मनोरञ्जन

डुलकचन्द्र डुम्रेको हक (कथा)
SHARES

कात्तिक २५, २०७३

    छ जनाको टोलीमा आँखा पनि उनैसँग जुधे, कुरा पनि उनैसँग मिल्यो।

    जिन्दगी अचार न हो। कहिले घाम कहिले पानी, कहिले जन्ती कहिले मलामी।

    यस पटक एउटा परियोजनाले के-के तथ्याङ्क जम्मा पार्न हो कुन्नि, गाउँतिर पठायो। यी एनजिओका न उद्देश्य बुझिन्छ, न बुझेर केही टुङ्गो लाग्छ। दाम पाइन्छ, गइन्छ।

    बाटा खर्च, खाना खर्च र सामान्य औषधी उपचार खर्चबाहेक दिनको चोखो ३५ सय रुपियाँ। भत्ता। मोराहरूलाई कसले दिन्छ कुन्नि पैसा! कहाँबाट ल्याउँछन् एनजिओ भन्नेहरुले पैसा! ड्याम्म पैसा दिन्छन्। सुरुसुरुमा नक्कली नोट पो हुन् कि भनेर डराईडराई बैंकमा जम्मा गरिन्थ्यो। आजकल त्यो शंका हुँदेन।

    आ, जो सुकैले देओस्, यस पटक एकलाख दश-पन्ध्र हजार जति चोखो बच्ने हिसाव मन मनमा गणना गर्दै बसमा चढ्यो डुलकचन्द्र डुम्रे।

    कस्तो रहेछ ती युवतीको छाती, एकपटक डुलकले पनि हेर्छ। मिलेको रहेछ। मिल्नु र नमिल्नु भनेको के हो? कसलाई के थाहा हुन्छ र! आखिर यिनै मनभित्रका तरंग मिल्नु न हो। केही छिनको लागि, केही दिनको लागि र केही वर्षको लागि। घरपारिको रानीवन कुनै दिन कति रमाईलो लाग्दछ- हरियाली, बिहानीको घाम आदि सबै। कुनै दिन वास्ता नै हुँदैन। कुनै दिन कति उजाड र नरमाईलो पनि। सायद आज ४ नं सिटको नजरमा यी युवती बढी रोमान्टिक देखिएकी छन्!

    पूर्व तयारी वा कुराकानी केही छैन। उनी  डुलकसँगै सिटमा गएर बसिन्। ज्यान मिलेको छ, गोरी छन्। टाइट पाइन्ट र टिसर्ट लगाएकी छन्। आँखामा चमक छ, दाँतमा टलक छ। राम्रो स्प्रे गरेको शरीर छ। मगमग बासना आएको छ।

    यिनी अविवाहित होईनन् तर विवाह गरेको जस्तो संकेत छैन कतै। मोटामोटी हेर्दा राम्री छन्।

    सिटमा उनी र डुलक छन्। तर यो टोलीको एउटा  साथी, जो ४ नंवर सिटमा बसेको छ, उसको मन जलेर बस्न खान छैन। करिव १५ सेकेन्डको अन्तरमा ती युवतीतिरै हेर्छ। कतिबेला उनको खुट्टा मात्र हेर्छ, आँखा अर्कोतिर लैजान्छ। फेरि नितम्वको वरिपरि आँखा गाड्छ र झट्ट अगाडि हेरे झैँ गर्छ। अर्को पटक वक्षस्थलमा हेर्छ। योबेला उसले चाहेर पनि नजर घुमाउन सक्दैन। आँखा मिचेर आङ ताने झैँ गर्छ।

    फेरि उसको नजर 'पज' हुन्छ- उनको वक्षस्थलमै।

    कस्तो रहेछ ती युवतीको छाती, एकपटक डुलकले पनि हेर्छ। मिलेको रहेछ। मिल्नु र नमिल्नु भनेको के हो? कसलाई के थाहा हुन्छ र! आखिर यिनै मनभित्रका तरंग मिल्नु न हो। केही छिनको लागि, केही दिनको लागि र केही वर्षको लागि।

    घरपारिको रानीवन कुनै दिन कति रमाईलो लाग्दछ- हरियाली, बिहानीको घाम आदि सबै। कुनै दिन वास्ता नै हुँदैन। कुनै दिन कति उजाड र नरमाईलो पनि। सायद आज ४ नं सिटको नजरमा यी युवती बढी रोमान्टिक देखिएकी छन्!

    तर अति नै हेर्‍यो सिट नं ४ ले। हेर्छ फर्केर र नदेखिनेगरी थुक निल्छ।

    'उसको आत्माले ती युवतीलाई बलात्कार गरिरहेको छ', डुलकले मनमनै सोच्दछ। 'सेक्स' भनेको भौतिक मिलन मात्र होइन रहेछ। तरंगको मिलनले पनि आत्मालाई बिक्षिप्त पार्ने रहेछ।

    विभाजित त केवल कामुकता हुन्छ, जुन उसको अहिले भैरहेको छ। उसको हाड-छालाको मुढो सिट नं ४ मा छ तर आत्मा डुलकको साथमा रहेकी युवतीसँग 'लिभिङ टुगेदर' गरिरहेको छ।

    यदि छ जनामध्येकी ती साथी म- डुलकचन्द्र डुम्रे) वा अन्य ३ जनाबाहेक अरू कुनै बाहिरको यात्रीसँग बसेकी भए सायद सिट नं ४ को हालत यस्तो हुने थिएन। उसले ती युवतीमाथि आजको यात्राको लागि १ अप्पन ६ अर्थात शून्य दशमलब १६६ हिस्सामा मेरो पनि हक छ भन्ने सोचिरहेको छ। आत्मा, अस्तित्व, आस्था, सत्य  र प्रेम  अविभाजीत हुन्छन् भन्ने उसले अहिलेसम्म बुझेको छैन। विभाजित त केवल कामुकता हुन्छ, जुन उसको अहिले भैरहेको छ। उसको हाड-छालाको मुढो सिट नं ४ मा छ तर आत्मा डुलकको साथमा रहेकी युवतीसँग 'लिभिङ टुगेदर' गरिरहेको छ।

    डुलकचन्द्रको ठाउँमा ऊ (सिट नं ४) स्वयं पनि त हकदार हो, सँगै बसाइको। उसले ती युवतीसँग सँगै बस्न सक्थ्यो भन्ने अवसरको परिकल्पना गरिरहेको छ। उसको आँखाले उनको स्पर्श अधिकार खोजिरहेको छ। उसको हेराइ अनवरत छ। ऊ पनि त्यति साह्रो बेवकुफ हुन्थेन होला। तर उसले डुलकचन्द्रसँग ती युवती बसेको बसाइको शेयर खोजिरहेको छ। प्रत्येक मानिस यस्तै अंश, जिउनी, हक तथा शेयरले पीडित हुन्छ।

     

    यसपटक त ऊ भाग्यमानी ठहरियो। बस नौविसे कट्नासाथ ती युवती निदाएर डुलकको  कुममा ढल्किइन्। यसपछि उसले एकोहोरो उनलाई हेर्न थाल्यो। उसलाई अलिअलि  लाज डुलकको होइन, युवतीको  थियो। उनी निदाएको मौकामा एकोहोरो हेर्न थाल्यो।

    बाहिर त्रिशुलीमा पानीमाथि पानी नै बगेको छ तर भित्र डुलकको कुममाथि ती युवतीका डिम्पल परेका गाला बगेका छन्- बसको गतिसँगै। तर सिट नं ४ को हाल बेहाल छ।

    एनजिओ पनि भाँतिभाँतीका छन्। एउटै एनजिओका पनि अनेक काम आउँछन्। कसैले केको तथ्याङ्क बटुल्छन्। कसैले केको! कहिले हिमालतिरका मानिसको गणना गर्न हिँडियो। कहिले तराईका मानिसलाई संघीयता भनेको के हो? थाहा छ? भनेर सोध्न हिँडियो।

    प्रत्येकका अलग-अलग नियम, अलग-अलग तरिका हुन्छन्। अहिलेको एनजिओको छुट्टै नियम छ। यसमा आफ्नो परिवारभित्रका २ जना काममा जान पाउँदैनन्। यो परियोजनामा जति छन्, सबै परिवारबाहिरको हुनुपर्छ। किन हो कुन्नि- नातो जोडेर सँगै काममा जान पइँदैन!

    प्राय: धेरै आईएनजिओले गरिवी निवारण, मानवअधिकार, जातीय उत्पीडन जस्ता अमूर्त विषयमा काम गर्दछन्। जेसुकै गरून्, डुलकचन्द्रले यस्तैबाट वार्षिक ३-४ लाख रुपियाँ बटुलेकै छ।

    डुलकलगायत छ जनाको टोली छ। कसैसँग कसैको परिचय छैन। हिजो एनजिओले सामान्य अभिमुखीकरण तालिम गरेर सबैको नाम, ठेगाना त बताएको हो, तर सबैको नाम कसैलाइ पनि आउँदैन। सबै भत्ताका साथी हुन्।

    बस आफ्नै गतिमा गुडिरहेको छ- पर्वतको कुस्मा जानको लागि। बसमा ड्राइभरले एउटा गीत लगाएको छ, जसको बोल छ-

    मुग्लिङपारि घुम्तीको पुलमुनी,

    आवाज आउनी मायाकै झैँ लाउनी,

    नदेखिने कोई, म त अभागी विदेश हिँडे होई।

    स्वदशेमा बस्नेले पो के पाएका छन् र! तर विदेश गएकाको सेन्टिमेन्ट क्याच गर्न पाइन्छ भनेर प्रायः विदेशीलाई छोएर गीत बनाउँछन्, नेपालमा।

    डुलकले बाहिर हेर्‍यो र सोच्यो, 'त्रिशुलीमा गाडि खसेर हजारौँ मानिस मरिसकेका छन्। यदि त्रिशुलीमा पानी नभएको भए नेपालमा  अपांगको संख्या मात्र बढी हुने थियो। किनकि नदीको पानीमा डुव्नासाथ धेरै मरिहाल्छन्।' हात, खुट्टा र ढाड नचल्ने जीवन भन्दा मरेकै ठिक त होला। तर यसरी वर्सेनि लाखौँ मानिस आवत जावत गर्ने सडकको किनारमा कुनै तरिकाले बार लगाएर दुर्घटना भए पनि गाडी नदीमा नझर्ने उपाय गर्न सक्ने हो भने सयौँको जीवन बच्ने थियो। कति पो लाग्ला र जुगेडीदेखि मुग्लिङसम्म, मुग्लिङबाट कुरिनटारसम्म! आखिर भीर नभएको सम्म खेत, टारहरूमा केही गर्नु परेन, भीरमा मात्र बलीयोसँग खम्बाहरूमा तार अड्याउने र अझ बलियो बनाउन बाटो माथि पनि सपोर्टिङ पोलहरू राख्ने हो भने। यात्रा सुरक्षित हुने थियो। तर गर्ने कसले? ठूलाबडाहरू पावर छँदा जहाजमै हिँड्छन्। पावर नभएको बेलामा कसैले केही गर्न सक्दैनन्। 

    प्रायः लामो रुटको गाडीले लोकल यात्री उठाउँदैनन् भन्ने पनि कुरा मात्र हो। कसैले हात दिएर टाढा जाने संकेत गरेमा सहचालकले ढोका ड्याम्म पारिहाल्छन्। झिल्के ड्राइभरले झ्याप्पै ब्रेक हानिहाल्छन्। बसमा मानिस टम्म भइसकेका थिए। त्यस्तैमा एकजना वृद्ध लौरो टेकेर गाडीमा चढे।

    सिट नं ४ ले मनमनै एउटा योजना बनाएछ। 'ल ल बुढो मान्छे, यो सिटमा बस्नुहोस्' भनेर आफ्नो सिट जेष्ठ नागरिकलाई छोडिदिएर सहचालकसंग स्टुल मागेर हाम्रै सिटको नजिकै आएर बस्यो ऊ। ती युवतीसँग गफ गर्न थाल्यो तर ती युवतीले आफुलाई बमिट हुन थालेकोले गफ गर्न मन नलागेको जानकारी दिइन्।

    सिट नं ४ गफ नगरे पनि उनैतिरको सिटको डण्डीमा टाउको अड्याएर निदाएजस्तो गर्‍यो। तर युवतीलाई अति नै गाह्रो भयो क्यार! उनले झ्यालतिरको सिटमा सर्ने इच्छा गरिन। डुलक छेउतिर आयो।

    ४ नं मनमनै मुरमुरियो। यसो कुराकानी गरौँला भन्ने आशा थियो होला, बमिटले डुवाइदियो। केही समयपछि सिट नं ४ खाली भयो। ऊ पनि खाली नै मन लिएर आफ्नै सिटमा पुग्यो।

    के छ ती युवतीमा विशेष? किन सिट नं ४ यसरी आकर्षित भयो? डुलकले बुझ्न पनि सकेन र बुझ्न पनि चाहेन। तर उसले आँबुखैरेनी, डुम्रे, दमौली, लेखनाथ नगरपालिका पोखरा कट्दासमेत पुर्लुक पुर्लुक हेरेकै छ। आखिर हेर्नु त हो जिन्दगी- कसैले नदीको छाल हेर्छ, कसैले उम्लिरहेको दाल हेर्छ। कसैले फूल हेर्छ, कसैले हरियाली तथा सेताम्य हिमाल हेर्छ। यी सबै सोझो मनले केही छिनको लागि हेरिन्छ। तर सिट नं ४ को हेराइ सामान्य र मासुम हो जस्तो लाग्दैन। त्यहाँ जवानी मिसिएको छ, तृष्णा मिसिएको छ, अझ भनौँ मौकामा चौका मिसिएको छ। डुलकले सोच्दै गयो, ४ नं ले हेर्दै रह्यो। सायद उसले के यो सिट डुलकेको मात्र हक हो? भन्दै मनमनमा पाखुरा सुर्किरहेको छ। यसलाई फालेर मै बस्छु भन्ने पो सोचेको छ कि!

    युवती अहिले बमिटमुक्त भएकी छन्। गाडी लुम्लेको उकालोमा चढिरहेको छ।

     

रामप्रसाद गौतम

प्राध्यापन पेशामा संलग्न कथाकार गौतम समसामयिक विषयमा लेखहरू पनि लेख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]