|

तेह्रथुम : पछिल्लो समय सुविधा उपभोगमा जनप्रतिनिधि र कर्मचारीको मिलेमतो देखिएको छ। निर्वाचनका बेला निस्वार्थ भई जनताको सेवामा लाग्ने नारा दिएका जनप्रतिनिधिहरू आजकल सुविधा उपभोगमा तछाडमछाड गरिरहेका छन्।

प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू तथा कार्यपालिकाका सदस्यका साथै कर्मचारीलाई गाडीको सुविधा दिँदा लाग्ने इन्धन, चालक खर्च तथा मर्मत खर्च लगायतका कारण लाखौं रुपैयाँको आर्थिक व्ययभार बढ्ने भए पनि स्थानीय तहहरुले धमाधम सवारी साधन खरिद गर्ने गरेका छन्। 

यातायातका साधन आवश्यक भए पनि आवश्यकताभन्दा बढी मात्रामा खरिद गरिनुले जनप्रतिनिधि तथा कर्मचारीहरू बिलासिता भोगी हुँदै गएको आभास भइरहेको स्थानीयहरू बताउँछन्। कतिपयले त विकास बजेटको रकमबाटै मोटरसाइकल किन्ने गरेको समेत पाइएको छ। 

तेह्रथुमका ६ वटै स्थानीय तहले विभिन्न किसिमका सवारी साधनखरिद गरेका छन्। कार्य सम्पादनमा सहजता ल्याउनका लागि आवश्यक भएको भन्दै सबै पालिकाले ६ करोड ८० लाख ३९ हजार ७०० रुपैंयाको सवारी साधन खरिद गरेका हुन्। 

लालीगुराँस नगरपालिकाले ३३ लाखको पछाडि सामान बोक्न मिल्ने एउटा चारचक्के गाडी र १५ वटा मोटरसाइकल खरिद गरेको छ। जसमा ९ वटा मोटरसाइकल २ लाख १७ हजारका दरले, ३ वटा २ लाख ६० हजारका दरले र बाँकी ३ वटा भने २ लाख ३ हजार, ४ लाख ८० हजार र ४ लाख ८४ हजारका दरले खरिद गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम निरौलाले बताए।

यसका साथै २० लाखको एउटा ट्याक्टर, ९५ लाखको एउटा स्काभेटर र ३८ लाखको जेसिवी समेत खरिद गरेको नगरपालिकाले जनाएको छ। चालू आवमा एउटा एम्बुलेन्स खरिदका लागि १० लाख र एउटा नगरबस खरिदका लागि ४५ लाख रकम छुट्याएर आवश्यक प्रक्रिया अगाडि बढाइएको अधिकृत निरौलाले बताएका छन्। 

म्याङ्लुङ नगरपालिकाले चालू आवमा ५५ लाख रुपैयाँमा एउटा स्कर्पियो गाडी खरिद गरेको छ भने २९ लाख रुपैयाँमा १० वटा मोटरसाइकल खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्लेले बताए। गाडी नगर प्रमुखका लागि खरिद गरिएको र मोटरसाइकल नगरपालिकाका दश वटै वडाका वडाध्यक्षका लागि खरिद गरिएको नगरपालिकाले जनाएको छ। 

साथै १९ लाखमा एउटा ट्याक्टर किनिएको र कर्मचारीका लागि थप १० वटा मोटरसाइकल किन्ने तयारी रहेको नगरपालिकाका लेखा अधिकृत गोपाल लिम्बूले बताएका छन्। नगरपालिकाले पहिले ३० लाखमा किनेको पिकअप गाडी चालु अवस्थामा छ भने ६ वटा मोटरसाइकल र एउटा स्कुटर पनि रहेको बुझिएको छ। 
छथर गाउँपालिकाले गत आवमा ६५ लाख रुपैयाँमा पछाडि सामान बोक्न मिल्ने एउटा सवारी साधन खरिद गरेको छ। साथै ४ वटा मोटरसाइकल २ लाख १७ हजारका दरले ८ लाख ६८ हजारको र २ लाख ६० हजारमा एउटा मोटरसाइकल खरिद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य भण्डारीले बताए। साविकका गाविसहरुले खरिद गरेका ३ वटा मोटरसाइकल हाल वडाध्यक्षहरुले प्रयोग गर्दै आएको गाउँपालिकाले जनाएको छ।

त्यस्तै गरी मेन्छ्यायेम गाउँपालिकाले ६१ लाख ५० हजार रुपैयाँमा स्कर्पियो खरिद गरेको छ भने २ लाख १७ हजारका दरले ६ वटा मोटरसाइकल पनि खरिद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवदीप राईले बताए। 

फेदाप गाउँपालिकाले चालु आवमा ५४ लाख १५ हजार रुपैयाको स्कर्पियो गाडी र ५ लाख ९४ हजार ९०० रुपैयाँका दरले ३ वटा मोटरसाइकल खरिद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले बताए। उनले ३ लाखका दरले थप ३ वटा मोटरसाइकल पनि चाँडै खरिद गरिने बताएका छन्। साविक गाविसहरुले पहिले नै ५ वटा मोटरसाइकल खरिद गरेका थिए। 

आठराई गाउँपालिकाले ५२ लाख रुपैंयामा एउटा स्कार्पियो गाडी र २ लाख १५ हजारका दरले ४ वटा मोटरसाइकल खरिद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र दाहालले बताए। उनले कार्यालय प्रयोजनका लागि थप एउटा मोटरसाइकल खरिद गर्न ५ लाख रकम छुट्याएको बताएका छन्। साविकका गाविसहरुले खरिद गरेका ७ वटा मोटरसाइकल वडाध्यक्षहरुले प्रयोग गर्दै आएको गाउँपालिकाले जानकारी दिएको छ। 

गाउँगाउँमा आएको सिंहदरबारको अधिकारलाई जनतासमक्ष पु¥याउन जनप्रतिधिहरु गम्भीर भई लाग्नु पर्ने आवश्यकता रहेको यस समयमा स्थानीय तह सो अधिकार कार्यान्वयनमा कहीं कतै अल्मलिरहेको अगुवाहरू बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.