|

इलाम : पप्पु सुरुचि (२९) विभागीय टिम एपिएफ महिला टिमकी कप्तान हुन्। इलामको समाल्वुङ गाविस (हाल सूर्योदय नगरपालिका- ५) मा जन्मिएकी पप्पुले विगत आठ वर्षदेखि एपिएफ क्लबमा आवद्ध भएर फुटबल करिअरलाई अगाडि बढाइरहेकी छन। १२ वर्षको उमेरबाट फुटबल खेल अगाडि बढाएकी पप्पुका लागी २०६० को दशकको सुरुवातमा फुटबलमा अगाडि बढ्न त्यति सहज थिएन।

भारतसँग सिमाना जोडिएको इलामको समाल्वुङ राजमार्गबाट १५ किलोमिटर मात्र टाढा भए पनि भौगोलिक रूपमा विकट थियो। त्यसमाथि पनि पुरुषप्रधान समाजमा एउटी युवतीलाई खुलेर समाजमा फुटबल खेल्न असहज नै थियो। फुटबल सुरुवात गर्दाको क्षण सम्झँदै पप्पु भन्छिन्, ‘घर छेउमा सानो भए पनि ग्राउन्ड थियो तर खेल्ने साथी थिएनन्। गाउँका केटाहरूसँग खेल्ने गर्थें, कहिलेकाहीँ केटाहरूको प्रतियोगितामा पनि सहभागी हुन्थेँ।’

केटाहरूसँगको संगतले कति पटक त गाउँलेले आमालाई पोल लगाउँदा दाजुहरूको गाली र कुटाइसमेत खाएकी थिइन् उनले। तर आमाले उनलाई कहिल्यै फुटबल खेल्नबाट रोकिनन्। १० वर्षमै बाबु गुमाएकी उनलाई आमाले बनिबुतो गरेर भए पनि इच्छा पूरा गरिदिन्थिन्। ‘ममीले कहिल्यै फुटबल खेल्नबाट रोक्नुभएन। उहाँ हरेश नखानू, अवश्य सफलता पाइन्छ भन्नुहुन्थ्यो। ममीको आँटले पनि होला, अहिले यो सफलता पाएकी छु’, उनले भनिन्।

१२-१३ वर्षको उमेरमा बिहान ४ बजे आमाले बनाइदिएको पाँच किलो बालुबा भरेको व्याग बोकेर पाँच किलोमिटरभन्दा परसम्म दौडिन्थिन् उनी। निरन्तर अभ्यास गरे पनि जिल्लामा महिला फुटबल नहुँदा भने उनी निराश नै बनेकी थिइन्। गाउँका केटाहरूसँगको दैनिक अभ्यासले उनको खेल भने निखारिँदै गएको थियो। १५ वर्षको उमेरमा श्रीअन्तुकी साथी कला राईको आग्रहमा उनी पहिलो पटक खेलाडीको रूपमा मैदान उत्रँदै उपाधिसमेत जितिन्। पहिलो प्रतियोगिता उनी यसरी सम्झिन्छिन्, ‘फिक्कलको पान्दाममा महिला फुटबल हुँदै रहेछ। कलाहरूको टिम कट्टेवुङ सेमिफाइनल पुगेको रहेछ। स्ट्राइकर नहुँदा समस्या भएपछि मैले खेलेर फाइनल मात्र जिताइनँ, उत्कृष्ट खेलाडीसमेत चुनिएँ।’

त्यसपछि हरेकजसो प्रतियोगितामा उनी चम्किँदै गइन्। ‘आसपासका गाउँमा हुने प्रतियोगितामा म खेल्ने भनेपछि अरू खेलाडी खेल्नै नमान्ने। पप्पु खेल्ने भए हाम्रो टिम खेल्दैन भन्दै तर्कन्थे’, उनी सम्झन्छिन्। त्यसपछि हरेक ठाउँमा हुने प्रतियोगिताको व्यक्तिगत उपाधि उनकै पोल्टामा जान थाल्यो। १५ वर्षको उमेर, घरको समस्या देखेपछि उनी पारि भारतको ओकाइटी चिया बगानमा समेत काम गर्न गइन्। दिनभर बगानमा चिया टिप्दासमेत उनले आफ्नो फुटबल अभ्यासमा भने कमी आउन दिइनन्।

फुटबलको टर्निङ प्वाइन्ट

गाउँको प्रतियोगितामा आफ्नो खेलकौशल देखाउँदै आएकी पप्पुका लागि प्रशिक्षक दर्शन भक्तराज टर्निङ प्वाइन्ट बनेर आए। साविकको पंचकन्या गाविसको केराबारीमा भएको महिला फुटबल प्रतियोगितामा उनको खेललाई भक्तराजले नजिकैबाट नियालेका रहेछन्। पप्पु भन्छिन्, ‘मलाई त केराबारीमा खेल्न मन थिएन, सबैले बोलाउन थाले। राम्रो पनि खेलेँ। दर्शन गुरु पनि आउनुभएको रहेछ खेल हेरेर फर्किनुभएछ, मलाई थाहै थिएन।’

पप्पुको खेल हेरेर फर्किएका भक्तराजले जिल्ला छनोटको बेला उनलाई टिमको मुख्य स्ट्राइकरको जिम्मा दिए। टिममा पर्नेवित्तिकै सन् २००८ मा १०औँ राष्ट्रिय महिला फुटबल महेन्द्रनगरमा हुने निश्चित भएपछि उनी कडा मिहिनेत गर्न थालिन्। भक्तराजले आश गरेको खेलाडी भएका कारण पनि १५ दिन उनले निरन्तर आफ्नो खेलमा ध्यान दिँदै महेन्द्रनगरमा उनी टिमको स्ट्राइकरको रूपमा मैदानमा देखापरिन्। एपिएफ, आर्मी, पुलिस जस्ता सशक्त विभागीय टिम सम्मिलित उक्त प्रतियोगितामा पिएलए, रौतहट, काठमाडौं जस्ता बलिया टोलीलाई हराउँदै फाइनलमा एपिएफसँगको भेट पक्का गरेको थियो इलाम टिमले। अनु लामा, जमुना गुरुङ, चन्द्रा राई, प्रमिला राई, अम्बिका दाहाल जस्ता नियमित प्रशिक्षण गरिरहेका खेलाडी सम्मिलित टिमसँग ६-० ले पराजित बन्दै इलाम टिम उपविजेतामा सीमित भयो तर पप्पुको खेलको सबैतिर चर्चा भयो। उनी सम्झिन्छिन्, ‘फराकिलो हार व्यहोर्‍यौँ तर गुरुको सपना पूरा गर्‍यौँ, त्यसैमा खुसी भयौँ।’

विभागीय टिमको नजर

महेन्द्रनगरमा उत्कृष्ट खेल पस्कँदै टिमलाई उपविजेता बनाएपछि उनीमाथि विभागीय टिमहरूको नजर पर्न सुरु गर्‍यो। तत्कालीन माओवादी जनसेनाको टिम पिएलएकी टिम मेनेजर बिमला पौडेलले आफ्नो टिमबाट खेल्ने अफरसमेत गरिन्। पिएलएले जागिरसमेत दिने भयो तर पप्पुले उनको प्रस्तावलाई स्वीकार गर्न सकिनन्। उनले भनिन्, ‘ममीलाई छाडेर फुटबल अगाडि बढाउन सक्दिनँथेँ। फ्ल्याटसमेत दिने भएका थिए। दर्शन गुरुले अझै मिहिनेत गर्‍यौ भने अरू धेरै अवसर आउन सक्छ भन्नुभयो, त्यसैले साइन गरिनँ।’

त्यसअघि नै महेन्द्रनगरको खेलबाट नै अनु लामाले पप्पुलाई एपिएफमा अनुबन्ध गराउन संपर्क गर्न नखोजेकी होइनन्। संपर्क नम्बर नहुँदा उनी एपिएफसँग नजिक हुन पाइनन्। भारतसँगको सीमा क्षेत्र भएकाले नेपाली फोनमा संपर्क हुन समस्या थियो।

२०६५ चैत २४ देखि ३० गतेसम्म काठमाडौंमा सम्पन्न पाँचौँ राष्ट्रिय खेलकुदमा समेत फाइनलमा अनु लामा र जमुना गुरुङले गोल गरेपछि पप्पु सम्मिलित पूर्वाञ्चल टिम ४-० ले एपिएफसँग पराजित बन्यो। पूर्वाञ्चल टिम फाइनल प्रवेश गरेसँगै एपिएफ टिमले आफनो क्लबमा आवद्ध हुन उनलाई प्रस्ताव गर्‍यो। जागिरसमेत पाइने भएपछि उनी आफ्नो भविष्यका लागि एपिएफसँग अनुबन्ध भइन्।

राष्ट्रिय टिममा अवसर

सागको २६ वर्षे इतिहासमा पहिलो पटक महिला फुटबल समावेश हुने भएपछि नेपालले समेत आफनो टिम तयार गर्न सुरु गर्‍यो। १० वर्षसम्म निस्क्रिय रहेको नेपाली महिला टिम पुनः एक पटक जुर्मुराएर उठ्यो। सोही जोशमा पप्पुसमेत राष्ट्रिय टिममा पर्न सफल भइन्। त्यस समयसम्म उनले एपिएफ टिमबाट डेब्युसमेत गरेकी थिइनन्। ‘जिल्ला टिम र पूर्वाञ्चल टिममा हुँदा खेर नै देखाएको प्रदर्शनले होला, एपिएफबाट डेब्युसमेत नगरी राष्ट्रिय टिममा परेँ’, उनले भनिन्।

२ फेब्रुअरी २०१० उनको जीवनकै अमूल्य क्षण बन्यो। पहिलो पटक उनले नेपाली राष्ट्रिय टोलीको जर्सी लगाएर मैदान छिर्ने अवसर पाइन्। श्रीलंकाविरुद्धको उक्त खेलमा नेपालले स्पष्ट अग्रता बनाएको बेला उनी नेपाली टिमकी भरपर्दी स्ट्राइकर अनु लामाको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीमा डेब्यु गरिन्। डेब्युको क्षण सम्झँदै पप्पु भन्छिन्, ‘हामीले स्पष्ट जीत निकालेका थियौँ, त्यसैले मैदान छिर्दा खासै डर लागेन।’

त्यो खेलमा नेपालले ८-१ गोल अन्तरले जीत निकालेको थियो। समूह चरणको अन्तिम खेलमा पाकिस्तानविरुद्ध अनु लामाकै स्थानमा प्रवेश गर्दै एक गोल गरेपछि नेपालले ७-० ले जीत निकालेको पप्पु बताउँछिन्। प्रतियोगिता विजेता बनेसँगै उनी गृहजिल्लामा सम्मानित मात्र भइनन्, एपिएफ टिमले उनीसहित सात जनालाई बढुवा गर्दै जवान पदबाट सहायक हवल्दार नै बनायो।

‘एन्फाको नयाँ नेतृत्वले ओलम्पिक छनोटअघि चीनमा मैत्रीपूर्ण खेलको अवसर जुटाइदिनाले रिजल्टसमेत सकारात्मक ल्यायौँ। अझै अवसर दिने हो भने ८-१० वर्षमा नेपालीका लागि विश्वकप असंभवचाहिँ छैन।’

दोस्रो प्रतियोगिताका लागि उनले पहिलो महिला साफ नै कुर्नुपर्‍यो। महिलाहरूको खासै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना नहुने भएकाले नेपाली टिम निस्क्रिय जस्तै बनेको बेला दक्षिण एसियाली फुटबल संघले सन् २०१० को अन्त्यमा महिला साफ आयोजना गर्ने भएपछि उनले समेत खेल्ने अवसर पाइन्। दोस्रो साफ च्याम्पियनसीपमा समेत उनले नेपाली टोलीमा रहेर नै सहभागी भइन्। तेस्रो साफ सन् २०१४ मा भने उनी सहभागी हुन पाइनन्। तत्कालीन समयमा प्रशिक्षकले उनलाई छनोटमा नै सहभागी नगराएको गुनासो गरिन् उनले। ‘तेस्रो साफ गेमका लागि मलाई र रेनुका नगरकोटीलाई छनोटमा सहभागी नगराई नै प्रशिक्षक किशोर केसीले फर्काउनुभयो। यो नै फुटबल करिअरको सबैभन्दा दुःखद क्षण हो मेरालागि’, उनले भनिन्।

चौथो साफमा समेत उनी नेपाली टिममा पर्न असफल भइन्। छ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्दै उनी म्यानमारमा सन् २०२० मा हुने ओलम्पिकका लागि एसियाली छनोट खेलको २० सदस्यीय नेपाली टिममा पर्न सफल भइन् तर मैदानमा उत्रन भने पाइनन्। स्ट्राइकरबाट सुरु भएको उनको फुटबल यात्रा अहिले सेन्ट्रल डिफेन्ससम्म पुगेको छ। होचो कदकी उनी क्लब र राष्ट्रिय टिममा डिफेन्सिङ लाइन सम्हाल्छिन्। ओलम्पिकको छनोटको दोस्रो चरण पुग्नु सबैभन्दा खुसीको क्षण लागेको उनी सुनाउँछिन्। ‘छ वर्षपछि टिममा परेँ तैपनि मैदानमा उत्रन पाइनँ तर म्यानमार र भारत जस्ता बलिया टोलीलाई बराबरीमा रोक्यौँ, त्यसैमा सफलता भएको मान्छु।’

कप्तानीको आर्म व्यान्ड  

२९ वर्षीया उनले गत जनवरीबाट विभागीय टिमको नेतृत्व सम्हाल्ने अवसर पाइन्। तत्कालीन कप्तान सजना राना मगर वैदेशिक रोजगारीका लागि दुवई गएपछि टिम सम्हाल्ने जिम्मा पप्पुमा आएको हो। नेपाली राष्ट्रिय टिमको भार बोकेको एपिएफको नेतृत्वसम्म पुग्न उनले निकै मिहिनेत गरेकी थिइन्। आठ वर्ष एपिएफको खेलाडीको रूपमा रहेकी उनको कप्तानको रूपमा डेब्युसमेत सनसनीपूर्ण थियो। १६औँ राष्ट्रिय महिला फुटबल २०७४ को उपाधि एपिएफ टिमले जित्दा टिमको कप्तानी पप्पुले गरेकी थिइन्। त्यसलगतै गत फागुनमा मैत्रीपूर्ण खेलका लागि हङकङ पुगेको एपिएफको टोलीलाई समेत उनले नै नेतृत्व गरिन्।

फिफा वरीयता क्रममा समेत नेपालभन्दा माथि रहेको हङकङको टोलीलाई एपिएफ जस्तो एउटा फुटबल क्लबले ३-१ को जीत निकाल्न सफल भयो। एउटा राष्ट्रविरुद्ध क्लबको कप्तान हुँदाको अवसर पप्पु यसरी सम्झिन्छिन्, ‘पहिलो पटक एउटा राष्ट्रविरुद्ध क्लबको कप्तानको रूपमा मैदान उत्रनु थियो। भर्खरै मात्र टिमको नेतृत्व सम्हाल्न सुरु गरेको थिएँ, तुलनात्मक रूपमा वरीयता क्रममा हाम्रो राष्ट्रिय टिमभन्दा माथिको टोली केही डर पनि थियो, कतै हारिन्छ कि भन्ने तर साथीहरूको टिम कम्विनेसनले जीत निकाल्दा साह्रै हर्षित भएँ।’

एन्फाबाट निराश

सरकारले महिला तथा पुरुष फुटबललाई हेर्न दृष्टिकोण परिर्वतन नभएसम्म फुटबलले गति नलिने उनी सुनाउँछिन्। ‘पहिला भन्दा अहिले केही सुधार त छ तर महिला टिमलाई अझै पनि अवसर भने कमै मात्र छ। सकारात्मक रिजल्ट नल्याउँदा पनि सरकारले पुरुष टिमका लागि भने मैत्रीपूर्ण खेलहरूका लागि अवसर दिन्छ, हामीलाई त्यो छैन', उनी भन्छिन्, 'पारिश्रमिकमा भने विभेद छ, पुरुषलाई मासिक १५ हजार दिँदा हामीलाई भने सात हजार मात्र। प्रतियोगिताको पुरस्कार राशिमा समेत अन्तर छ। पुरुष लिगको विजेतालाई ५० लाख पुरस्कार राख्दा महिला लिगका लागि भने दुई लाख मात्र छ।’

महिला टिमलाई मैत्रीपूर्ण खेलको अवसर नहुँदा विपक्षी टिमको रणनीति आँकलन गर्न साह्रै समस्या हुने उनको तर्क छ। ‘एन्फाको नयाँ नेतृत्वले ओलम्पिक छनोटअघि चीनमा मैत्रीपूर्ण खेलको अवसर जुटाइदिनाले रिजल्टसमेत सकारात्मक ल्यायौँ। अझै अवसर दिने हो भने ८-१० वर्षमा नेपालीका लागि विश्वकप असंभवचाहिँ छैन।’

फुटबल करिअरलाई अगाडि बढाउन चाहने नयाँ पुस्तालाई उनी खेलसँगै अध्ययनलाई पनि निरन्तरता दिन सल्लाह दिन्छिन्। ‘हामीले त फुटबल भनेर पढ्दा पढ्दै छोडयौँ। नयाँ आउने भाइबहिनीहरूले चाहिँ त्यसो नगर्नु। खेलसँगै पढाइलाई अगाडि बढाउँदा मात्र पूर्ण सफलताको महसुस हुन्छ’, अन्त्यमा उनले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.