|

पोखरा : गोरखाका पुराना नेता हुन चिरञ्जीवी वाग्ले। उनी नेपाली कांग्रेसमा प्रभावशाली छवि बनाएका नेता हुन्। पटक पटक मन्त्री भएका वाग्लेले भ्रष्टाचार अभियोगमा जेल सजाय पनि भोगे। 

पार्टीको राजनीतिबाट केही समय ओझेलमा रहेका उनी अहिले कांग्रेसको महाधिवेशन प्रतिनिधि मात्र छन्। वाग्ले अहिले गाउँमा धर्मकर्ममा लागेका छन्। उनले जन्मथलो गोरखाको बुंकोटमा रहेको कोटकाली भूमेमन्दिरलाई २२ खाख रुपैयाँबराबरको सहयोग गरे। सहयोगपछि उनले भने, ‘एउटा खेत भगवानलाई दिन्छु भनेको थिएँ। चढाएँ।’ 

आफ्नो नाममा अश्राङमा रहेको १४२४ कित्ताको छ रोपनी जग्गाबाट प्राप्त भएको रकम कोटकाली भूमेमन्दिर सञ्चालन समितिलाई आइतबार हस्तान्तरण गरेका हुन्। ‘२२ लाख १८ हजार चार सय ४० रुपैयाँ रहेको चेक वाग्लेले मन्दिरको नाममा प्रदान गरे,’ शहिद लखन गाउँपालिका ८ का अध्यक्ष काशीनाथ अम्गाईँले भने।’ छ रोपनी जग्गाको जम्मा पाउनुपर्ने रकम ३८ लाख ७६ हजार रुपैयाँ भए पनि बुढी गण्डकी जलविद्युत आयोजनाले ३० प्रतिशत रकम काटेर बाँकी रहेको रकम मात्रै उनले मन्दिरलाई दान दिएका हुन्। वाग्लेकै सल्लाहमा उक्त रकमलाई बैंकमा अक्षयकोषको रूपमा जम्मा गर्ने तयारी छ। 

वाग्लेले स्थापना गरिदिएको उक्त अक्षयकोषमा गाउँलेहरूले पनि रकम जम्मा गरिदिएका छन्। वाग्ले र गाउँलेले दिएको रकम गरेर २५ लाख भन्दा धेरै रकम जुटिसकेको वडा अध्यक्ष अम्गाईँले बताए। 

वाग्लेले जन्मथलोको विकासका लागि आफूले सहयोग गरेको बताए। ‘आफ्नो ठाउँ आफैँले बनाउने हो,’ उनले भने, ‘सबैले सकेको सहयोग गर्नुपर्छ भन्ने सन्देश दिन पनि सहयोग गरेको हुँ। गाउँको विकास शैक्षिक, धार्मिक जे क्षेत्रबाट सम्भव त्यै क्षेत्रबाट गर्ने हो। यहाँ धार्मिक पर्यटन बढाउन सकिने देखेरै मैले यो सहयोग दिएँ।’
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.