|

हेटौंडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिक्षकका कारण शिक्षा क्षेत्र बिग्रिएको आरोप लगाएका छन्। उच्चस्तरीय राष्ट्रिय शिक्षाआयोग २०७५ को प्रतिवेदन तयारको क्रममा सोमबार हेटौंडामा आयोजित सुझाव संकलन कार्यशालाको उद्घाटन गर्ने क्रममा मुख्यमन्त्री पौडेलले शिक्षकको कारण शिक्षा क्षेत्रमा समस्या देखिएको आरोप लगाएका हुन्। 

मुख्यमन्त्री पौडेलले शिक्षकहरू संगठनको आडमा सरुवा भएको स्थानमा नजाने गरेको भन्दै जसले गर्दा व्यापक समस्या सिर्जना भइरहेको बताए। ‘शिक्षक आन्दोलनमा होमिएको व्यक्ति मध्येमा एउटा हामी पनि हौं। हामीले आफ्नो मर्यादा नै विर्सिनका लागि आन्दोलन गरेका थिएनौं’ उनले भने, ‘अहिले शिक्षकहरुले संगठनको नाममा आफ्ना मर्यादा नै भुलिरहेका छन्। जसले गर्दा शिक्षा क्षेत्रमा समस्या भइरहेको छ।’ 

शिक्षकले राज्यले बनाएको नीति नमान्ने गरेको प्रति मुख्यमन्त्री आक्रोशित देखिन्थेँ। दरबन्दी मिलानको क्रममा सरुवा भएको स्थानमा शिक्षक नजाने र शिक्षकलाई कारबाही गर्ने संयन्त्र बलियो नभएको भन्दै उनले यस्ता किसिमको अन्योलता हटाउने नीति आजको आवश्यकता रहेको बताए।

‘शिक्षा क्षेत्रमा व्यापक समस्या रहेको छ। जसको समाधानका लागि कसिलो नीति आवश्यक पर्दछ। त्यसका लागि स्थानीय तहदेखि नै सुझाव संकलन गर्न जरुरी रहेको छ’, मुख्यमन्त्री पौडेलले भने, ‘शिक्षक संगठनको नाममा शिक्षक अमर्यादित बन्दै गएको भन्दै शिक्षकलाई संवेदनशील हुन आवश्यक छ।’उनले भने, ‘अब हामीले बनाउने नीति व्यक्तिमैत्री होइन। जनमुखी र निष्पक्ष हुनुपर्छ। जसले गर्दा हाम्रो शैक्षिक प्रणालीमा सुधार आउनेछ।’ 

मुख्यमन्त्री पौडेलले प्राविधिक शिक्षा पढाउनका लागि दक्ष जनशक्तिको अभाव रहेको भन्दै अब त्यसतर्फ ध्यान दिनुपर्ने पनि औंल्याए। छलफलमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त सचिव रमेशप्रसाद शिवाकोटी, विभिन्न शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.