|

कालीकोट : जिल्लाको नरहरिनाथ गाउँपालिका- ९ लालुमा २०४८ असोज ११ गते जन्मिएका धर्म शाही (धर्मेन्द्र) युवा होटल व्यवसायी हुन्। कालीकोट जिल्लाको सदरमुकाम मान्ममा रहेको होटल हिल साइडका प्रबन्धक रहेका शाहीको उद्देश्य पर्यटन व्यवसायबाट नेपालमा विदेशी पर्यटकहरूको घुइँचो लगाउने योजना छ।

पर्यटन क्षेत्रको विकासले मात्र देश विकास हुने विचार राख्ने शाहीले कर्णालीका युवाहरूलाई रोजगारीका लागि विदेश जान रोक्न पर्यटन व्यवसाय उपयुक्त रहेको बताए। ‘पर्यटन व्यवसायले मात्र वैदेशिक रोजगारीमा जाने युवाहरूलाई नेपालमा नै रोक्न सकिन्छ’, उनी भन्छन्, ‘मैले अबको पाँच वर्षमा कर्णालीबाट वैदेशिक रोजगारीमा जाने युवाहरूलाई पर्यटन व्यवसायमा लगाएर कर्णालीमा नै रोजगारी दिने लक्ष्य राखेको छु।’

पर्यटनले समृद्ध हुन्छ कर्णाली

कर्णालीमा जल, जंगल र पर्यटनका क्षेत्रको राम्रो संभावना रहेको र त्यसमा पनि पर्यटन क्षेत्रले मात्र कर्णाली समृद्ध हुने आफूले धेरै संभावना देखेको शाहीले बताए। ‘कर्णालीमा सबै प्रकारका संभावना रहेका छन्’, उनले भने, ‘पर्यटन क्षेत्रले मात्र कर्णाली समृद्ध बनाउने संभावना रहेको छ।’

कर्णालीमा रहेको सुन्दर रारा ताल, शे-फोक्सुण्डो, कुपिण्डे दह, बुलबुले दैलेख ज्वाला क्षेत्र, पंचदेवल, पचाल झरना, तिलागुफालगायतका प्रशस्त पर्यटकीय क्षेत्र रहेको र त्यसको प्रचार प्रसार हुन नसक्दा अहिले पर्यटक आउन नसकेको शाहीले बताए। ‘पर्यटन क्षेत्रले मात्र पनि कर्णालीलाई समृद्ध बनाउन सकिन्छ’, उनले भने, ‘कर्णालीका जस्ता सुन्दर ठाउँ र पर्यटकीय क्षेत्र अन्य ठाउँमा छैनन्।’

'दैनिक पाँच सय विदेशी पर्यटक कर्णाली ल्याउँछु'

कर्णालीमा विभिन्न पर्यटकीय क्षेत्र रहेका र त्यसको भ्रमण गर्न कमै मात्र विदेशी पर्यटक आउने गरेको शाहीले बताए। ‘अहिले कर्णालीमा विदेशी पर्यटक कमै आउने गरेका छन्’, उनले भने, ‘अबको पाँच वर्षमा पाँच सय विदेशी पर्यटक ल्याउने लक्ष्य राखेको छु।’

अहिले विदेशी पर्यटक कर्णालीमा नगण्य मात्रामा आउने गरेका छन्। शाहीले विगतमा पोखरामा विदेशी पर्यटक आउने गरेको र त्यहाँको तत्कालीन जिल्ला विकास समिति र पर्यटन क्षेत्रमा काम गर्ने संस्थाले एक जना विदेशी पर्यटक ल्याएवापत पुरस्कृत गर्ने अभियान नै चलाएको सुनाए। ‘पहिले विदेशी पर्यटक काठमाडौं र चोभारको डाँडामा मात्र घुम्ने गर्थे’, उनले भने, ‘पछि कास्कीको तत्कालीन जिल्ला विकास समिति र अन्य संघसंस्थाहरूले पोखरामा पर्यटक ल्याउनेलाई आकर्षक पुरुस्कार व्यवस्था गरेपछि पोखरामा पर्यटक आउन थाले।’

कर्णालीमा पर्यटक ल्याउनका लागि अहिले कसैले पनि पहल नचालेको र त्यसका लागि आफूले विभिन्न देशमा घुमेर कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रको फोटो प्रदर्शनी गर्ने लक्ष्य लिएको शाहीले बताए। ‘मैले केही समयपछि कर्णालीका पर्यटकीय क्षेत्रको विदेशमा प्रदर्शनी गर्ने लक्ष्य राखेको छु’, उनले भने, ‘त्यसका लागि मलेसिया, सिंगापुर, चीन जाँदै छु।’

सन् १९१८ फेब्रुअरी ३ मा दुवई गएर कर्णाली प्रदेशका पर्यटकीयस्थलको फोटो प्रदर्शनी गरेको र अहिले त्यहाँका पर्यटकहरू नेपाल आउन, कर्णाली घुम्न केही जना आउन थालेको शाहीले बताए। ‘मैले केही समय अगाडि युएई गएर कर्णाली प्रदेशका पर्यटकीयस्थलको फोटो प्रदर्शनी गरेको थिएँ’, उनले भने, ‘त्यसयता युएईका १० जना नागरिकले कर्णालीको भ्रमण गरिसकेका छन्।’

‘अहिले विभिन्न पर्यटकीय क्षेत्रको संभावनाको अध्ययन गरिरहेको छु’, उनले भने, ‘पर्यटन क्षेत्रमा नै अबको पाँच वर्षभित्र दैनिक ५०० जनालाई रोजगारी दिन्छु।’

कर्णालीमा धेरै पर्यटकीय क्षेत्र छन्

कर्णालीमा रक क्लाइम्बिङ, रिभर र्‍याफ्टिड्ङलगायतका विदेशीलाई आकर्षित गर्ने धेरै पर्यटकीय क्षेत्र रहेको र त्यसमा लगानी नभएका कारणले अहिले सबै कुरा अोझेलमा परेको शाहीले बताए। ‘हाम्रा पहाडहरू रक क्लाइम्बिङका लागि कति उपयुक्त छन्?’ उनले भने, ‘रिभर र्‍याफ्टिङको संभावना पनि त्यतिकै रहेको छ।’

कर्णालीमा पहाडहरूमा रक क्लाइम्बिङका लागि कुनै लगानी गर्नु नपर्ने र प्राकृतिक पहाड रहेकाले त्यसका लागि अहिले कुन पहाडमा रक क्लाइम्बिङ हुनसक्छ भनेर हेरिरहेको शाहीले बताए। ‘रक क्लाइम्बिङका लागि पहाडहरू कर्णालीमा धेरै छन्’, उनले भने, ‘त्यसका लागि अहिले मैले कर्णालीका पहाड हेर्ने गरिरहेको छु।’

'पर्यटन क्षेत्रमा दैनिक पाँच सयलाई रोजगारी दिन सकिन्छ'

कर्णालीमा पर्यटनका विभिन्न क्षेत्रको विकास गर्न सकियो र लगानी वृद्धि गर्न सकियो भने दैनिक ५०० जनालाई पर्यटन क्षेत्रमा रोजगारी उपलब्ध गराउने लक्ष्य लिएको शाहीले बताए। 

कर्णालीमा विभिन्न पर्यटकीय क्षेत्र भ्रमण, रक क्लाइम्बिङ, रिभर र्‍याफ्टिङलगायतका क्षेत्र पाँच वर्षभित्र कसैले सहयोग नगरे पनि एकल प्रयासमा नै ५०० जनालाई रोजगारी दिने गरी योजना तयार पार्ने कर्णालीका युवाहरूलाई कर्णालीमा नै रोजगारी दिने लक्ष्य राखेको शाहीले बताए। ‘अहिले विभिन्न पर्यटकीय क्षेत्रको संभावनाको अध्ययन गरिरहेको छु’, उनले भने, ‘पर्यटन क्षेत्रमा नै अबको पाँच वर्षभित्र दैनिक ५०० जनालाई रोजगारी दिन्छु।’

'सफा सुन्दर नभए पर्यटक आउँदैनन्'

सफा सुन्दर नभए विदेशी तथा स्वदेशी पर्यटक नआउने र त्यसका लागि ‘क्लिन कर्णाली, स्विट कर्णाली’को अभियान थालिएको शाहीले बताए।
‘क्लिन कर्णाली, स्विट कर्णाली’ अभियान मंसिर १६ गतेबाट रारा तालको सरसफाई गरेर थालनी गर्ने शाहीले सुनाए। ‘सुन्दर सफा नभए पर्यटकहरू आउँदैनन्’, उनले भने, ‘त्यसका लागि हामीले मंसिर १६ बाट कर्णालीको भू-स्वर्ग रारा तालबाट ‘क्लिन कर्णाली, स्विट कर्णाली’ अभियानको थालनी गर्दै छौँ।’

लक्ष्य हिमाल चढ्ने

शाही पर्यटकहरूलाई कर्णालीमा भित्र्याउन मात्र क्रियाशील छैनन्, आफैँ पनि हिमाल चढ्न सौखिन रहेका छन्। सन् २०१६ मा सोलुखम्बुको म्याराखी हिमाल, सन् २०१७ मा मनास्लु हिमाल आरोहण गरेका र सन् २०१९ मा साउथ अफ्रिकाको आकागुवा हिमाल आरोहण गर्ने तयारीमा रहेको शाहीले बताए। ‘म विभिन्न देशका हिमाल आरोहण गरेर कर्णालीका पर्यटकीय क्षेत्र चिनाउन चाहन्छु’, उनले भने, ‘त्यसका लागि कसैको पनि सहयोग छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.