|

बाँके : राप्तीसोनारी गाउँपालिका ६ मेहमानपुरका ५२ वर्षीय शारीरिक अपांग विन्तिराम थारुले अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा जस्तापाताले छाएको घर उपहार पाएका छन्। दुई बेडरुम, एक भान्छा र बरन्डा भएको पक्की घर उपहार पाएपछि उनले जिन्दगीमा सवैभन्दा खुशी पाएको बताए।

हेविट्याट फर ह्युम्यानिटीको सहयोगमा महिला उपकार मंचले निर्माण गरेको भवनको प्रदेश ५ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले चावी हस्तान्तरण गरिन्। घरको चावी पाउँदा खुशीको सीमा थिएन उनमा। ‘पक्की घर पाएपछि सपना हो की विपना हो छुट्याउन मुस्किल परिरहेको छ,’ उनले भने। 
परिवारका सदस्य मध्ये आफू, पत्नी सुकन्या, जेठो छोरो श्रवण र छोरी मन्जु शारीरिक अपांग छन्। माइलो र कान्छो छोरा मात्र सपांग। उनीसँग जमिनको नाममा चार कट्ठा जमिन छ। त्यहि जमिन पनि राप्ती नदीले बगर बनाएको छ। खेतमा दुई/तीन क्विन्टल धान फल्ने गरेको सुकन्याले बताइन्।

एक छाक भात र एकसरो लुगाका लागि सकिनसकी मजदुरी गर्न गएको उनले बताइन्। उनले भनिन्, ‘अपांग छ भनेर काम पनि सजिलै दिँदैनन्।’खान, लाउन नपुग्ने भएपछि विन्तिरामका तीनवटै छोरा विद्यालय जान पाएका छैनन्। जेठो छोरा श्रवण कक्षा ६ मा पढ्दा पढ्दै विद्यालय छोडेँ भने माइला छोरा सुनिलले पाँच र कान्छो छोरा सुरेशले दुई कक्षाभन्दा माथिको शिक्षा लिन पाएनन्।

विद्यालय छोडेपछि माइलो र कान्छो छोरा पनि आमासँग मजदुरी गर्न जान थालेको विन्तिरामले बताए। ‘पढ्न पठाउँ भने माड समेत खान नपाउने हुन्छ। नपठाउँ भने उनीहरूको पढाई विग्रिरहेको छ,’ उनले भने। 

स्थानीय स्तरमा पाइने बालुवा, ढुंगा, गिट्टी, माटो, काठ र मजदुरको ब्यवस्था घर धनीले आफैले जोहो गर्नुपर्छ। ‘छड, सिमेन्ट, जस्तापाता, किला, कब्जा लगायतका निर्माण सामग्री हेविट्याट फर ह्युम्यानिटीले खरिद गरिदिन्छ,’ उनले भने। तर विन्तिरामको परिवारले घर निर्माणमा श्रम शक्ति समेत दिन नसक्ने भएपछि उनको घर निर्माणमा हेविट्याटले मिस्त्री, मजदुर र निर्माण सामग्रीमा सहयोग गरेर घर निर्माण गरिदिएको छ। उनले ब्यवस्था गर्नुपर्ने काठ, बालुवा, गिट्टी, माटो लगायतका सामान राप्तीसोनारी गाउँपालिका ६ वडा कार्यालयले सहयोग गरेको वडाअध्यक्ष जनकबहादुर थारुले बताए। उनले परिवारका सदस्य सवै अपांग भएकोले घर निर्माणमा सहयोग गरेको बताए। ‘घर निर्माणमा विन्तिरामजीको एकरुपैयाँ पनि खर्च हुन दिएनौँ,’ अध्यक्ष थारुले भने।

हेविट्याट फर ह्युम्यानिटीको सहयोगमा महिला उपकार मंचले राप्तीसोनारी गाउँपालिका ६ का पूर्ण क्षति भएका १६६ बाढीपीडित मध्ये गरिव तथा अतिविपन्न परिवारको छनोट गरी ४० परिवारका लागि घर निर्माणमा आर्थिक सहयोग गरिएको हेविट्याट फर ह्युम्यानिटीका कार्यक्रम संयोजक साजन महर्जनले जानकारी दिए। उनले एउटा घर निर्माणका लागि चारलाख ५० हजार रुपैयाँ बराबरको निर्माण सामग्री सहयोग गरेको बताए। 

आंशिक क्षति भएका ६४ परिवार बाढीपीडितका लागि ह्विट्याटले आंशिक सहयोग गर्ने भएको छ। पूर्ण क्षति भएका परिवारको घर निर्माण पूरा भएपछि आंशिक क्षति भएका परिवारको घर निर्माण गरिने महिला उपकार मंचकी अध्यक्ष विजुलाकुमारी अधिकारीले जानकारी दिइन्।

आंशिक क्षति भएका परिवारलाई घर निर्माणका लागि ८० हजार बराबरको निर्माण सामग्री उपलब्ध गराउने उनले बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.