किसान भन्छन् 'गहुँको बीउ पाइएन’

|

विराटनगर : गहुँको बीउ पर्याप्त नपाएको किसानले गुनासो गरिरहेका बेला भारत तस्करी हुने गरेको खुलासा भएको छ। सिजन सुरु भएका कारण नेपाली कृषक अहिले गहुँको बीउको जोहोमा लागेका छन्।

समयमा बीउ पाएका कृषक धमाधम गहुँ छर्न व्यस्त छन्। भने कतिपय किसानले अझै बीउ पाउन सकेका छैनन्। समयमा बीउ पाउन नसकेर नेपाली कृषक छटपटाइरहँदा नेपालमा उत्पादन भएको गुणस्तरीय गहुँको बीउ भने अवैध रुपमा भारततर्फ तस्करी भइरहेको पाइएको छ। मोरङका मटेरुवा, जोगवनी, दरैया,टिकुलिया, हुलासमेटल समेतका नाकाबाट भने गहुँको बीउ भारततर्फ पुर्‍याउने गरिएको हो। गहुँको बीउ नेपालबाट भारत लैजान पूर्ण प्रतिबन्ध लगाइएको खाद्य वस्तुमा पर्छ। 

एनल २९७, एनल ९७१, गौतम, विजय, आदित्य लगायतका जातका गहुँको बीउ अवैध रुपमा भारततर्फ तस्करी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। जोगवनी नाका हुँदै भारततर्फ कटाउन लागेको अवस्थामा सशस्त्र प्रहरीले एकै पटकमा एक हजार किलोग्राम गहुँको बीउ बरामद गरेपछि गहुँको बीउ तस्करीका बारेमा बाहिर आएको हो। सशस्त्र प्रहरी वल नेपाल गुल्म हेड क्वाटर (राजश्व तथा भन्सार गस्ती सुरक्षा) ९ नम्बर गुल्म मोरङको टोलीले बीउ बरामद गरेर आवश्यक कारवाहीका लागि सोमबार विराटनगर भन्सार कार्यालयमा बुझाएको छ।

२५ बोरा (प्रति बोरा ४० किलोग्राम) गहुँ बरामद गरेर कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको गुल्मका डीएसपी सुरेन्द्रराज रन्जितले बताए। सशस्त्रको टोलीले गहुँ तस्करीमा संलग्नलाई भने पक्राउ गर्न सकेन। भारततर्फ लामो समयदेखि गहुँको बीउ तस्करी भइरहेको सूचना आएका कारण सीमावर्ती सबै नाकामा सशस्त्रको विशेष टोली परिचालन गरेर कडाई थालिएको डिएसपी रन्जितको भनाइ छ। उनका अनुसार भारतमा पनि बीउ प्रयोजनकै लागि गहुँको तस्करी हुने गरेको पाइएको छ।

नेपालमा भन्दा महँगो मूल्य पर्ने भएपछि भारततर्फ गहुँको बीउ तस्करी गर्ने गरेको पाइएको हो। नेपालमा दुई हजार सात सय रुपैयाँ प्रति बोरा पर्ने गहुँको बीउलाई भारतमा चार हजार रुपैयाँ भन्दा बढी पर्ने गरेका कारण यसको तस्करी मौलाएको हो। ‘सिजनमा गहुँको बीउ नपाएर नेपाली कृषक समस्यामा परिरहेका बेला नेपालबाटै बीउ धमाधम भारततर्फ तस्करी भइरहेको छ,’ स्रोतले भन्यो, ‘यसमा सुरक्षा निकायकै मिलेमतो हुन सक्छ।’ सरकारी तथा निजी कम्पनीबाट कृषकलाई बिक्री वितरण गर्नका लागि भनेर ल्याइएको गहुँ तस्करीमा संलग्नले अवैध रुपमा भारततर्फ पुर्‍याउने गरेको स्रोतको भनाइ छ। 

सुनसरीको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा, राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेड इटहरी लगायतका सरकारी तथा निजी संस्थान र कम्पनीले विभिन्न माध्यमको प्रयोग गर्दै कृषकका लागि बीउ उपलब्ध गराउँछन्। रौतहट, मकवानपुर लगायतका जिल्लाबाट पूर्वमा गहुँको बीउ झिकाएर कृषकलाई उपलब्ध गराइन्छ।विराटनगरमा लामो समयदेखि गहुँको बीउको कारोवार गर्दै आएका व्यापारी मनोज गोयलले खुल्ला सीमानाका कारण धेरै वर्ष पहिलेदेखि गहुँको बीउ भारततर्फ तस्करी हुने गरेको बताए।

तस्करीमा संलग्नले नेपालमा भन्दा भारतमा बढी मूल्य पाउने भएका कारण गहुँको बीउको तस्करी गर्ने गरेको उनको भनाइ छ। ‘नेपालमा उत्पादन गरिएको बीउ भारतको भन्दा गुणस्तरिय हुने भएकाले पनि भारतीय कृषकको रोजाइमा पर्ने गरेको हो,’ उनको भनाइ छ। गोयलले नेपालमा उत्पादित बीउले उत्पादन राम्रो दिने भएका कारण भारतीय कृषकको रोजाईमा नेपाली गहुँको बीउ पर्ने गरेको बताए। उनका अनुसार गुणस्तरिय र उत्पादन राम्रो दिने भएकै कारण भारतीय कृषक नेपालमा उत्पादन गरिएको गहुँको बीउलाई बढी मूल्य तिर्न तयार हुन्छन्।

राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेड इटहरीका प्रमुख राजेश्वर श्रेष्ठले नेपालमा उत्पादन हुने बीउ गुणस्तरिय भएको कारण भारततर्फ तस्करी हुने गरेको र यसलाई तत्काल नियन्त्रण गर्न आवश्यक रहेको बताए। श्रेष्ठले गहुँ छर्ने सिजन चलिरहेका कारण नेपालबाट भारततर्फ ठूलो परिणाममा हुने तस्करी नियन्त्रण गर्न नसकेमा नेपाली कृषकका लागि भने गहुँको बिउ अभाव हुन सक्ने बताए।

 मोरङ जहदा ४ का किसान राजेन्द्र मण्डलले डिएपी मल र गहुँ अभाव हुँदा आफूहरूले समयमै बाली लगाउन नपाएको गुनासो गरे। यस्तै मोरङको कटहरीस्थित तरकारी उत्पादक कृषि सहकारी संस्थाद्वारा संचालित मल बीउ बिक्री केन्द्रका प्रमुख राजबल्लभ सिंहले गहुँको बीउ अभाव रहेको बताए। बीउको अभावको विषयमा सम्बन्धित निकायमा जानकारी गराउँदा पनि बीउ उपलब्ध नभएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.