|

काठमाडौं : गायिका मेलिना राईको स्वरमा रहेको 'तिम्ले बाटो फेर्‍यौ अरे' एकदमै हिट गीत मानिन्छ। यसै गीतबाट मेलिनाको लोकप्रियता निकै चुलिएको थियो। यस गीतलाई युट्युबमा एक करोड २३ लाख बढी पटक हेरिएको छ।

'तिम्ले बाटो फेर्‍यौ अरे'को सफलतासँगै अहिले यस टीमले 'तिम्ले बाटो फेर्‍यौ अरे २' सार्वजनिक गरेको छ। यस गीतमा पनि मेलिना राईले स्वर दिएकी छिन्। दर्पण राईको शब्द समावेश यस गीतमा विक्रम राईको संगीत सुन्न सकिन्छ।

'तिम्ले बाटो फेर्‍यौ अरे'को दोस्रो भागलाई लिएर गायिका मेलिना निकै उत्साहित छिन्। भन्छन्, 'मलाई यो स्थानमा पुग्न तिम्ले बाटो फेर्‍यौ अरे ले निकै सहयोग पुर्‍याएको छ। त्यसको दोस्रो भाग रिलिज भएको छ। यसले पनि मेरो करिअरमा थप सहयोग गर्नेमा म विश्वस्त छु।' आफूले गाएको गीतहरूमा मन पर्ने गीत मध्ये यो पनि एक भएको मेलिनाको भनाई छ।

त्यस्तै, गीतकार दर्पण राई पनि यस गीतलाई लिएर निकै आशावादी छन्। उनी भन्छन्, 'पहिलो भागमा भन्दा दोस्रो भागमा धेरै मेहनत गरेका छौं। गीत मेकिङको हिसाबमा हामी कतै चुकेका छैनौं। त्यसैले यस गीतलाई लिएर निकै आशावादी छु।' पहिलो भाग निकै सफल भएका कारण यो पनि सफल हुने उनको विश्वास छ।

शान थापाको निर्देशनमा तयार भएको 'तिम्ले बाटो फेर्‍यौ अरे २'को भिडियोमा मेलिना राई आफैँ फिचर छिन्। अनिल के मानन्धरले खिचेको भिडियोमा राजिव समरको करिओग्राफी तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.