|

बैतडी : विगत एक महिनादेखि नर्स नहुँदा बैतडी जिल्लामा प्रसूति सेवा प्रभावित हुँदै आएको छ। चार जना स्टाफ नर्सको दरबन्दी भएको जिल्ला अस्पतालमा गएको महिनादेखि नर्सविहीन छ।

अस्पतालमा हाल एकजना पनि स्टाफ नर्स नहुँदा प्रसूति सेवा प्रभावित भएको अस्पतालका प्रमुख डा. जगदीशचन्द्र विष्टले बताए। 'जटील खालका प्रसूति सेवा दिन स्टाफ नर्स तालिम प्राप्त हुन्छन्। तर अस्पतालमा एकजना पनि नर्स छैनन्' उनले भने  'गर्भवतीको अल्ट्रासाउण्ड सेवा पनि म नभएको बेला ठप्प हुन्छ, अल्ट्रासाउण्ड गर्ने तालिम प्राप्त नर्सको सरुवा भएपछि सेवा दिनै गाह्रो भएको छ।' 

जिल्ला अस्पतालमा जटीलतायुक्त प्रसूति सेवा पनि उपलब्ध छ अर्थात् शल्यक्रिया गरेर बच्चा जन्माउने महिलाका लागि सेवा उपलब्ध छ। तर नर्सको अभावमा सो सेवासमेत प्रभावित हुने गरेको डाक्टर विष्टले बताए। उनले भने ‘अप्रेशनका लागि डाक्टरको सहयोगीको रूपमा स्टाफ नर्सहरूले काम गर्नुहुन्छ। हामी टीम मिलेर अप्रेशन गर्ने हो। तर स्टाफ नर्स नै नहुँदा अनमी र म मिलेर अप्रेशन गरिरहेका छौँ। जटील खालका केसहरूलाई ट्याकल गर्न समस्या हुन्छ।’

डा. विष्ट अस्पतालमा नभएको बेला गर्भवतिको अल्ट्रासाउण्ड गर्न पुग्नेहरू रित्तो हात फर्किने गरेका छन्। अल्ट्रासाउण्ड गर्ने तालिम प्राप्त नर्सहरूको सरुवा भएपछि अस्पतालले प्रदान गर्ने सेवा प्रभावित भएको हो। ‘डाक्टरहरूको पनि तीनजनाको दरबन्दी हो। तर म एक्लै छु। काम विशेषले बाहिर जाँदा अल्ट्रासाउण्ड सेवा र अप्रेशन गरेर बच्चा जन्माउनु पर्ने सेवा पूर्णरूपमा अवरुद्ध हुने गरेको छ। यसले गर्दा स्थानीयहरूलाई असहज भएको छ।’

जिल्ला अस्पताल बैतडीमा जटीलतायुक्त प्रसूति सेवा लिनका लागि बैतडीका मात्रै नभएर छिमेकी जिल्ला दार्चुलाका विभिन्न स्थानका सेवाग्राही पनि आउने गरेका छन्। तर स्टाफ नर्स र डाक्टरको अभावमा अस्पतालले सेवा प्रदान गर्न नसकिरहेको डा. विष्टको भनाइ छ।

जिल्ला अस्पतालमा मात्रै नभएर प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा स्टाफ नर्सको दरबन्दी खाली छ। एक एकजना स्टाफ नर्स भएका दुवै स्वास्थ्य केन्द्रमा स्टाफ नर्स नभएको डा. विष्टले बताए। स्टाफ नर्स नहुँदा उपचार सेवा र परामर्श सेवा प्रभावित भएका उनले बताए। उनले भने ‘हामीले विभागलाई स्टाफ नर्स नभएको बारेमा जानकारी गराइसकेका छौँ। तर पदपूर्ति कहिले हुने हो? केही थाहा छैन्।’

जिल्ला अस्पतालमा डाक्टर र नर्सको अभाव हुँदा बैतडीबासीले उपचारका लागि डडेल्धुरा, धनगढी तथा सीमावर्ती भारतीय शहर पिथौरागढ जानुपर्ने बाध्यता छ। ‘स्वास्थ्य सेवालाई स्थानीय तहमा हस्तान्तरण गरेपछि झन् समस्या भएको छ। जताततै कर्मचारीको अभाव छ। सानोतिनो बिरामीका लागि पनि भारतीय शहर जानुको विकल्प छैन्’ दोगडाकेदार ३ श्रीकोटका राम विष्टले भने, ‘स्थानीस्तरमा भएका अस्पतालहरूको स्तरोन्नती गरी दरबन्दीअनुसार डाक्टर र नर्सको पूर्ति गर्ने तर्फ सरकारले ध्यान दिनुपर्छ। नत्र हामीले उपचारका लागि हजारौं रुपैया भारतमा तिर्नुपरिरहेको छ।’

स्टाफ नर्स र डाक्टरको पदपूर्तीका लागि स्वास्थ्य सेवा विभागमा जानकारी गराएको भएपनि अहिलेसम्म पदपूर्ती हुन नसकेको अस्पतालले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.