|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको नौ महिना पूरा भएको छ। मुलुकको ठूलो दल नेकपाको नेतृत्वमा दुई तिहाईको सरकार गठन भएको लामो समय भइसक्दा पनि सरकारको कामकारवाहीप्रति जनगुनासो झन् बढ्दै गएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, आमजनता हुँदै पछिल्लो समय सत्तारुढ दलकै नेताहरूले समेत सरकारको खुलेर आलोचना गर्दै आएका छन्। विरोधको आवाज सामाजिक संजालमा झनै बढी देखिन्छ। नेकपाकै कार्यकर्ताहरू पनि सामाजिक संजालमा सरकारका गतिविधिको विरोधमा उत्रिएको देखिन थालेको छ।

त्यसो त सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रममाथि आफ्नै पार्टीका सांसदहरूले संसदको रोस्ट्रमबाटै आलोचना गर्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा बोलाएर सरकारको समर्थन गर्न र कार्यक्रम लागू गर्न सांसदहरूलाई आग्रह गरे।

सरकारका कामकारवाहीलाई लिएर विपक्षी दल र सामाजिक संजालबाट विरोध भएपछि नेकपा पार्टी कार्यालय धुम्बाराहीबाट कार्यकर्तालाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अरिंगाल बनेर विपक्षीमाथि जाइलाग्न भने। त्यसको पनि विरोध भएपछि प्रधानमन्त्रीले धुम्बाराहीबाटै माहुरी बनेर सरकारका नीति, कार्यक्रम लागू गर्न आग्रह गरे।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, स्थायी समिति सदस्यहरू भीम रावल, घनश्याम भुसाल हुँदै पछिल्लो समय तल्लो तहका नेताहरूले समेत सरकारको विरोधको स्वर चर्काउन थालेका छन्।

आफ्नै पार्टीको नेतृत्वमा सरकार भइरहँदा सरकारका कामकारवाहीलाई लिएर रक्षात्मक हुनुपर्ने नेकपाका नेताहरू किन खुलेर सरकारको विरोध गरिरहेका होलान्? यसै सन्दर्भमा नेकपाका नेताहरूले सरकारका कामकारवाहीलाई कसरी हेरेका छन्? सरकारले किन काम गर्न सकेन? भन्नेबारेमा थाहाखबरकर्मी देविका घर्तीमगरले नेताहरूसँग लिएको प्रतिक्रिया प्रस्तुत छ।

सरकारको योग्यता पुगेन : घनश्याम भुसाल

नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसाल सरकारसँग योग्यता नपुगेका कारण काम गर्न नसकेको बताउँछन्। कहिलेकाहीँ व्यक्ति सक्षम हुँदा पनि योग्यता नपुग्दा काम गर्न नसकिने उनले टिप्पणी गरे। 'काम गर्नका निम्ति योग्यता, क्षमता चाहिन्छ। कहिलेकाहीँ मान्छेहरू, पार्टीहरू सक्षम हुन्छन् तर योग्यता हुँदैन', उनले भने।

क्षमताका हिसाबले अहिले सरकारसँग दुई तिहाई बहुमत भए पनि योग्यता नपुगेका कारण काम हुन नसकेको भुसालले टिप्पणी गरे। 'सरकारसँग दुई तिहाई बहुमत छ। पार्टी संगठन सबै छ', नेता भुसालले भने, 'तर हामीले त्यसको योग्यता पुर्‍याउन सकेनौँ। सरकारको योग्यता पुगेन, त्यस कारण काम गर्न सकेन।'

सबै कुरा योग्यताबाट सुरु हुने भएकाले सरकारसँग क्षमता भए पनि योग्यता पुर्‍याउन नसकेको उनको भनाइ छ। 'मुख्य समस्या नै योग्यता हो। त्यस कारण काम हुन सकेन। सरकारले योग्यता पुर्‍याउनुपर्‍यो', उनले भने, 'हाम्रो पार्टी नेतृत्वसँग पनि योग्यता भएन। पार्टी नेतृत्वसँग क्षमता छ, योग्यता भएन। कार्यकर्तासँग योग्यता भएर हुँदैन, नेतृत्वसँग हुनुपर्‍यो नि!'

राम्रो काम पनि भएको छ : बेदुराम भुसाल

नेकपा स्थायी समिति सदस्य बेदुराम भुसाल सरकारले गरेका कामलाई दुई तरिकाले हेर्नुपर्ने बताउँछन्। खासगरी परराष्ट्र सम्बन्धमा सुधार, छिमेकीहरूसँगको सम्बन्ध सुधारका कार्यलाई राम्रो नै मान्नुपर्ने उनको भनाइ छ। संविधान जारी भएपछि मौलिक हकसँग सम्बन्धित कामहरूलाई पनि राम्रै लिनुपर्ने उनले बताए।

'चीनसँगको व्यापार तथा पारवहनसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने काम भएको छ। त्यो राम्रो काम भएको छ', भुसालले भने, 'संविधान जारी भएपछि मौलिक हकसम्बन्धी जति पनि कानुनहरू बनाउनुपर्ने थियो, त्यो पहिलेकै सरकारले बनाइसक्नुपर्ने थियो। त्यो काम यो सरकारले सम्पन्न गरेको छ। त्यसलाई सकारात्मक लिनुपर्छ।'

कतिपय कर्मचारी समायोजनसम्बन्धी काममा कर्मचारीहरूबाटै व्यवधान खडा भए पनि सरकारले काम अगाडि बढाएको भन्दै मलेसियासँगको श्रमसम्बन्धी भएको सम्झौतालाई सकारात्मक रूपमा लिनुपर्ने उनी बताउँछन्।

तर सरकारको आकारको हिसाबले यो काम पर्याप्त नभएको उनको भनाइ छ। खासगरी शान्ति सुरक्षा कायम गर्ने तथा मूल्य वृद्धि नियन्त्रण गर्ने सन्दर्भमा सरकार चुकेको उनको भनाइ छ। 'यो सरकारलाई अहिले जुन खालको झन्डै दुई तिहाई बहुमतको समर्थन छ, त्यो हिसाबले कामहरू गर्न सकेको छैन', नेता भुसाल भन्छन्, 'शान्ति सुरक्षा जुन रूपले सरकारले कायम गर्नुपर्थ्यो त्यो गर्न सकेको छैन भन्ने आमगुनासो छ। निर्मला पन्त त एउटा केस भयो। यस्तो बलियो सरकारले देशैभरि जुन रूपले शान्ति सुरक्षा कायम गर्नुपर्थ्यो, त्यो हुन सकेको छैन।'

सरकारले शान्ति सुरक्षा कायम गर्नका निम्ति भूमिका निभाउन नसकेको उनको भनाइ छ। यसमा सरकार कमजोर रहेको उनले बताए। सरकारलाई प्राप्त बहुमतका हिसाबले अहिलेको बलियो सरकारले मूल्य नियन्त्रणका सन्दर्भमा जुन खालको अनुगमन गर्नुपर्ने थियो, त्यो गर्न नसकेको उनी बताउँछन्। 'मूल्य नियमन्त्रणका निम्ति जुन कदम चाल्नुपर्ने थियो, त्यो कदम चालिएन। मूल्य वृद्धिले आकाश छोयो भन्ने जनगुनासो छ', उनले भने, 'त्यो गुनासो जायज छ। त्यो पक्षमा सरकारको भूमिका देख्न नपाइएकै स्थिति छ।'

सरकारले गरेका कतिपय नियुक्तिहरूमा पनि विवाद देखिएको नेता भुसालको भनाइ छ। केही नियुक्तिहरू समयभन्दा ढिलो भएको र ढिलो हुँदा पनि राम्रो भएन भन्ने खालका गुनासो आएको उनी बताउँछन्। यसले सरकारको कमजोर पाटोलाई प्रदर्शन गरेको उनको भनाइ छ।

रेलको इन्जिन लिकमा नहिँडेपछि जता पनि कुदिहाल्छ : राम कार्की

नेकपा स्थायी समिति सदस्य सुरेन्द्रकुमार कार्की 'राम' सरकारले मेलो समात्न नसकेको भन्ने गुनासो जनस्तरबाट आइरहेकाले अब सरकारले जनताको अपेक्षाप्रति भरोसा जगाउनुपर्ने बताउँछन्। 'मैले भन्दाखेरि पनि सरकारलाई जसले गठन गरेको हो, ती गठन गर्ने लाखौँ मान्छेमध्ये म पनि एउटा हुँ। लाखौँ लाख मान्छेहरूले जुन प्रकारको सोच राखेर सरकारको गठन गरेका थिए, उनीहरूको सरकारले मेलो समात्न नसकेको भन्ने नै प्रतिक्रिया पाइन्छ', कार्की भन्छन्, 'अर्कोतर्फ पाँच वर्षका लागि म्यान्डेट मागेको हो मतदाताबाट। अहिले नौ महिनामै सबै कुरा पूरा हुने त होइन, तर कमसेकम पूरा हुँदै जाने रहेछ भनेर जनतामा भरोसा जगाउनुपर्नेछ।'

सरकारले जनतालाई भरोसा जगाउन नसकिरहेको उनले बताए। त्यसको मुख्य कारण पार्टीबाट जुन सहयोग पाउनुपर्ने हो, त्यो पाउन नसकेको उनको भनाइ छ। 'सरकारले पार्टीबाट पाउनुपर्ने सहयोग पाइराखेको छैन। पार्टीको स्थायी समिति र केन्द्रीय समिति नबोलाएर अगाडि बढ्ने दम्भ र अहंकारले त यस्तो भएको हो', नेता कार्की भन्छन्, 'मान्छेहरू केही समय मर्यादामा बस्छन्, अब संघर्षको अर्को पक्ष अमर्यादित भएर आयो भने सबै मर्यादाहरू भत्किन्छन्। त्यसो हुनाले अहिले पनि मर्यादाको सीमाभित्रै संचालन गर्छौं भन्ने सोच छ हाम्रो।'

पार्टीको केन्द्रीय समिति बैठक बोलाउनुपर्ने तर समितिको बैठक बोलाउने कुरा संगठनात्मक कुरा भएकाले पार्टीले लय नसमातेको उनको भनाइ छ। वैचारिक राजनीतिक दिशा लिनुपर्ने भए पनि त्यो दिशा पनि अख्तियार नगरेको पाइएको उनले बताए। रेल लिकमा नहिँडेका कारण अहिले अस्तव्यस्तता भएको उनले बताए। भने, 'रेलको इन्जिन लिकमा नहिँडेपछि हिलो, मैलो, धूलो खाडल जहाँ पनि कुदिहाल्छ भनेजस्तै भयो यो सरकार।'

भ्रष्ट कर्मचारीलाई कारवाही गर्न सक्नुपर्छ : रामनारायण बिडारी

नेकपा नेता रामनारायण बिडारी सरकारले काम सुरु गरेकाले अहिले नै आलोचना गर्ने बेला नभइसकेको बताउँछन्। उनले सरकारले काम सुरु गर्नका निम्ति कतिपय पुरानो संयन्त्र, कर्मचारी संयन्त्र, पुरानै ढाँचाको राज्य व्यवस्थालाई नयाँ ढाँचामा लैजानुपर्ने भएको हुनाले केही ढिलो जस्तो देखिए पनि काम भने भइ नै रहेको बताए।

'प्रहरी संगठन, कर्मचारी संगठन र संयन्त्रहरूमा सुधार र मर्मत गर्नुपर्ने काम सरकारले गरिरहेको छ। विकास निर्माणका कामहरूलाई पनि जग हाल्ने, सुरुवात गर्ने काम गरिरहेको छ', बिडारी भन्छन्, 'चाहे हाइड्रो होस्, चाहे सडक वा उपत्यकाभित्र बिग्रिएको, भत्किएको, फोहोर भएको शहरलाई सफा गर्ने कुरा विस्तारै सुरुवात गरेको छ।'

तर जनतामा काम छिटो भए हुन्थ्यो भन्ने अपेक्षा भएको भन्दै सरकारले छिटोछिटो काम गर्न नसकेको उनी बताउाछन्। 'काम अब सुरु भएको छ। पूर्व-पश्चिम राजमार्ग, विभिन्न सडकहरू निर्माण, जलविद्युत, खानेपानीसम्बन्धी कामहरू भइरहेका छन्। बिजुलीको समस्या हाम्रै अगाडि समाधान भएको छ। सरकारले सबै काम गर्दै गएको छ तर छिटो छरितो भएको छैन', उनले भने।

तर भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा भने सरकारले काम गर्न नसकेको उनको भनाइ छ। 'विभिन्न ठाउँमा भ्रष्ट कर्मचारीलाई कारवाही गर्ने काम गर्नसकेको छैन। निश्चित ठाउँमा खटाउन सकेको छैन', बिडारी भन्छन्, 'नेपाली जनतालाई शिक्षाका बारेमा, स्वास्थ्यका बारेमा तत्कालै गर्नुपर्ने कार्यहरू सरकारले गर्न सकेको छैन।'

२०७४ सालमा योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी ऐन बनिसकेको र संगठित क्षेत्रमा काम गर्ने आममजदुर, किसानहरूको सामाजिक सुरक्षासम्बन्धी सरकारले ल्याएको अवधारणा सकारात्मक भएको बिडारीले बताए। 'सरकारले ल्याएको अवधारणामा मजदुर, किसानहरूको पेन्सन, उपचारलगायतका सुरक्षासहितको कुरा गरिएको छ, जुन एकदमै सकारात्मक काम सुरु गरेको छ', उनले भने, 'यस्तै गरी काम हुँदै जान्छ। अहिले पर्याप्त मात्रामा काम भइसकेको छैन।'

अहिले नै निराशाको बिन्दुमा पुग्नुहुँदैन : महेश बस्‍नेत

नेकपा नेता महेश बस्नेत तीन तहको निर्वाचनपश्चात् सरकारले तीनै तहलाई व्यवस्थित गर्नुपर्ने भएकाले केही समय त्यसतर्फ खर्चिनुपरेको बताउँछन्। टाट पल्टेको अर्थतन्त्रलाई उकास्नुपर्ने जिम्मेवारी र विगतको आन्दोलन र युद्धले मानसिकता गिरेको प्रहरी र सुरक्षा निकायको मनोबल उठाउनुपर्ने जिम्मेवारी रहेको उनी बताउँछन्।

लामो समयदेखि जकडिएको भ्रष्टाचार अन्त्य गर्नुपर्नेलगायतका कामहरू रहेकाले सरकार बाटोमा नै हिँडिरहेको उनको भनाइ छ। 'सरकार बाटोमा नै गइरहेको छ। थुप्रै कुराको व्यवस्थापन गर्नुपर्ने सन्दर्भमा कठिनाइ भएकाले सरकारको जनअपेक्षाअनुसार पर्फर्मेन्स गर्न नसकेको हो', बस्नेतले भने।  

प्रधानमन्त्रीको दृष्टिकोण, भिजन र उत्साह हेर्दा अहिले नै निराश हुनुपर्ने बिन्दुमा पुग्न नहुने बस्नेत बताउँछन्। यसबीचमा थुप्रै राम्रा काम भएको उनको भनाइ छ। 'राजस्‍व संकलनको यो चार महिनाको स्थिति हेर्दा आशालाग्दो र सन्तोषजनक छ', उनले भने, 'अपराध नियन्त्रण गर्ने कुरामा समुदाय र प्रहरीबीचको सहकार्य जुन चलिरहेको छ, त्यसले अपराधलाई नियन्त्रण र जनता-प्रहरीबीच सम्बन्ध सुमधुर गर्ने कुरामा भूमिका खेल्छ।'

सरकारले मितव्ययिता अपनाउनले सन्दर्भमा भूमिका खेलेको भन्दै बस्नेतले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सम्बन्ध विस्तार गर्न सफल भएको बताए। 'अन्तर्राष्ट्रिय तहमा पनि नेपालको छवि राम्रो भएको छ। सम्बन्ध व्यवस्थित भएको छ। भारतसँग सहकार्य गरेर रेलमार्ग निर्माण प्रक्रिया अगाडि बढेको छ', उनले भने, 'पानीजहाज ल्याउने र मेलम्ची खानेपानी काठमाडौं आउने अन्तिम चरणमा छ। भैरहवा र पोखरा विमानस्थल निर्माण सुरु हुने र निर्माण सम्पन्नको चरणमा पुगेका छन्।'

जनताका अपेक्षा र सरकारले गरिरहेका कामबीच तालमेल नमिलेर आलोचना बढी भएको उनी बताउँछन्। 'जनताले देख्ने भनेको सडक हो। सडकमा खाल्डाखुल्डी र धूलो बढी भएकाले जनताको सरकारप्रति आक्रोश हो', नेता बस्नेत भन्छन्, 'सडकको समस्या न्यायालयसँगको असमझदारीका कारण पनि काम हुन सकेको छैन। कलंकी-नागढुंगा सडकको कुरा गर्दा डेढ अर्ब बजेट छ, अदालतले क्षतिपूर्तिको फैसला नै ५५ अर्बको गरेको छ। यस हिसाबले त कुनै पनि सडक बन्दै बन्दैनन् किनभने १३ खर्बको बजेट छ, १० किलोमिटर बाटो बनाउनलाई ५५ अर्ब मुआब्जा लाग्ने फैसला आउँछ।'

न्यायालय र सरकारबीचमा पनि समझदारी बनाउनुपर्ने उनको भनाइ छ। सडक निर्माण जस्ता देखिने काम व्यापक रूपमा सुरु भएपछि सरकारप्रति जनताको आक्रोश कम हुने उनको विश्वास छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.