लिएर दानासमेत कसरी खुवाउने? नेटमा हेर्दै त्यसलाई व्यवहारमा लागू गरे। उनी भन्छन्, '२६ वर्ष शिक्षण पेसामा बिताइयो। शिक्षक हुँदा कुखुरा पाल्ने कुरा भएन, रिटायर्ड भएपछि सबै चिज नेटमा सर्च गर्दै काम गर्दै आइरहेको छु।'

कामले काम सिकाउँछ भनेझैँ आजभोलि व्यावसायिक कुखुरा पालनसम्बन्धी धेरै ज्ञान पाएको बताउँछन् शर्मा। १५ लाख रुपैयाँको लगानीबाट व्यवसाय सुरु गरेका शर्माले आजभोलि सबै खर्च कटाएर मासिक ५० हजार रुपैयाँ आम्दानी गर्दै आइरहेका छन्। शर्माको खोरमा ४०० लेयर्स कुखुरा, २५ टर्की र ५० लोकल कुखुरा रहेका छन्। दैनिक ३५० देखि ४०० सम्म अण्डा बिक्री हुँदै आएको बताउँदै उनले भने, 'गाउँमा अण्डाको माग यति छ कि दैनिक सरदर ४०० अण्डा बिक्री गर्दा पनि ग्राहकको माग धान्न सकिरहेको छैन।' 

चल्ला उत्पादनका लागि तत्काल एक महिनामा १०० कुखुरा उत्पादन गर्न सकिने ह्याचरी भए पनि केही समयपछि महिनामा एक हजार बढी एकै पटक चल्ला उत्पादन गर्न ह्याचरी ल्याउने सोचमा छु। उनले भने, 'मेरो सपना भनेको जिल्लामा चाहिने अण्डा उत्पादन गर्ने र चल्ला पनि वितरण गर्ने छ। त्यसका लागि तत्कालै १५ सय लेयर्स कुखुरा, १०० टर्की र ३०० जति लोकल कुखुरा पाल्ने सोच बनाएको छु।' सपना नै नदेख्नु भन्दा थोरै लगानीबाट सपनालाई साकार पार्नु ठूलो विषय भएको व्यवसायी शर्माको भनाइ छ। 

जिल्लाकै नमुना व्यवसायी बन्ने सपना

नेपालमा अण्डा र कुखुराको चल्ला मात्रै छिमेकी देशबाट अर्बौंको आयात हुने गर्छ। उनी भन्छन्, 'कति अर्काको भरमा बस्ने आफ्नो गर्न सक्ने काम आफैँले गर्न सक्यौँ भने नेपालीकै आम्दानीमा वृद्धि हुने हो।'

बढ्दो आयातलाई न्यूनीकरण गरी जिल्लालाई कुखुराको चल्ला र अण्डामा आत्मनिर्भर उन्मुख बनाउने लक्ष्य लिएका छन् उनले। युवा अवस्थाको ऊर्जा शिक्षण पेसामा समर्पित गरे पनि जिल्लाकै नमुना कृषक बन्ने उनको भित्री चाहना रहँदै आएको छ।

१० रोपनीमा फलफूल खेतीसमेत गरेका शर्माले कुखुराको मल सदुपयोग र खेर गएको जमिन सदुपयोग गर्न फलफूल खेती गरेको बताउँछन्। उनले भने, 'मैले कुखुरा पालन सँगसँगै १० रोपनी क्षेत्रफलमा पहिलो चरणमा अनार, आँपलगायतका फलफूल लगाएको छु।' शर्माको परिवारसँगै उनले एक जनालाई रोजगारीसमेत दिएका छन्। कुखुराको वृद्धिसँगै थप जनशक्ति आवश्यक पर्ने उनको भनाइ छ। 

कृषि पेसालाई सम्मानजनक पेसाको रूपमा नबुझ्ने संस्कार गलत

एक वर्षअघि उनले पढाइरहेको विद्यालयबाट रिटायर्ड भए। छरछिमेकी सबैले मास्टर अब सुगम ठाउँमा जान्छ होला भन्ने सोचेका थिए तर उनले छिमेकीहरूको सोचलाई लत्याएर कुखुरा पालन गर्न थाले।

कुखुरा पाल्न थालेपछि छरछिमेकीले कुरा काट्न सुरु गरेको उनी बताउँछन्। डिग्री गरेको मान्छेले पनि कुखुरा पाल्ने? मास्टरको वृद्धि के भएछ? लगायतका धेरै प्रश्नहरू शर्माका अघि तेर्सिए। उनी भन्छन्, 'जबसम्म कृषिलाई सम्मानित पेसाको रूपमा बुझिँदैन, तबसम्म त्यस प्रकारका प्रश्न निरन्तर आइरहन्छन्।' काम गर्ने जनशक्ति वैदेशिक रोजगारीमा पलायन हुने र खेतीयोग्य जमिन बाँझै भइरहने हो भने देश परनिर्भर बन्दै जाने र भविष्यमा भोकमरीले थिलोथिलो पार्ने उनी बताउँछन्।

राज्य र स्थानीय तहले कृषि र पशु पालनलाई पहिलो एजेण्डाका रूपमा लगेर कार्यक्रम अघि सार्नुपर्ने उनी बताउँछन्। उनले भने, 'आफैँ पनि गाउँघरमा कृषि र पशु पेसा गर्ने भनेको अनपढ, गरिबले मात्र गर्ने पेसा हो भन्ने स‌ंस्कार र सोचाइ छ, त्यो पुरानो संस्कारलाई बदल्न सरकार र स्थानीय तहका सरकारले कृषिसम्बन्धी कार्यक्रमलाई जोड दिन जरुरी छ।' 

पैसा विदेशमा होइन, स्वदेशमै छ 

रोजगारीका लागि विदेश मात्र निर्विकल्प देख्ने युवाहरूका लागि उनी एक उदाहरणीय पात्र बनेका छन्। पेसामा नयाँ सिर्जनात्मक काम देखाउनु पर्छ भन्ने सोचका साथ आफू यस पेसामा लागेको शर्माले बताए। स्वदेशमा सिर्जनात्मक कार्य गरेमा र स्वदेशमै पाखुरा बजार्छु भन्ने सोच भएमा विदेश जानु नपर्ने उनले बताए। उनले भने, 'अहिले बेरोजगार भइयो भन्दै सयौँ युवाहरू खाडीका मुलुकमा रगत पसिना बगाइरहेका छन्, त्यही रगत पसिना आफ्नै जन्मभूमिमा बगाउन किन हिच्किचाउने?'

सधैँ अर्काको मुख ताकेर देशको समृद्धि नहुने बताउँदै देशलाई समृद्धितर्फ अघि बढाउन आफ्नै पाखोबारीमा उत्पादन गर्नुपर्ने उनले बताए। सरकारले पनि कृषिलाई नारामा सीमित पार्ने भन्दा पनि किसानलाई आवश्यक पर्ने कृषि प्रविधिको वितरण गर्नुपर्नेमा उनको जोड छ। नेपाली बजार र नेपाली उत्पादनलाई विस्तार गर्न सरकारले नै विशेष कार्यक्रम ल्याउनै पर्ने शर्माको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.